भूकम्प जोखिममा नेपाल, मध्य राति ६.१ रेक्टर स्केलको पराकम्प

डिसी नेपाल
१६ फागुन २०८१ १३:२८

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका-२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो। त्यसको ठूलै पराकम्प काठमाडौंलगायत आसपासका जिल्लामा महशुस गरियो। तर, क्षति व्यहोर्नु परेन।

भूगर्व विद्‍का अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकावरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताए।

उनका अनुसार यो नयाँ किसिमको भूकम्प होइन्। पराकम्प शक्तिशाली नहुने भएकाले ठूलै पराकम्प जाँदा पनि ठूलो क्षतिबाट जोगिएको उनको भनाइ छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले भूकम्पबाट कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिएका छन्।

उनले दुगुनागडीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताए। ‘जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीबन्दीको हात भाँचिएको छ। उहाँको उपचार भइरहेको छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले भूमम्पको सामान्य क्षति रहेको बताए। विवरण संकलनको काम भने जारी रहेको उनको भनाइ छ।

शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलकोशक्तिशाली भूकम्प गएको थियो।

नेपालमा भूकम्प जोखिम कति?

नेपालमा पछिल्ला वर्षमा भूकम्प जाने क्रम ह्वात्तै बढेको छ। यसअघि गत असोज १६ गते सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। बझाङ भूकम्पबाट एक जनाको मृत्यु भएको थियो भने ३० जना भन्दा धेरै घाइते भएका थिए। थुप्रै भौतिक संरचनामा क्षति पुगेको थियो।

अधिकारीका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित मुलुक हो। ८ रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ। त्यो हिसाबमा २०७२ को भूकम्प पनि मझौला हो।

वि.सं. १९९० साल माघ २ गते पूर्वी नेपाल केन्द्रविन्दु भएर ८.३ रेक्टर स्केलको भूकम्प गएको थियो। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो।

भूकम्प विद्‍का अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले ठूलो भूकम्पको जोखिम जहिले रहन्छ। अधिकारी नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएको कारण त्यसक्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको बताउँछन्।

भौगोलिक अवस्थितिको आधारमा नेपालको सम्पूर्ण हिमालय क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *