डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर। केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा भएको मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिएका छन्। उनले आज रातिदेखि नै भक्तजनलाई सहज दर्शनको व्यवस्थासमेत गरिएको बताए।
महाशिवरात्रिका दिन सर्वसाधारणका लाग बिहान ४ देखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने छ। भक्तजनले मन्दिरको गर्भगृहमै पुगेर पूजा एवं दर्शन गर्न पाउने छन्। भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
महाशिवरात्रिका लागि आएका साधुसन्तलाई समितिले खान, बस्न, धुनी बाल्न दाउराको व्यवस्था गरेको छ। यस पावन पर्वमा डोलेश्वर आउने साधुसन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्थासमेत गरिएको छ।
यस वर्ष करिब चार सय जना साधुसन्त एवं बाबा मन्दिरमा आएको उनले बताए। उनले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। महाशिवरात्रिका दिन मन्दिरमा एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ।
Facebook Comment