गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु

डिसी नेपाल
१४ फागुन २०८१ १२:५९

काठमाडौं । चिसो मौसम, पर्याप्त आश्रय र तापको अभावका कारण गाजामा विगत दुई हप्तामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ। यो जानकारी प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले दिएका छन्।

उत्तरमा रहेको गाजा शहरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन्, जसमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।

दक्षिणी शहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा उनीहरूको दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ।

पी.एफ.बी.एस. अस्पतालले पाल र अस्थायी आश्रयस्थलमा बसोबास गर्ने अनुमानित ९,४५,००० विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठूला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि आह्वान गरेको छ।

पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्‍याएको आरोप हमासले लगाएको छ।

यद्यपि, इजरायलले हमासको यो आरोपलाई अस्वीकार गरेको छ।

इजरायल र हमास बीचको १६ महिना लामो युद्धको क्रममा गाजाको २१ लाख जनसंख्यामध्ये अधिकांश धेरै पटक विस्थापित भएका छन्।

यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *