संस्मरण:निबन्ध

उहिलेको ज्यानमारा बराहक्षेत्रको बाटो

ज्ञानेन्द्र विवश
२४ फागुन २०८१ ६:५९

उहिलेको बराहक्षेत्रको बाटो- धुलाम्मे साँघुरो गोरेटो, जसको छेउछाउमा हरिया जंगलहरू लमतन्न पर्थे। बाल्यकालमा सुनेको कथा सम्झिँदै म त्यसै बाटोको कल्पनामा हराएँ। उहिले ती पर्खालजस्ता उकालीहरू थिए, जहाँ उकालो लाग्दा गोडा थर्थर काँप्थे।

बराहक्षेत्र, जसलाई हिन्दू धर्मावलम्बीहरूले विशेष आस्थाको स्थल मान्छन्, त्यहाँ पुग्नका लागि उहिले निकै कष्ट बेहोर्नु पथ्र्यो। मेरो मन मन्थन गर्दै थियो–कस्ता थिए ती दिनहरू? ती तीर्थयात्रीहरू, जो पाप पखाल्न कोशीको पवित्र जलमा डुबुल्की मार्थे। उनीहरू सबैले यही कष्टकर बाटो हिँडेर बराह भगवानको दर्शन गरे होलान्।

म त्यो पुरानो बाटो सम्झन खोज्छु, जसले धेरै पाइलाहरूको भार बोकिसकेको थियो। तीखा ढुंगाले छपक्क ढाकेको अपठ्यारो साँघुरो गोरेटो, पल्लो किनारमा झुकेका सालका रुखहरू, कहिलेकाहीँ बाटो काट्ने काँचुली फेरेका साँपहरू- यी सबै दृश्यहरूले मेरो कल्पनालाई जीवन्त बनाइदियो।

हरेक साँझ तीर्थयात्रीहरू थाकेर यही बाटो छेउको चौतारीमा विश्राम लिने गर्थे। साना पसलहरूमा नुन-चिउरा किनेर खान्थे अनि केहीले बटुवाहरूलाई बराहक्षेत्रका चमत्कारहरूको गफ सुनाउँथे। कतै कुनै भिक्षु मुन्तिर बसेर गीता पाठ गर्दै हुन्थे।

आजको दिनमा त्यही बाटो फराकिलो भइसकेको छ, गाडीहरू गुड्ने कालोपत्रे सडक बनेको छ। तीर्थयात्रा अब सहज भएको छ, तर ती गोरेटाहरू, ती साँघुरा पाइलाहरू, ती चौतारीहरू हराउँदै गएका छन्। ती गोरेटोमा हिँड्ने तीर्थयात्रीहरू अब गाडीमा झुल्दै पुग्छन्। तर हिजोका ती कथा, ती थकाइका घडीहरू, ती सानातिना विश्राम स्थलहरू, ती सबै सम्झनाहरू ताजै छन्।

बराहक्षेत्रमा माघेसंक्रान्तिको दुई दिन, एक रात धुमधामले मेला लाग्थ्यो। कोशी र कोका खोलाको दोभान अनि बराहक्षेत्र धामको फेदीमा मेला लाग्थ्यो। यही मेला भर्न र बराह भगवानको पूजाआजामा भारतदेखि समेत तीर्थयात्रीको ओइरो लाग्थ्यो। मैले पनि यस मेलामा निकै पटक रमाइलो गरेको बाल्यकालीन स्मृतिहरू झल्याकझुलक सम्झनामा आउँछन्।

उहिलेको ज्यानमारा बराहक्षेत्रको बाटो सम्झिँदा आज पनि सात्तो जान्छ। त्यो मानिस कसरी आवतजावत गर्ने होलान्? त्यसमाथि तराईका मालसामान पिठ्युँमा बोकेर त्यही ज्यानमारा बाटो भोजपुर, धनकुटा, खोटाङ पुर्‍याउने भरिया ज्यान ज्याद्रै हुन्।

कोशी नदीको किनारैकिनार उकालो चढ्दै गर्दा जुत्ताका तलुवा चिप्लिरहेका थिए। माटोको भरथेग कम, पाखाको धुलोले आँखा बिझाइरहेको हुन्थ्यो। यो उस्तै उस्तै बाटो थियो- मेरो हजुरबाले हिँडेको, मेरा पिताले ओसारेको र आज मैले तेस्रो पुस्ताको पाइला टेकेको।

बराहक्षेत्र पुग्ने बाटो उहिले साँच्चै कष्टकर थियो रे। छेउमै कोशी बगे पनि काकाकुल प्यासले तड्पिनु पथ्र्यो। थकाइले थिच्दा न बस्ने ठाउ, न अडिने भरथेग। एक पाइला अघि सार्दा दुई पाइला पछाडि खसिएलाजस्तो डर।’ त्यो सुन्दा कल्पनामै झनक्क सिरिङ्ग हुन्थ्यो।

आज म त्यही बाटो हिँड्दै छु, आधुनिक समयको सुविधासँगै। तर कतै मेरो पाइला उहिलेको लय खोजिरहेझैँ लाग्छ। पैताला टेक्ने ठाउँ खोज्नुपर्ने, कहिलेकाहीँ हिँड्दा शरीरभन्दा आत्मा धेरै थकाइने बाटोण।

त्यो बाटोमा कतै जरा उखेलेका रुखहरू उभिएका छन्, आकाशतिर हेर्दै। कतै भीरको छेउमै पुराना चौतारीका भग्नावशेष छन्- ती चौतारीहरू, जसमा उहिलेका यात्रीहरू थकाइ मार्थे, पानी पिउँथे। र, गन्तव्यको आँकलन गर्थे। तर आज ती ढुंगाका अवशेष बनेका छन्।

मेरा पाइला अघि बढिरहे। पाखोबाट झरिरहेका खोला पार गर्दै, रुखका जरामा समाउँदै। बिस्तारै आकाश खुल्दै गयो, घामको मधुरो झुल्कोले छायाँहरू लम्बिए। टाढा देखियो- बराहक्षेत्र !

यो ठाउँ, जहाँ धर्मले प्रकृतिसँग मेल खाएको छ। सप्तकोशीको निलो पानीमाथि फैलिएको हरियाली, शीतल हावामा गुञ्जिएका मन्दिरका घण्टहरू। माथिबाट बग्दै आएको कोकाखोला त्यही कोशीमा मिसिन्छ। त्यही दोभानमा बराहक्षेत्रमा आएका भक्तजनहरूले जपध्यान, श्राद्ध, स्नान आदि कर्म गर्छन्। उहिले यहाँ पुग्न पाएको अनुभूति शायद स्वर्ग नै हुन्थ्यो।

पाइला सार्नु पनि कठिन थियो। तैपनि धर्मात्मा मन कुनै पीडा महसुस नगरी हिँडिरहे। त्यही यात्राले इतिहास बोकेको थियो, कथा बोकेको थियो र यात्रुहरूलाई एकअर्कासँग बाँधेको थियो। आज म उही बाटो हिँडेर मात्र नभएर, त्यो बाटोलाई पढ्दैछु, बुझ्दैछु र भोग्दैछु।

बराहक्षेत्रको त्यो पुरानो बाटो भौतिक संरचना थिएन, त्यो एउटा आध्यात्मिक यात्रा थियो। त्यहाँ थकाइ थियो, तिर्खा थियो, हर्ष थियो, भजन थियो। अहिले बाटो फेरिए पनि तीर्थयात्रा गर्ने भाव भने उस्तै छ। अझै पनि कोशीको पवित्र जलमा नुहाउने रहर उस्तै छ, बराहक्षेत्रको दर्शन गर्ने अभिलाषा उस्तै छ।

तर कहिलेकाहीँ लाग्छ, त्यो उहिलेको बराहक्षेत्रको बाटो आफैंले आफैंलाई सोधिरहेको छ- के तिमीहरू मलाई बिर्संदैछौ ?

उहिलेको बराहक्षेत्रको ज्यानमारा बाटो सम्झँदा अझै पनि शरीर नै सिरिङ्ग हुँदै सात्तो जान्छ। ती साँझपखका दिनहरू त्यही बाटो भएर गन्तव्य पुग्नु वा फर्किनु कम डरलाग्दो हुँदैनथ्यो। शायद कसैले पनि सोंच्दैनथ्यो कि त्यहाँ कहिले पनि कुनै गाडीको आवाज सुन्न पाइने छ।

कुनै वेला त्यो बाटो रातको शान्तिमा, मानिसहरूको डर र अनिश्चिता भरिएको स्थान थियो। गाडीको गडगडाहट भनेको एक सपना थियो, एक कल्पना। डुंगा चढेर नदी तर्नु, पहाडका अपठ्यारा खोंचहरूबाट सावधानीपूर्वक हिँड्नु।

अनि मनमनै आशा गर्नु- कसरी सकुशल पुग्न सकूँ ? भनेको कल्पना थियो त्यो बाटोको यात्रामा। त्यो बाटो असाध्यै कष्टकर र जोखिमपूर्ण थियो। गाडीको के कुरा, त्यहाँ सवारी साधनको मात्र सोच्न पनि एक ठूलो साहस चाहिन्थ्यो।

तथापि समयसँगै, त्यही ज्यानमारा बाटोमा परिवर्तनको झलक देखिन थाल्यो। अचम्म पनि लाग्छ, आज त्यही बाटोमा दोहोरीलत गाडी ओहोरदोहोर गर्दैछन्। ती गाडीहरूको आवाज अब कुनै डरको संकेत होइन, बरु समृद्धिको र प्रगतिको आवाज हो। त्यस्तो बाटो जहाँ मानिसहरूले ठक्कर खान्थे, डुब्ने डरले, अनि दुर्घटनाको भयले हर्ष र उत्साह छोड्न सक्दैनथे। आज त्यहाँ गाडीहरू प्रगतिको प्रतिबिम्ब बनिरहेका छन्।

विकास भनेको यस्तै हो। यो भनेको भौतिक संरचनामा मात्रै परिवर्तन ल्याउनु होइन, समाजको मनोवृत्तिमा र विचारमा समेत गहिरो असर पार्नु हो। उहिले जसलाई बाटोको नामले मात्र डर ल्याउँथ्यो, आज त्यही बाटो विकास र समृद्धिको प्रतीक बनेको छ। यो कुनै जादू वा चमत्कारको परिणाम होइन। यसो भन्नु भनेको हामीले गरेको मेहनत र संघर्षहरूको प्रतिफल हो।

आजको युगमा, जहाँ ‘टेक्नोलोजी’ र ‘इन्फ्रास्ट्रक्चर’ को विकासले हाम्रो दैनिक जीवनलाई सरल र सुविधाजनक बनाइदिएको छ। त्यही परिवर्तनले हाम्रो आत्मविश्वासलाई पनि बलियो बनाउँछ। जसरी त्यो पुरानो बाटो विकासको साथसँग मिलेर नयाँ रूप लिन आएको छ। त्यस्तै हामी मानिसको जीवन पनि परिवर्तन हुँदै गएको छ। पुरानो घेरा तोडेर, नयाँ मार्गमा यात्रा गर्दै अघि बढ्नुको नाम नै विकास हो।

त्यसैले, जब म आज त्यो पुरानो ज्यानमारा बाटो सम्झन्छु। त्यहाँ गाडीहरू यात्रा गरिरहेको देख्छु। म नयाँ संरचनाको प्रतीक मात्र होइन, हामी सबैको सामूहिक संघर्ष र समर्पणको एउटा दस्तावेज देख्छु। यो हाम्रो परिवर्तन र समृद्धिको संकेत हो, र यसले हामीलाई भविष्यको विश्वासका साथ अघि बढ्न प्रेरित गर्छ।

यसरी बराहक्षेत्रको पुरानो ज्यानमारा बाटो आज एउटा समृद्धिको यात्रा बनिसकेको छ। यसले विकासको फड्को मार्दै वास्तविक सुविधाको अर्थलाई हामीसँग जोड्दै, जीवनलाई नयाँ दिशा दिएको छ। उहिलेको बराहक्षेत्रको बाटो अब एकादेशको कथा भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *