ढोका बन्द भएपछि झ्यालबाट छिर्ने देउवाको रणनीति

डिसी नेपाल
१९ फागुन २०८१ ७:१५

काठमाडौं। तोकिएकै समयमा महाधिवेशन भयो भने पनि अझै करिब एक वर्ष नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाले नै गर्नेछन्। तर, कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समयमा नहुने पक्का भइसकेको छ। किनभने कांग्रेसले अहिलेसम्म क्रियाशील सदस्यता वितरण, नवीकरणलगायतका काम सुरु गरेकै छैन।

तोकिएको समयमा सभापति देउवाले महाधिवेशन नगर्ने निश्चित भइसक्दासमेत त्यसको विरोध पार्टीभित्र कुनै पनि नेताले गर्न सकेका छैनन्, कारण अब फेरि देउवा सभापतिमा लड्न पाउँदैनन् र उनको आशीर्वाद लिएर सभापति बन्ने अधिकांश नेताको दाउ छ।

अहिलेसम्म डा. शेखर कोइराला र महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने सार्वजनिक गरेका छन्। तर उनीहरु दुवै देउवालाई चिढ्याउने पक्षमा छैनन्। अझ गगन थापा त यतिबेला देउवाको उत्तराधिकारी बन्ने दाउमा नै छन्। त्यही भएर गगन यतिबेला सभापति देउवाको निकट भएको चर्चा हुने गर्छ।

आफू सभापति बन्न नपाउने र आफ्नो पक्षबाट सभापतिको बलियो उम्मेदवार नभएका कारण देउवाले आफूलाई भेट्न आउने सबैलाई ‘गुलियो बचन’ दिने गरेका छन्। तर, कसैलाई पनि सभापतिमा सहयोग गर्छु भनेर भनेका छैनन्।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्दासम्म पार्टीभित्रका सबै नेतासँग समदूरीको सम्बन्ध कायम गर्ने रणनीति लिएका छन्। सभापतिको आकांक्षा लिइ आफूलाई भेट्न आउने सबै नेतालाई ‘तपाईं मेरै मान्छे त हो नि’ भन्दै गुलियो बचन दिइरहेका छन्। तर सभापतिको उम्मेदवार नै तपाईं हो भनेका छैनन्।

आफू सभापति बन्न नपाउने र आफ्नो पक्षबाट सभापतिको बलियो उम्मेदवार नभएका कारण देउवाले आफूलाई भेट्न आउने सबैलाई ‘गुलियो बचन’ दिने गरेका छन्। तर, कसैलाई पनि सभापतिमा सहयोग गर्छु भनेर भनेका छैनन्।

संस्थापन र इतर समूहबाट सभापतिका उम्मेदवार बन्ने नेताहरु पनि यतिबेला देउवासँगको सम्बन्ध बिगार्न चाहँदैनन्। किनभने सकेसम्म उनीहरु देउवाकै सहयोगमा सभापति बन्न चाहन्छन्।

‘आगामी महाधिवेशनको विषयमा सबै नेताहरु यतिबेला सभापतिजीलाई खुशी पार्ने र उहाँको विरुद्धमा नबोल्ने नीति लिएको देखिन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘अहिले पार्टीभित्र शेरबहादुरजीसँग संघर्ष गर्ने वा उहाँको विरुद्धमा बोल्ने पक्षमा कोही पनि हुनुहुन्न।’

संस्थापन पक्षमा सभापतिले कतै आफ्नो उत्तराधिकारी शेखर कोइराला, शशांक कोइराला वा गगन थापालाई बनाउँछन् कि भन्ने भय देखिन्छ। त्यही भएर संस्थापन पक्षका नेताहरु कहिले एक्लै त कहिले हुल बाँधेर देउवा निवास पुग्ने गर्छन्।

उनीहरुको याचना १५ औं महाविधेशनमा सभापतिमा आफूलाई सहयोग गर्नुस् भन्ने हुन्छ। उनीहरुलाई देउवाले हुन्छ वा हुन्न भनेका छैनन्। अर्थात् देउवाले कुनै पनि कार्ड खोलेका छैनन्। र, तत्काल उनी कसैलाई पनि वचन दिने पक्षमा छैनन्।

‘सभापतिजीले अहिलेसम्म आफ्नो कार्ड खोल्नु भएको छैन। सभापतिका आकांक्षी सबैलाई सभापतिले मलाई नै सहयोग गर्छन् भन्ने भ्रम देखाएर प्रधानमन्त्रीको पद लिने गरी उहाँ अगाडि बढ्नु भएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘तर उहाँको समर्थन कसलाई छ भन्ने कुरा अहिलेसम्म देखिँदैन।’

आफूसँग सहयोग माग्न आउने सबैलाई ‘मेरो मानिस तिमी नै हो’ भन्ने लोभ देखाएर आफू प्रधानमन्त्री बन्ने र सभापतिको कार्यकाल ०८४ सम्मै पुर्‍याउने देउवाको रणनीति रहेको छ।

झ्यालबाट छिर्ने रणनीति

विधान अनुसार महाधिवेशन भयो भने पनि अझै एक वर्ष कार्यकाल बाँकी नै छ। तर समयभित्र महाधिवेशन नहुने निश्चित भइसकेको छ।

यस्तोमा देउवाले पनि कसैलाई नचिढ्याउने रणनीति लिएका छन्। कम्तिमा पनि आफू प्रधानमन्त्री बन्ने बेलासम्म देउवा संस्थापन र इतर पक्षका कसैलाई पनि चिढ्याउन चाहँदैनन्। अहिले नै सभापतिमा कसैको नाममा समर्थन गर्दा अन्य समूह चिढिने र मुखैमा आएको प्रधाामन्त्री पद गुम्नेतर्फ देउवा सचेत छन्।

देउवाको रणनीति ०८४ सालपछि मात्रै पार्टीको १५ औं महाधिवेशन गर्ने छ। त्यसका लागि उनले सुरुमा विधानले दिएको अधिकार प्रयोग गर्दै एक वर्ष म्याद थप गर्ने त्यसपछि संविधानले दिएको अधिकार प्रयोग गर्दै ६ महिना म्याद थप गर्ने तयारी गरेका छन् ।

कम्तिमा पनि आफू प्रधानमन्त्री बन्ने बेलासम्म देउवा संस्थापन र इतर पक्षका कसैलाई पनि चिढ्याउन चाहँदैनन्। अहिले नै सभापतिमा कसैको नाममा समर्थन गर्दा अन्य समूह चिढिने र मुखैमा आएको प्रधाामन्त्री पद गुम्नेतर्फ देउवा सचेत छन्।

डेढ वर्ष कार्यकाल लम्ब्याउँदा पनि ०८४ अगावै महाधिवेशन गर्नुपर्ने हुन्छ, त्यसलाई छल्न देउवाले राजनीतिक दलसम्बन्धी ऐनको छिद्र प्रयोग गर्दै कुनै एक दलसँग एकता गरेर कार्यकाल लम्ब्याउने रणनीति लिएका छन्।

दुई दलबीच एकीकरण भएपछि एकता महाधिवेशन गर्नको लागि निश्चित अवधि पाइने कानुनी व्यवस्थामा टेकेर २०८४ सम्म नै आफैं सभापति रहने देउवाको तयारी छ ।

त्यसका लागि निर्वाचन आयोगमा दर्ता भएका कुनै एक दलसँग एकीकरण गर्ने वा निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेपछि कुनै एक दललाई आयोगमा दर्ता गर्न लगाउने र त्यही दलसँग एकता गर्ने देउवाको रणनीति रहेको देउवा निकट स्रोतले जनाएको छ।

कुनै राजनीतिक दलसँग एकता गरेको अवस्थामा चार वर्षसम्म कार्यकाल लम्ब्याउन सकिने प्रावधान छ। तर देउवाको रणनीति भनेको ०८४ को चुनावको टिकट आफैंले वितरण गर्ने र महाधिवेशन गर्ने रहेको छ।

अहिले नै कार्यकाल बढाउने गरी गतिविधि गर्दा जानी जानी कार्यकाल बढाउन खोजेको आरोप खेप्नु पर्ने भएकाले देउवाले अहिले कसैलाई पनि नचिढ्याउने नीति लिएका छन्।

याे पनि पढ्नुस्

आरजूलाई स्थापित र पार्टी आफैंले चलाउने गरी उत्तराधिकारी खोज्दै देउवा

कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *