माओवादीको आम्दानीभन्दा खर्च धेरै

डिसी नेपाल
१४ फागुन २०८१ १८:२८

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आम्दानी भन्दा खर्च धेरै देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार सो अवधिमा १ करोड ८६ लाख ५२ हजार आम्दानी भएको छ भने सो अवधिको खर्च २ करोड २० लाख ७९ हजार रहेको छ।

माओवादीले समीक्षा अवधिमा सदस्यता शुल्कबापत १ करोड ८३ लाख रुपैयाँ संकलन गरेको देखिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब आधा हो । अघिल्लो वर्ष पार्टीले ३ करोड ४३ लाख ८५ हजार रुपैयाँ सदस्यता शुल्क संकलन गरेको थियो।

सदस्यता शुल्क बाहेक यो अवधिमा माओवादी केन्द्रले चन्दा सहयोग प्रकाशन बिक्री, सम्पत्ति बिक्री तथा बैंक ब्याजबापत ३ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यही शीर्षकमा गत वर्ष ४ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेको थियो। माओवादी केन्द्रले यो वर्ष चन्दाबापत कुनै पनि सहयोग प्राप्त गरेन। अघिल्लो वर्ष यसबापत १० हजार रुपैयाँ प्राप्त गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

समीक्षा वर्षमा विधान अधिवेशन गरेको माओवादीले उक्त अधिवेशनका लागि १८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यो शीर्षकमा खर्च भएको थिएन। यद्यपि अघिल्लो वर्ष माओवादीले निर्वाचनमा २ करोड ६० लाख ६६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ।

त्यस्तै, आव २०८०-८१ प्रशिक्षण तथा कार्यक्रम खर्च बापत २० लाख ५२ हजार रुपैयाँ खर्च गरिएको छ। अघिल्लो वर्ष यो शीर्षकमा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो। कार्यालय सञ्चालन खर्चबापत यो वर्ष माओवादीले १ करोड ३० लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ९० लाख १५ हजार रुपैयाँ खर्च भएको थियो।

यो वर्ष माओवादीले सामाजिक विकास शीर्षकमा ५० लाख रुपैयाँ खर्च गरेको छ। यो शीर्षकमा अघिल्लो वर्ष कुनै पनि खर्च भएको थिएन। त्यस्तै, अघिल्लो वर्ष ११ लाख रुपैयाँ बराबरको कार्यालय उपकरण खरिद गरेको समितिले यो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ।

गत असार मसान्तमा माओवादी केन्द्रको नाममा रहेको बैंक खातामा १४ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ। आर्थिक वर्षको सुरुमा यो रकम १६ लाख ९६ हजार रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *