मछिन्द्र क्लब दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

वीरगञ्ज (पर्सा)। मछिन्द्र फुटबल क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। वीरगञ्जको आर्दशनगर रंगशालामा आज भएको खेलमा मछिन्द्र क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो।
खेलको ५५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै खेलमा अग्रता गराएका थिए। रेजिनले कर्नरबाट आएको बललाई सही सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए। खेलको ७६औँ मिनेटमा चर्च ब्बाइज युनाइटेडका कप्तान डिका सर्जले हेडमार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए।
खेलको ९५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्र क्लबलाई विजयी बनाएका हुन्। उनै सुब्बा आजको खेलमा ‘म्याद अफ दि म्याच’ समेत घोषित भए। मछिन्द्रले अब सेमिफाइनमा सहलेश फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ।
यही फागुन १७ गतेदेखि सुरू भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रू पाँच लाख ५५ हजार पाँच सय ५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।
Facebook Comment