सफलता भनेको के हो ?

कृष्ण बोहरा
१६ फागुन २०८१ ७:४८

मानिसहरु जीवनमा सफल हुन खुब चाहन्छन्। हाम्रो समाजमा सफलता र असफलताका कुरा पनि यसैगरी चलिरहन्छ। फलानो व्यक्ति सफल भयो। फलानो चाहिँ असफल भयो। प्रगती गर्न सकेन।

पैसा कमाउन सकेन। फलानो व्यक्ति मन्त्री, प्रधानमन्त्री भयो। यसैले उ सफल हो। उ खेती किसानी मै अलमलिरहेको छ। यसैले उ असफल हो। उसको बिदेसको भिसा लाग्यो अब उ सफल भयो। कुरो यही हो त? सफलताको कसी के हो?

सफलता असफलताको कुरा सामाजिक मान्यतामा भर पर्ने रहेछ। पैसा हुने ठूलो नहुने सानो भन्ने मान्यता भएको समाजमा पैसा कमाएपछि मानिस सफल भएको मानिन्छ। ठगेर कमाओस् वा कुनै पनि अबैध काम गरेर कमावस पैसा भएपछि भयो। भन्सारमा काम गर्ने खरदारको शहरमा दुई चार वटा घर छ।

हुलाकमा काम गर्ने अधिकृतले एउटा घडेरी जोड्न सकेको छैन। सामाजिक मान्यता अनुसार खरदार सफल भयो अधिकृत असफल भयो। उसको छोराको बिदेसको भिसा लाग्यो, युरोप वा अमेरिका गयो उ सफल भयो। मेरो छोरा घरमै बसेर खेती किसानी गर्छ यसैले असफल भयो। यसरी सफलता असफलता सामाजिक मान्यताका आधारमा हुन्छ। तर यस्तो मान्यता सुझबुझ बिनाको हो।

सफलतालाई हामीले कसरी परिभाषित गर्ने त? मलाई लाग्छ सफलता र असफलताको मापन गर्ने माध्यम व्यक्तिले लिएको उद्देश्यलाई निर्धारण गर्नुपर्छ। एउटा व्यक्तिको उद्देश्य शिक्षक बन्नु थियो र शिक्षक पनि बन्यो भने उ सफल भयो। कवि बन्ने उद्देश्य राख्ने व्यक्तिले कविता कोर्दै गयो।

निरन्तरको प्रयासले उसले कविको रुपमा चर्चा पायो भने उ सफल भयो। तर मन्त्री प्रधानमन्त्री बनेर जनता र देशको सेवा गर्ने उद्देश्य राख्ने कोही व्यक्ति अरबपति भयो भने पनि सफल भएको मान्न सकिएन।

ब्यापारी बन्ने र धेरै धन जम्मा गर्ने उद्देश्य राख्ने व्यक्तिले उद्देश्य अनुरुप गर्न सक्यो भने उ सफल भएको मान्न सकिन्छ। यसैले सफलता र असफलताको कुरा व्यक्तिले लिएको उद्देश्य अनुुरुप उ त्यो बिन्दूमा पुग्न सक्यो वा सकेन यसमै मापन गर्नु उचित हुन्छ।

अर्को कुरा मानिस सामाजिक प्राणी हो। यसैले उ समाजमा मिलेर बस्न सक्छ वा सक्दैन भन्ने कुरालाई पनि सफलता असफलताको कसी बनाउनुपर्ने हुन्छ। अथवा व्यक्तिको सामाजिकरण पनि सफलताको एउटा पाटो हो।

ससाना बालबालिका पहिलो दिन जव बिद्यालय पठाइन्छ तब उसले उ जस्तै अरुका कपी डटपेन र खानेकुरा पनि खोस्ने वा खोसी माग्ने, चिथोर्ने वा चिथोरी माग्ने गरेर घर फर्किन्छन्।

यसो हुनु भनेको ती नानी बाबुहरु सामाजिकरण हुन नसकेका चिन्हहरु हुन्। बिद्यालय जाँदै गर्दा बिस्तारै उनीहरुमा यो क्रम हराउँदै जान्छ। झैझगडा भन्दा आपसी मेलमिलाप उनीहरुको दिनचर्या बन्न थाल्छ।

बच्चा सामाजिकरणको दिशामा अघि बढ्दै जान्छ। तर कतिपय ठूला मानिसहरु पनि समाजमा मिलेर बस्ने कुरामा चुकेको देखिन्छ। साँध सिमानामा झगडा पर्नु, व्यक्ति व्यक्तिमा बुझाइको कमीले बिभिन्न कुरामा झगडा पर्नु, व्यक्ति व्यक्तिमा व्यक्ति स्वार्थ टक्राइरहनु पनि असामाजिक कृयाकलापको कारण हो।

आफ्नो हित बाहेक अरुको हित नदेख्ने प्रबृत्ति व्यक्ति सामाजिकरण नभएको एउटा सूचक हो। समाजमा बसेपछि सामाजिकरण हुन नसकेको व्यक्ति कसरी सफल भएको मान्न सकिन्छ? त्यस्तो व्यक्ति पनि असफल नै हो।

सानो बालक जब जन्मन्छ ऊ परनिर्भर हुन्छ। खान सुत्न र दिसा पिसाब गर्न पनि उसले अरुको भर पर्नपर्ने हुन्छ। बिस्तारै उ ठूलो हुँदै जान्छ। अनि उ आफैं खान सक्ने हुन्छ। आफ्ना लुगा ऊ आफैं लगाउन सक्ने हुन्छ। दिसा पिसाबको लागि ऊ अरुको भर नपर्ने हुन्छ। उ अब सक्षम बन्दै गयो।

अझ ठूलो हुदै उ केहि काम गर्न पनि सक्षम हुदै जान्छ। आफै केहि आर्जन गर्न सक्ने भएपछि उ आत्म निर्भर बन्छ। अझ अगाडि बढेपछि समाजमा मानिसहरुले एकले अरुलाई मद्दत गर्न थाल्छन्। बिभिन्न ब्यबसाय गर्ने व्यक्तिहरु बीच परस्पर निर्भर अवस्थामा मानिसहरु हुन्छन्।

एक आपसी हितमा काम गर्ने अवस्थामा पुगेकाले यो व्यक्तिको परस्पर निर्भरको अवस्था हो। यस अवस्थासम्म व्यक्तिको सामाजिकरण उच्च बिन्दुमा पुगिसकेको हुनुपर्छ। सफल व्यक्तिको मापनमा व्यक्तिको सामाजिकरण पनि प्रमुख कुरा हो। परनिर्भर बालक आत्मनिर्भर हुनु सफल हुनु हो।

आत्मनिर्भर व्यक्ति परस्पर निर्भरको अबस्थामा पुग्नु अझ सफल मानिन्छ। सफलता के हो? भन्ने सन्दर्भमा यहाँ एउटा व्यक्तिको सफलताको कथा उदाहरणको लागि म यहाँ राख्न चाहन्छु।

थोमस एल्वा एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए। पाँच बर्षको उमेरमा उनले आमालाई सोधेका थिए। “आमा! कुखुरीले अण्डा किन छोपेको?”

उत्तरमा आमाले भन्नुभएको थियो- “बच्चा कोरल्न अण्डा तताउनुपर्ने भएकाले छोपेको।”

त्यसपछि उनले पनि कोठामा अण्डा जम्मा पारेर छोप्न बसेछन्।

उनको हरेक कुरामा उत्तर खोज्ने बानी थियो। किनकी साउँ अक्षर सिक्दै गरेका उनी प्रत्येक अक्षरको अर्थ सोध्दथे शिक्षकसँग। अरु बालकलाई पनि डिष्टर्ब गर्ने एउटा दब्वु विद्यार्थीको संज्ञा उनले पाए। यही जिज्ञासु स्वभावकै कारण बालकै अवस्थामा स्कूलका शिक्षकले यिनलाई स्कुलबाट पनि निकाली दिए।

औपचारिक शिक्षासम्म प्राप्त गर्न नपाएका यिनले ठूलो भएपछि बिजुलीको चिमको आविष्कार गर्न धेरै मेहनत गरे। हजारौं पटक परीक्षणहरु गरिरहेका थिए। एक पटक उनको साथीले उनलाई भने, “यो नहुने कुरा कतिपटक गरिरहन्छौं?”

उनले उत्तर दिएका थिए, “प्रत्येक पटक मैले नयाँ कुरा सिकिरहेको छु। यसैले प्रत्येक पटकको प्रयोग आवश्यक थियो।” आखिर हजार पटकको परीक्षणमा उनी सफल पनि भए। दुनियाँको घर घरमा बल्ने बिजुलीका बल्ल उनकै मेहनतको फल हो। उनले दैनिक जीवनमा काम लाग्ने अरु दर्जनौं आविष्कारहरु पनि गरेका छन्।

ढुंगे युगदेखि मानिसले गरेका सबै प्रयत्नहरु सफलताका आधारहरु हुन्। हामी आजको कम्यूटर र एआईको यूगमा आइपुग्दा टाइपराइटर र रिलवाला क्यामराका आविष्कारकलाई सफल व्यक्ति भन्न मनले मानिरहेको नहुन सक्छ। तर त्यसो होइन, प्रत्येक आविष्कारक आफ्नो समयको सफल व्यक्तिहरु हुन्।

हातले ढुंगा पल्टाउँदा जति गाह्रो हुन्छ गल लगाएपछि त्यो सजिलै पल्टन्छ। यसरी हेर्दा जसले गलको प्रयोग गरे ती व्यक्ति सफल हुन। अथवा हामीले सफलतालाई यसरी पनि हेरिनुपर्छ कि परिणाम ननिस्कने बित्तिकै पनि असफल भन्न सकिँदैन।

बाजेले पूरा गर्न नसकेको काम छोराले पूरा गर्छ र छोराले गर्न नसकेको काम नातिले पूरा गरेको हुन्छ। यसैले समय क्रममा जसजसले जेजति प्रयत्नहरु गरे सबै प्रयत्नहरुको मूल्य छ। आजको सफलताको कथा हिजोको प्रयत्नको प्रतिफल हो भन्ने मान्नुपर्छ।

मानव सभ्यताको इतिहासलाई हेर्दा ढुंगे युगदेखिनै मानिसले प्रयोग गर्दै आयको प्रविधि आजका अति विकसित प्रविधिको आधार हो। न्यूटनको युग एउटा स्थुल युग थियो। स्थुल कराहरुको आविष्कार उनले गरे।

अहिले हामी आइन्सटाइनको युगमा छौं। अब हाम्रो ध्यान सुक्ष्म तिर अगाडि बढिसकेको छ। यसैले सफलतालाई समयको कसीमा पनि हेरिनुपर्छ। समयलाई चिन्न सक्ने सबै मानिस सफल हो, चिन्न नसक्ने असफल हो।

सफलता र असफलताका कुरा गर्दा प्रत्येक मानिसका प्रयत्नशीलता सफलताका आधारहरु हुन्। समाजमा परिणाम निस्केपछि मात्र सफल भयो भन्ने चलन छ। यो हाम्रो सामाजिक मान्यता हो। यो तत्कालीक र वर्तमान अवस्थामा सुझबुझपूर्ण पनि छ।

विद्यार्थीले राम्रो अंक ल्याइ पास गरे भने शिक्षकको शिक्षण राम्रो रहेछ भनि मूल्यांकन गर्र्नुपर्ने हुन्छ। किसानले कृषि कर्मबाट राम्रो फसल उब्जायो भने उसले राम्रो गरेछ भन्ने बुझ्नुपर्दछ। सफलतालाई हामी निम्न बुँदामा समेट्न सक्दछौं।

१. सामाजिक मान्यतामा आधारित सफलता

२. सामाजिकरणमा सफता

३. क्रमिक सफलता

४) ब्यबसायिक सफलता

 सामाजिक मान्यतामा आधारित सफलता

समाजमा मानिसहरु प्रतिष्ठित र सम्मानित हुन चाहन्छ। यसैले जुन काम गर्दा मानिस आफू बसेको समाजमा सम्मानित जीवन जीउन सक्छ, त्यही काम गर्न उ हरदम प्रयत्नशील हुन्छ। जुनसुकै कर्म गरेर धन आर्जन गर्दा पारिवारिक सुख पनि हुने र समाजमा धनीमानीले इज्जत पनि पाउने हुनाले मानिस जायज नाजायज जुनसुकै कर्म गरेर धन आर्जन गर्ने गर्दछन्।

यसैले अबैध र कालो धन राम्रो हैन। यसबाट इज्जत हैन बेइजती कमाइन्छ भन्ने मान्यता समाजमा स्थापित गर्नुछ। असल र भ्रष्टाचार मूक्त समाज सफलताको आधार हो। कुनै पनि देशको उन्नती र अवन्नती यसैमा भर पर्दछ।

 सामाजिकरणमा सफलता

समाजमा आफ्नो स्वार्थ मात्र हेर्ने मानिसको भावनालाई बदल्नु छ। सामाजिक स्वार्थ, सार्बजनिक स्वार्थ वा देशको स्वार्थ व्यक्ति स्वार्थ भन्दा ठूलो हो भन्ने संस्कृति बसाउँदै जानु आवश्यक छ। समाजमा मेलमिलाप गरेर बस्ने वा मानिसको सामाजीकरणको बिषयलाई पनि सफलताको कसी भित्र समेट्नुपर्दछ।

क्रमिक सफलता

सफलता चेन जस्तै गासिएको छ। ढुंगे युगदेखि आजसम्मको सफलता श्रृंखलाबद्ध छ। यसलाई अलग गर्न मिल्दैन। आजका सफलताका कथाहरु हिजो गरेका प्रयत्नहरु यसका आधार स्तम्भहरु हुन्। ढुंगे युगका ढुंगा र काठका झट्टीहरु कै बिकसित रुप आजका क्षेप्यास्त्रहरु हुन्। हरेक कुराको आविष्कारिक सफलता समय क्रममा क्रमिक रुपमा हुँदै आएको हो।

ब्यबसायिक सफलता
कुनै काम जब लगातार गरिन्छ तब त्यो काम सजिलो बन्दै जान्छ। कामको प्रकृति सजिलो भएर हैन बरु व्यक्तिको दक्षता बढेको हुन्छ। एउटा सिकारु सिकर्मीले किला ठोक्दा बार बार आफ्नै हातमा हम्मरले हान्न पुग्छ। बिस्तारै कामको अभ्यासले किला ठिक ठाउँमा ठोक्न सक्ने हुन्छ।

कामको दक्षता, अनुभव र ज्ञान बढाउन निरन्तरको अभ्यासको आवश्यक पर्दछ। यसैले व्यक्तिको सफलता ब्यबसायमा निरन्तरताबाट प्राप्त हुन्छ। नयाँ नयाँ व्यवसायमा चारैतिर हात हाल्ने जो कोही व्यक्ति सफल नहुने कुरा पक्का छ।

अन्त्यमा पटक पटक जसले जे गर्छ मानिस त्यही नामले चिनिन्छ। पटक पटक कविता लेख्ने कवि, पटक पटक समाज सेवा गरिरहने समाज सेवक आदि। यसैले निरन्तर दोहर्‍याइरहने मानिसको कर्म नै सफलताको आधार हो। निरन्तरको प्रयासबाट आउने प्रतिफल नै सफलता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *