ट्रम्पसँग विवादपछि सम्झौता नगरी हिँडेका जेलेन्स्की फेरि अमेरिकासँग खनिज सम्झौता गर्न तयार

डिसी नेपाल
१९ फागुन २०८१ १३:२६

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। लन्डनमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि पनि आफू संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताए।

जेलेन्स्कीले भने ‘ह्वाइट हाउसमा भएको घटनाले अमेरिका वा युक्रेनलाई फाइदा पुर्‍याएन, बरु रुसी राष्ट्रपति पुटिनलाई मात्र फाइदा पुर्‍यायो। यदि मलाई खनिज सम्झौताको लागि बोलाइयो भने, म ह्वाइट हाउस फर्कनेछु।’

जेलेन्स्कीले फेरि सुरक्षा ग्यारेन्टीको सर्त अगाडि सार्दै युक्रेनको सुरक्षा ग्यारेन्टीको माग सुनिने आशा व्यक्त गरे। यदि दुबै पक्ष यसमा सहमत भए भने सम्झौतामा हस्ताक्षर हुनेछ। उनका अनुसार उनी युक्रेनको पक्ष पनि सुनियोस् भन्ने चाहन्छन्। युक्रेनी राष्ट्रपतिले भने ‘हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर सम्झनु पर्छ।’

जेलेन्स्कीले सोमबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो पनि पोस्ट गरे। यसमा उनले भने ‘हामी अमेरिकाको महत्त्व बुझ्छौं। हामी अमेरिकाप्रति कृतज्ञ नभएको दिन कुनै पनि छैन। शान्तिको लागि सुरक्षा ग्यारेन्टी आवश्यक छ भन्ने कुरामा हामी सबै सहमत छौं । युरोपभरि नै यस्तै अवस्था छ।’

जेलेन्स्की फेब्रुअरी २८ मा ट्रम्पसँग खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका पुगेका थिए, तर भेटघाटको क्रममा ट्रम्पसँग उनको बहस भएको थियो। यसपछि जेलेन्स्की कुनै सम्झौता नगरी लन्डन गए।

ट्रम्प र भान्ससँगको बहसपछि पत्रकारहरूले अब यसलाई कसरी समाधान गर्ने भनेर सोध्दा जेलेन्स्कीले अमेरिका र युक्रेनबीचको सम्बन्ध जारी रहने बताए। जेलेन्स्कीले भने ‘यदि युक्रेनले अमेरिकाबाट सहयोग पाउन बन्द गर्यो भने यसको फाइदा रूसलाई मात्र हुनेछ।’

यसअघि आइतबार जेलेन्स्कीले भनेका थिए ‘हामी रूसले कब्जा गरेको कुनै पनि युक्रेनी भूभागलाई मान्यता दिने छैनौं। हाम्रो जग्गा बिक्रीको लागि होइन। हाम्रो स्वतन्त्रता बिक्रीको लागि होइन। हामी यसको लागि ठूलो मूल्य चुकाइरहेका छौं। रूसले यो सबै हामीमाथि लादेको छ।’ उनले रुससँगको युद्ध अन्त्य गर्न अझै धेरै लामो बाटो तय गर्न बाँकी रहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *