बर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित

डिसी नेपाल
७ भदौ २०७६ ५:५४

जेनेभा । अत्यधिक बर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। देशभरी गरेर एक लाख ९४ हजार जना प्रभावित भएको पनि मानवीय सहायतासम्वन्धी राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले जनाएका हुन्।

राष्ट्रसंघका सुडानस्थित प्रतिनिधिलाई उद्धृत गर्दै शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार अधिकाँशको मृत्यु घरहरु भत्किएर तथा विद्युतीय कारणले भएको छ। जेनेभास्थित राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी कार्यालयका प्रवक्ता जेन्स लैरकेले झण्डै ३७ हजार जना घरबार विहिन भएको जानकारी दिए।

उनले भने, “अक्टोबर अन्त्यसम्म बर्षा भइरहने र बर्षाका कारण जुलाईदेखि अहिलेसम्म ३७ हजार भन्दा बढी घरहरू भत्किएका छन्।” सवैभन्दा धेरै देशको दक्षिणी क्षेत्रमा रहेको ह्वाईट नाईल राज्य प्रभावित भएको छ। त्यस क्षेत्रमा मात्रै ६६ हजार जना प्रभावित भएको र १३ हजार घरहरु क्षतिग्रस्त भएको विवरण छ।

देशका कुल १८ राज्यमध्ये १५ राज्य बाढीले प्रभावित भएको सरकारी अधिकारीहरूले जनाएका छन्। प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्य पदार्थ, बस्नका लागि शिविर, स्वास्थ्य सेवा, सफा खानेपानी, सफाईजन्य सामग्रीलगायतको आवश्यकता परेको छ। सरसफाई, बसाई र खानामा ध्यान दिएन भने रोगको प्रकोप पनि फैलिनसक्ने खतरा रहेको अधिकारीहरुको भनाई छ। रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *