बलिया विचारदाता पनि हुन् राष्ट्रनिर्माता

खगेन्द्रराज सिटौला
२५ फागुन २०८१ ७:४८

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहका उत्तराधिकारीहरुले धातुको श्री पेच त पहिरिँदै सत्ता चलाए। तर उनको विचारको श्री पेच कहिल्यै कसैले पहिरिएर सत्ता चलाएनन्।

धातुको मुकुट लाउन नपाउने उनका माहिला छोरा बहादुर शाहले मात्र बुबा पृथ्वीनारायणको विशाल नेपाल बनाउने विचारको मुकुट लगाएकोले नै उनी बुबाको अधुरो काम पुरा गराउन सफल हुन सकेका हुन्। यसबाट हामी विचारको शक्ति बुझ्न सक्तछौं।

अब नेपाली जनताले पृथ्वीविचारको पोको खोलेर हाम्रो विकासको धोको पूरा गर्ने दिन आएको छ। पृथ्वीविचारको पोकोमा धेरै छ, छान्न र तान्न मात्र जान्नु पर्दछ। नजानेर हामी पछि परेका हौं। अविकसित भएका हौं। अब यसलाई बदल्नुु पर्दछ। बदल्ने शक्ति पृथ्वीविचारमा छ। यो नेपाल जोगाउने र जगाउने सर्वाधिक शक्तिशाली विचार हो।

तर नेपालका पार्टी तथा नेताहरुले यो तथ्य बुझ्न सकेका छैनन। पुराना थिति समेतको अध्यायन गरेर नया थिति बनाएर थितिबाट (संविधानबाट) मुलुक चलाउने दृढ मन भएका पृथ्वीनारायणबाट नसिकेर नेपालको रणनीति स्वार्थको सेवा गर्ने थिति (संविधान) बनाउन असक्षम, असफल नेता तथा पार्टीहरुलाई पृथ्वीविचारको सिस्नोले ब्यूझाउन ढिला गर्नु हुँदैन। के पाइन्छ त पृथ्वीविचारको पोकोमा? अव पोकोबाट पृथ्वीविचार बाहिर निकालौं।

समानता र समावेसीको सुन्दर विचार

प्रकृतिको सुन्दर नेपाललाई संस्कृतिको साझा फूलबारी घोषणा गरे पृथ्वीनारायण शाहले। नेपाल सबैजातको फूलबारीको अर्थ हो सबैको हक र हैसियत बराबरी। बहुजातीय मुलुकको लागि यो साचै सुन्दर र शक्तिशाली विचार हुनसक्छ।

यो आफैंमा जनताको खुशी, समावेसी र समानताको सुन्दर विचार हो। बहुमत प्राप्त लोकप्रिय योग्यकाृे लोकतन्त्र दुनियालाई रिझाउन सक्ने छरछिमेकीले समेत औंला ठड्याउन नसक्ने बहुमत जनताको समर्थन प्राप्त योग्य र बौध्दिक नेताले लोकतान्त्रिक शासनको नेतृत्व गर्नु पर्दछ।

यो भन्दा बलियो र सुन्दर लोकतन्त्रको अरु कुन परिभाषा हुनसक्छ ? लोकतन्त्र अनिवार्य योग्यहरुले सही स्थान र जिम्मेवारी पाएको योग्यहरुको तन्त्र हुनुपर्दछ।
कठोर कानुन सुशासन जानुन घुस, भ्रष्टाचार माथि चोटिलो प्रहार गरेर मात्रै सुशासन सुनिश्चित हुन्छ।

यो सुशासनको विश्वव्यापी सिद्धान्त र मान्यता हो। लिने दिने दुबैलाई पोको पार्ने कडा कानुन भ्रष्टाचार विरोधी पृथ्वीविचार सबै लोकतन्त्र र सुशासनका पक्षपातिहरुले जानुन र मानुन्।

स्वदेशवादी अर्थतन्त्र आर्थिक विकासको मुलमन्त्र

स्वदेशी साधन, सीप, श्रम, पुजीमा आधारित स्वदेशवादी र विदेशी शोषण विरोधी आत्मनिर्भर अर्थतन्त्रको मन्त्र लिएर पृथ्वीविचार उदाएको छ। यसको मर्मलाई पक्रने हो भने अर्थतन्त्र फक्रन कतिपनि समय लाग्दैन।जनतालाई केन्द्रमा राख जनतालाई बलियो बनाउनु भनेको नै सबै किसिमले योग्यता क्षमतायुक्त सक्षम जनताको शक्ति बनाउनु हो।

बलिया जनताको अर्को नाम बलियो राष्ट्र हो। सबै किसिमले जनता बलिया भए सबै किसिमले राज्यकेन्द्र र सर्वभौमिकता बलियो हुन्छ भन्ने पृथ्वीविचार कसले भन्न सक्छ जनता र राष्ट्रको विचार होइन भनेर।

राज्यले अन्याय हुन नदिनु राज्यले अन्याय हुन नदिनु न्याय निसाफ खुब हेर्नुको अर्थ हो अन्यायरहित समाज व्यबस्थाको सुनिश्चित गर्नु। सबै किसिमका शोषण, दमन, उत्पिडन, भेदभाव समाप्त पार्नु। जो न्यायपूर्ण समाज व्यवस्थाको लागि लडेको हुन्छ उसले स्वत पृथ्वीविचारको झण्डा उठाएको हुन्छ।

निर्यात गर विदेशी मुद्राले स्वदेश भर

पृथ्वीनारायण शाहाले नेपालमा प्रचुर मात्रमा जडीबुटी देखे र जडीबुटी निर्यात गरेर प्रसस्त मात्रमा विदेशी मुद्रा आर्जन गर्न सकिने संभावना देखे। यो उनको निर्यातमुखि अर्थतन्त्रको प्रतीक हो र यसलाई विदेसी मुद्रा आर्जनको प्याकेज बनाएर अर्थतन्त्रलाई सुदृढ बनाउने रणनीति बनाउनु पर्दछ।

सीप सिकाउ श्रमशक्ति बढाउ

सीप र प्रविधि विकास गरेर मात्रै राष्ट्रलाई सबै किसिमले उठाउन सकिन्छ भन्ने पृथ्वीविचार हिजो, आज र भोलीको युगको पनि उत्तिकै जिउदो विचार हो। त्यसैले राष्ट्रका लागि सीपकरण गर्नु बाहेक अर्को कुनै विकल्प छैन। सबै क्षेत्रमा सीपको आवश्यकता जगैदेखि सीप शिक्षा भन्ने मुल नारा बनाएर शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नु पर्दछ।

खासगरी सीपमूलक,वैज्ञानिक,व्यावसायिक र निर्वाहामूखी व्यवहारिक शिक्षानीतिमा जोड दिनु पर्दछ। सीपशक्तिलाई श्रमशक्तिमा रुपान्तरण गर्नु पर्दछ भने श्रमशक्तिलाई सीपशक्तिले तिखार्नु पर्दछ। श्रममा नभएको सीप र श्रममा नगएको सीपको कुनै अर्थ छैन। त्यस्तै सीप र श्रम नभएको मुलुकको पनि कुनै भविश्य छैन।

आ-आफनो कुलधर्म र संस्कृतिमा रमाउ

संस्कृति बचाउन नसक्नेले आफ्नो राष्ट्र पनि बचाउन सक्तैन भन्ने उनको दृढ मान्यता छ। विदेशी धर्म संस्कृतिमा बिक्ने र बहकिनेहरुले अब बेलैमा सोच्नुपर्ने हुन्छ कतै म राष्ट्र समाप्तिको दिशातिर बढिरहेको त छैन भनेर।

निरन्तर संचार संचारले संसार जोड

बुढा मरे भाषा सरे भन्नुको अर्थ हो संचारको निरन्तरता र व्यापकता। संचारले इतिहास पनि जोड्छ संसार पनि जोडछ भन्ने हो। हरेक पुस्ता र व्याक्ति सूचनाका श्रोत हुन सक्छन यसलाई ताजिकिकरण गर निरन्तरता देउ भन्ने पनि अर्थ हो यसको।

हरेक पुस्तालाई इतिहासबाट शिक्षा लिन , पुर्खाहरुका गाौरवमय इतिहास कायम राख्न र पछिल्ला पुस्ताहरुमा पथच्यूत भएर बिग्रनबाट रोक्न पनि पृथ्वीविचारको बूढा मरे भाषा सरेको महत्व बुझ्न सकिन्छ।

पुस्ता पतन हुनु र नहनुले राष्ट्र पतन हुनु र नहुनुसंगको सवालसंग सम्बन्ध राख्दछ। त्यसैले पनि गौरवपूर्ण परम्पराहरुलाई निरन्तरता कसरी दिने भन्ने चिन्ता हो पृथ्वीविचारको। यो आफैंमा इतिहास, सूचना र सञ्चारको प्याकेज हो।

सन्तुलित र अनाक्रमक परराष्ट्र नीतिमा जोड

दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालले दुबै मुलुकसँग सन्तुलित र असल सम्बन्धको विदेश नीति हिजो ,आज र भोलीको लागि पनि उत्तिकै सान्दर्भिक छ। यो पृथ्वीनारायण शाहले प्रतिपादन गरेको नेपालको लागि सर्वकालीन सही विदेश नीति हो। .

त्यस्तै नेपालले मात्रै होइन कि संयुक्त राष्ट्र संघका हरेक सदस्य राष्ट्रहरुले पालन गनुपर्ने अनाक्रमक परराष्ट्र सिध्दान्त दिएको छ पृथ्वीविचारले सारा विश्वलाई। जाइकटक नगर्नु झिकिकटक गर्नु भनेको आक्रमण गर्न नपाइने तर आक्रमणकारीलाई धपाउन पाइने सर्व स्वीकार्य विदेशनीति हो। अर्काे शब्दमा भन्दा यो अनाक्रमक सुरक्षाप्रत्याभूतिको परराष्ट्र सिद्धान्त हो।

जमिन जोगाउ कृषि उत्पादन बढाउ

कृषियोग्य जमिन बस्तिले नढाक र कुलो आउने बाटो घर बस्तिले नछेक भन्ने पृथ्वीविचार आफैंमा कृषिलार्ई सर्वाधिक महत्व दिने विचार हो। यहीक्रमले खेतियोग्य जमिन मानव बस्तिले ढाकिँदै र कलकारखानाले छोपिँदै जाने हो भने निश्चित छ मान्छे खानाको अभावले मर्ने दिन टाढा छैन।

नेपालले मात्र होइन कि विश्वले नै पृथ्वीविचारलाई पक्रदै कृषियोग्य जमिनको संरक्षण र कृषि उत्पादनमा जोड दिन विलम्ब गर्नु हुदैन। कृषि व्यवसाय गर एकैपल्ट पेट,गोजी र राष्ट्रको ढिकुटी समेत भरको कृषि नीतिको नारा संयुक्त राष्ट्रसंघले अघि सार्नु पर्दछ।

निरन्तर प्रशिक्षण देउ

वैचारिक, सैद्धान्तिक प्रशिक्षण तथा व्यवहारिक तालिमलाई पृथ्वीविचारले जोड दिएको छ। राज्यका सबै अंगहरुलाई तिखारिरहनु विकृतिहरुलाई निखारिरहनु यसको जोड हो। नयाँ प्रविधिबारे जानकार हुनु,सबै क्षेत्रमा सबै नागरिक सधैं दक्ष यसको लक्ष्य हो। यो व्यापक क्षेत्रको प्रशिक्षण र तालिमको अनिवार्य राष्ट्रिय कार्यक्रम र नीति हो।

उचित तलव देउ भ्रष्ट हुन नदेउ

सफल राज्यसञ्चालनका लागि असल निजामती तथा जंगी वा सुरक्षा निकाय हुनु अनिवार्य हुन्छ। यो निकायलाई सफल र असल बनाउनका लागि यसले दायां.बायां गर्नु नपर्ने गरी तलव सुविधा हुनुपर्छ।

यो निकाय राज्य र जनताप्रति बफदार र कामप्रति समर्पित हुने चरित्र र विशेषताको हुनुपर्छ। यो निष्पक्ष र सेवामुखी हुनुपर्छ, यसको भविश्य र सुरक्षा राज्यले सुनिश्चित गरिदिनु पर्छ। पृथ्वीविचारमा यसरी अभिव्यक्त हुन्छ निजामति सेवा र सञ्चालनको नीति सिद्धान्त।

जनता र सुरक्षा निकायको सम्बन्ध सुमधुर बनाउ

राज्यमा जनताले सुरक्षानिकायको विरुध्द नारा.जुलुस लगाउनुपर्ने अवस्था आउनु हुदैन र त्यो निकायले जनताको विरुद्ध लाठी गोली चलाउनु पर्ने स्थिति आउनु हुँदैन। यो दुबै शक्ति राष्ट्रिय सुरक्षा,एकता, विकास निर्माण प्रजातन्त्रका लागि हातेमालो गरेर अघि बढ्ने शक्ति हो। पृथ्वीविचारको यही सही नीतिले गर्दा नै नेपालमा सेना लगायत अन्य सुरक्षा निकाय र जनताको सम्बन्ध जहिल्यै राम्रो हुन सकेको हो।

उत्तरतिर बाटोखोल

भुगोलले नेपालको उत्तरतिरको छिमेकी देशलाई दुर्गम बनाएको छ। तर यसलार्इृ धेरै नाका वा रास्ताले सुगम बनाउन सकिन्छ भन्ने मान्यता पृथ्वीविचारमा छ। यसले नेपालको सुरक्षा र व्यापारलाई बढी सन्तुलित र उपयोगी बनाउन सक्छ भन्ने मान्यता झनै पुष्टि भइरहेको छ।

उत्तर तथा दक्षिणतिरका दुबै छिमेकीबाट आर्थिक, व्यापार लगायत अन्य धेरै कुरामा फाइदा लिन दिन सकिने विश्वासमा नै पृथ्वीनारायण शाहको उत्तरतिर रास्ता खोल्ने विचार अघि आएको हो। अहिले यसलाई झनै जोड दिनु पर्ने भएको छ।

पृथ्वीविचारमा आधारित राष्ट्रिय सुरक्षा, एकता, विकास र समृध्दिको नीति कार्यक्रम तथा योजना बनाउन हो भने नेपालले अरु कसैका विचारका पोका खोतलेर समय र देश बर्बाद पार्नु पर्दैन, हामीसँगै सबै छ। नेपाल र नेपाली जनताको लागि यति बलिया विचारदाता राष्ट्रनिर्मातालाई अपमान गर्ने तिमी कसको गणतन्त्रवादी सत्ता हौ? यो तिमी सबै दल, नेता र सरकारलाई नेपाली जनताको प्रश्न भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *