ट्रम्पको आलोचना गरेपछि न्युजील्याण्डका राजदूत बर्खास्त

काठमाडौं । न्यूजील्याण्डले बेलायतका लागि उच्चायुक्त फिल गफलाई बर्खास्त गरेको छ। लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै गफले रुस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको दृष्टिकोण १९३८ को म्युनिख सम्झौता जस्तै रहेको बताएका थिए ।
उनले भनेका थिए ‘म्युनिख सम्झौताले हिटलरलाई चेकोस्लोभाकिया कब्जा गर्न अनुमति दियो। अब ट्रम्पले फेरि उही गल्ती गर्न लागेका छन्। उनले इतिहास बुझ्दैनन् ।’
गफको यी टिप्पणीहरू पछि उनलाई उनको पदबाट हटाइयो। न्यूजील्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले उच्चायुक्तको टिप्पणी गलत भएको बताए। पिटर्सले भने ‘यो न्यूजील्याण्डको आधिकारिक अडान होइन।’
गफले बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले तत्कालीन बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनलाई कसरी हप्काएका थिए भनेर सम्झाए । त्यतिबेला चर्चिलले भनेका थिए ‘तपाईंले युद्ध र अपमान मध्ये एक रोज्नुपर्ने थियो । तपाइँले अपमान रोज्नुभयो तैपनि तपाइँले युद्ध लड्नुपर्यो ।’
१९३८ मा म्युनिख सम्झौता हुँदा चर्चिल बेलायतको प्रधानमन्त्री भइसकेका थिएनन् । पछि १९४० मा मात्र चर्चिल बेलायतको प्रधानमन्त्री बने ।
गफले ह्वाइट हाउसको ओभल अफिसमा चर्चिलको प्रतिमा राखेको बारेमा पनि प्रश्न उठाएका थिए। उनले भने ‘ट्रम्पले ओभल अफिसमा चर्चिलको प्रतिमा पुन: स्थापना गराए। के तपाईंलाई लाग्छ कि उनलाई इतिहासको साँच्चै बुझाइ छ?’
२०२० मा जो बाइडेनले ट्रम्पलाई पराजित गरेपछि चर्चिलको कांस्य मूर्ति हटाइएको थियो र हिस्पैनिक युनियन नेता सेजर चाभेजको मूर्ति राखियो। फेरि राष्ट्रपति हुने बित्तिकै ट्रम्पले ओभल अफिसमा चर्चिलको मूर्ति फेरि स्थापना गरे।
गफ जनवरी २०२३ देखि उच्चायुक्त थिए । यसअघि उनले न्याय, परराष्ट्र र रक्षा लगायत धेरै मन्त्री पदहरू सम्हालेका थिए।
यसैबीच, पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले गफको बर्खास्तीको आलोचना गर्दै भने यो उच्चायुक्तलाई हटाउने सबैभन्दा कमजोर बहाना भएको बताए । उनले भने ‘गफले जे भने त्यो सही थियो।’
१९९९ देखि २००८ सम्म न्युजिल्याण्डको नेतृत्व गरेका क्लार्कले भने ‘जब गफले गत महिना जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएका थिए, मानिसहरूले म्युनिख घटना र हालका अमेरिकी कार्यहरू बीच समानताहरू औंल्याए।’
Facebook Comment