नेपाल पुलिस क्लबलाई दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि

डिसी नेपाल
२४ फागुन २०८१ २३:००

वीरगञ्ज, (पर्सा)। दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगञ्जको आदर्शनगर रंगशालामा आज भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो।

खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। खेलको १३औँ मिनेटमा मच्छिन्द्र क्लबका समिराज थोकरले ‘हेड’मार्फत गोल गरेर अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ५८औँ मिनेटमा नेपाल पुलिस क्लबका विकास विकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

पुलिस क्लबका तर्फबाट ट्राइब्रेकरमा कप्तान रामचन्द्र वाजी, सञ्जीव लामा र अमित टमटाले गोल गरेका थिए। उज्ज्वल राईको ‘पेनाल्टीसुट’ गोलमा परिणत हुन सकेन।

त्यस्तै, मच्छिन्द्र क्लबका तर्फबाट ट्राइब्रेकरमा विशाल राई, दिवाकर चौधरी र समिराज थोकरले गोलमा परिणत गर्न सकेनन्। वीरगञ्ज गोल्डकपको विजेता बनेको नेपाल पुलिस क्लबले रु ११ लाख ११ हजार एक सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, उपविजेता बनेको मच्छिन्द्र क्लबले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा पुलिस क्लबका कप्तान रामचन्द्रवाजी सर्वोकृष्ट खेलाडी घोषित हुँदै इलेक्ट्रिक स्कुटर हात पारे।

पुलिस क्लबका अमित टमता उत्कृष्ट गोलरक्षक बने। त्यस्तै उत्कृष्ट प्रशिक्षक पनि पुलिस क्लबकै चेतन घिमिरे भएका छन्। उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २० हजारले पुरस्कृत गरियो। फाइनल खेलमा ‘म्यान अफ दी म्याच’ भने मच्छिन्द्र क्लबका समिराज थोकर बने। उनले नगद रु १० हजार पुस्कार प्राप्त गरे।

वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रलगायतले खेलाडीलाई मेडल र ट्रफी हस्तान्तरण गरेका हुन्। वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार महानगरले खेलकुदको विकास र प्रवर्द्धनका लागि योजनाबद्ध काम गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *