चिकित्सक संघका अध्यक्षहरूबारे लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

काठमाडौं। नेपाल चिकित्सक संघ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ।
संघ स्थापनाको ७५ वर्षका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा संघका ३२ अध्यक्षहरूको जीवनी, उनीहरूले गरेका योगदान, संघर्षलगायत विषय समेटिएका छन्।
त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताए। उनले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाए।
राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरे। ‘देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् तर तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन्। त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ। यो चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ’, उनले भने।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताए।
उक्त पुस्तकको सम्पादन प्रवीण ढकालले गरेका छन्। सम्पादक ढकालले पुस्तकले संघको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताए।
नेपाल चिकित्सक संघ विसं २००७ फागुन २० गते स्थापना भएको हो। वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले संघको स्थापना गरेका हुन्। संघको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन भएका थिए।
Facebook Comment