ट्रम्पले दबाबमा राख्न खोज्दा क्यानडाका प्रधानमन्त्रीले उल्टै फाइदा कसरी उठाए ?

डिसी नेपाल
१९ फागुन २०८१ १४:३१

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले क्यानडा र त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आफ्नो दबाबमा राख्न खोजे । ट्रम्पले ट्रुडोलाई गभर्नर भने र क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्ताव पनि राखे। तर, ट्रम्पको दबाबबाट क्यानडाका प्रधानमन्त्री ट्रुडो र उनको पार्टीले उल्टै ठूलो फाइदा उठाएका छन् ।

हालै सार्वजनिक गरिएको चुनावी सर्वेक्षणमा ट्रुदोको लिबरल पार्टीले विपक्षी कन्जरभेटिभ पार्टीभन्दा बढी लोकप्रियता हासिल गरेको छ। इप्सोसको पछिल्लो सर्वेक्षणमा लिबरलहरूले ३८% र कन्जरभेटिभहरूले ३६% समर्थन पाएका छन्। ६ हप्ता अघि कन्जरभेटिभ पार्टीलाई ४६ % को समर्थन थियो, जबकि लिबरलहरूलाई १२% ले प्राथमिकता दिएका थिए। ६ हप्तामा पार्टीको लोकप्रियतामा २६% ले वृद्धि भएको छ।

अन्य दुई सर्वेक्षणहरूमा पनि लिबरल र कन्जरभेटिभहरूको लागि सार्वजनिक समर्थन लगभग बराबर छ। लेजर पोलमा, कन्जरभेटिभहरूले ३८% समर्थन प्राप्त गरेका छन् र लिबरलहरूले ३५% समर्थन पाएका छन्। यसैबीच, इकोस पोलको सर्वेक्षणमा ३८% मानिसहरूले लिबरल पार्टीलाई समर्थन गरेका छन् भने ३७% ले कन्जरभेटिभहरूलाई समर्थन गरेका छन्।

वास्तवमा ट्रम्पको करको धम्की, क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने प्रस्ताव लगायतका दबाबको बीचमा पनि ट्रुडोले क्यानडाको आवाज उठाउने कुनै अवसर खेर जान दिएनन् । यसले लिबरल पार्टीप्रति मतदाताको विश्वास बढ्यो । इप्सोसका अनुसार क्यानडामा बढ्दो ट्रम्प विरोधी भावना र लिबरल पार्टीको नयाँ नेतृत्वका कारण विपक्षी कन्जनभेटिभ पार्टीले चुनौतीको सामना गरिरहेको छ ।

ट्रम्पको जितपछि ट्रुडो उनलाई बधाई दिन गएका थिए । त्यतिबेला ट्रम्पले आफूले ‘गभर्नर ट्रुडो’लाई भेटेको बताउँदै भनेका थिए ‘उनी ट्यारिफ चाहँदैनन् भने क्यानडा अमेरिकाको ५१ औं राज्य बन्नु पर्छ।’

हुन त ट्रुडोले राजीनामाको घोषणा गरिसकेका छन्। लिबरल पार्टीले मार्च ९ मा नयाँ नेता चयन गर्नेछ। अर्को चुनाव अक्टोबर २० सम्ममा गरिसक्नुपर्छ तर यो चाँडै पनि हुन सक्छ। नयाँ लिबरल नेतासँग तुरुन्तै चुनाव आह्वान गर्ने विकल्प छ। हालै गरिएको एक सर्वेक्षणले दाबी गरेअनुसार यदि अहिले चुनाव भयो भने लिबरल र कन्जरभेटिभ दुवै बहुमतबाट चुक्नेछन्। उनीहरूलाई साना दलहरूको समर्थन चाहिन्छ।

क्यानेडियन नागरिकहरू अमेरिका यात्रा गर्नबाट पन्छिइरहेका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडियनलाई देशमै बिदा मनाउन अपील गरेका छन्। यस कारण अमेरिका भ्रमण रद्द हुँदैछ। अमेरिकी यात्रा संघका अनुसार क्यानेडियन यात्रुहरूको संख्यामा १०% गिरावट आउँदा अमेरिकालाई २ अर्ब डलर घाटा हुनेछ।

वेस्टजेट र एयर क्यानडाले अन्य गन्तव्यहरूमा बुकिङमा वृद्धि देखेका छन्। अमेरिकी राज्य पर्यटन बोर्डहरूले सम्भावित प्रभावहरूको लागि तयारी गरिरहेका छन्। वेस्टजेटका एलेक्सिस भोन होएन्सब्रोचले प्रतिक्रिया अनौठो भएको बताए। यसबाहेक, क्यानडाका धेरै पसलहरूबाट अमेरिकी उत्पादनहरू हटाउन अभियान सुरु भएको छ। जसका कारण चिन्ता बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *