नेपाललाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

डिसी नेपाल
१४ फागुन २०८१ २०:०३

काठमाडौं। फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ। आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो।

फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल गर्‍यो। नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु पर्‍यो।

म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे। नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन। खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन्।

३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन्। त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन।

४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन्। नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो। फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो।

नेपालले पछिल्लो १५ वर्षमा आफ्नो १३औं फाइनलमा पनि हार बेहोरेको हो। यसअघि १२ फाइनलमा हार्दा नेपालले साफ च्याम्पियसिपको छ वटा फाइनलमा उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै सन् २०१०, २०१६ र २०१९ को साग गेम्सको स्वर्ण पटकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

नेपाल साफ च्याम्पियनसिपमा ६ पटक २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा फाइनल खेलेको थियो भने साग गेम्समा ३ पटक २०१०, २०१६ र २०१९मा फाइनल खेलेको थियो । त्यस्तै नाडेज्दा कप २०१९ मा फाइनलमा उज्वेकिस्तानसँग पराजित भएको थियो भने हिरो वुमन्स गोल्डकपको फाइनलमा २०१९ मा म्यान्मारसँग पराजित भएको थियो। त्यस्तै वाफ वुमन्सको फाइनलमा २०२४ मा जोर्डनसँग पराजित भएको थियो भने यस पटक इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा म्यान्मारसँग पराजित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *