प्रकाशचन्द्र खतिवडाका दुई लघु कथा

१, गँजडीहरु
पहिलो दिन,
“आँच् यस्तो दियो नि। रड्डी भो रड्डी। ए कपिले उठ् न यार उठ, क्या कुम्भकर्ण सुताई हो यसको पनि।” “ओ ब्रो निन्द्रा नकच्पच्यान यार, यस्तो सपना दिँदै थियो नि।”
कपिल तनन्क तन्कियो। “गज्जब छ वा, हि हि हि यस्को सपना मोटी कि छोटी। हे उठ एक चिलिम त दिनु पर्छ नि ओ सोम।” पर बाटोमा बुढा बा पनि फिस्स मुस्कुराए।
“हे लठ्ठक, क्या कचकचे जन्माएछन बाउ आमाले पनि। सुत न सुत अन्मरी एकछिन्। क्या ट्रयाजेडी छ भने, ओ माइ गड लभ्ली फेभर , आइ सी, आइ सी। ”
कपिल जुरुक्क उठ्यो। श्यामलाई झ्याप्प अँगालो मार्यो। “ओ श्यामे मोरा, पार्वती छैन, पार्वती, डिप्ली लभ, व्लाक एण्ड ह्वाइट। ” श्याम मुस्कुरायो। फेरि झनक्क रिसायो। “भेट्लास एक लात्ती साला हराम। व्लाक व्यूटि भन न व्लाक व्यूटि, तेरो बिउटी। मेरो ड्यूटी बुझिस।” पर बाटोमा ससंकित आँखाहरु तिनीहरु तिर दौडिए।
दोश्रो दिन
“आ लफ यू , आ लफ यू। ” कपिल बर्बरायो। “आ हिट यू, आ हिट यू।” पार्वतीले मुन्टो फर्काइ।“ओ पार्वती , रड्डी नगर है, बड्ता व्लो मन पर्दैन नि। तिम्रो निम्ती हामीले के गरेनौँ ? सोच्या छ है पार्वती।” श्याम अगाडि बड्यो। पार्वती मुस्कुराई। कपिलले दाह्रा किट्यो। पार्वती श्याम तिर वढी। कपिल पार्वतीको पछि लाग्यो।
तेश्रो दिन
पार्वती बेपत्ता। कपिलको लास खोलाको किनारमा। श्यामको हातमा छिर्लिङ छिर्लिङ हतकडिको आवाज आउँदै थियो। बाटो हिड्ने बटुवाहरु एक आपसमा खस्याक खुसुक गर्दै थिए। कुलत र कुुसङगतको परिणाम अनपेक्षित थियो।
२, हिसाव किताव
“जिन्दगी कति बाँचिने हो ? त्यसको ख्याल राख्नु पर्ने। घरबारी बन्धकमा फसेको छ। त्यो उकास्नु पर्ने। बुढी आमा बिरामले थलिएकी छन्। औषधि गर्ने पैसा खोज्नु पर्ने। बाबुको काज किरिया गर्दा साहिला काजीको घरबाट ल्याएको रु १०,०००। तिर्नु पर्ने। बाबुको बर्खान्तलाई राम साहुलाई पुकार्नु पर्ने। स्वास्नी सुत्केरी हुन लागेकि छे।
सुन्केरी उकास्ने खर्च खोज्नु पर्ने। भुन्टेको दौरा फाटेर धुजा धुजा भएको छ। उसलाई दौरा किनि दिनु पर्ने। स्यानीको टाउको भरी घाउ छ। उसलाई अस्पताल लानु पर्ने। आफ्नो टोपी फाटेर टुप्पी निस्कीसकेको छ। एउटा टोपी किन्नु पर्ने।
बहिनीको विवाह गर्ने बेला भएको छ। एउटा केटो खोज्नु पर्ने। नुन तेल सबै सिद्धीसकेको छ। त्यसको चाँजो पाँजो मिलाउन सहर जानु पर्ने। उफ १ छोरा छोरीलाई पढाउनै पर्ने। यो बर्खा साहिला बाजेको खेत जोत्नु पर्ने। चुनाव आउँदै छ। नेतालाई पछ्याउनु पर्ने। बाबुको नाममा पुराण लाउनुपर्छ भनेर आमा कराउँदै छिन्।
त्यो पनि यहि दिमागले सोच्नु पर्ने। सद्मी बजारमा डोको नाम्लो बेच्न जानु पर्ने। सस्तोमा बदाम खरिद गरी डवली मेला लानु पर्ने। सालीको विहा भन्दै छन। ससुराली जाँदा राम्रै लुगा लगाएर जानु पर्ने। के के गर्नु पर्ने हो हो यो जिन्दगीले।
नुन, तेल, स्वास्नी, छोराछोरी, गाँउ, समाज, इष्टमित्र, साहु, आसामी, कुल, कुटुम्ब, मुखिया, मालिक सबैको हिसाब किताव एक एक गरेर राख्नु पर्ने। यति मात्रै कहाँ हो र ?
हल गोरु पनि छैन। जोती खाने जग्गा पनि प्रशस्ती छैन। बाबुले चलाएका ऋणहरु क्रमशः पण्डित हरेराम, बस्नेत कान्छा, जेठो साहु, काँइला बाजे अनि कुमार लालको साउँ ब्याजै तिर्नु पर्ने। साउँ ब्याज तिर्न नसके एक बर्ष भित्रमा घर छोडेर आफू विदेशिनु पर्ने।
दैनिक एक एक ओटा कुरा थपिन्छन। ती सबैका एक एक गरेर हिसाब किताब राख्दै जानु पर्ने। ”छोराको कुरा सुनिरहेकी बुढी आमाले मुख खुम्च्याउँदै भनिन् ” के गर्छस त रुद्रबहादुर ? तँ बच्चै हुँदा तेरा बाउ बितिहाले त। ”
सुन्दरहरैँचा-६, दुलारी, मोरङ
Facebook Comment