जाइरामा नम्रताको एक्सन मोटिभ अवतार
काठमाडौं। चलचित्र ‘जाइरा’ महिला प्रधान चलचित्र हो। त्यसमा पनि एक्सन। नेपालमा महिला प्रधान चलचित्र औंलामा गन्न सकिने मात्रै छन्।
यस्ता चलचित्रलाई दर्शकको खासै साथ मिल्ने गरेको छैन। त्यसैले पनि महिला प्रधान चलचित्रमा लगानी गर्न निर्माता हिच्किचाउँछन्। तर अभिनेत्री नम्रता श्रेष्ठले चलचित्र ‘जाइरा’ निर्माण गरेर आँट देखाएकी छिन्।
एक शब्दमा भन्नुपर्दा यो चलचित्र ‘रिभेन्ज’ अर्थात बदलाको कथामा निर्माण गरिएको चलचित्र हो। जसमा नायिका नम्रताले उनका पति राव ९अनुप विक्रम शाही०को हत्या पछि लिने रिभेन्जलाई मुख्य कथावस्तुका रुपमा उतारिएको छ।
चलचित्रमा नम्रता ‘जाइरा’ को भूमिकामा छिन्। ‘जाइरा’ एक मार्सल आर्ट खेलाडीको क्यारेक्टर हो। यो क्यारेक्टरका लागि नायिका श्रेष्ठले आठ महिना प्रशिक्षण लिएकी थिइन्। उनको त्यो मेहनत चलचित्रमा प्रष्ट देखिएको छ। कँहि कतै उनले गरेको एक्सन केहि फितलो देखिए पनि समग्रमा उनले ‘जाइरा’ क्यारेक्टरलाई न्याय गरेकी छिन्।
यस चलचित्रमा नेगेटिभ भूमिकामा महिलालाई नै उतारिएको छ। जसमा डेब्यु अभिनेत्री श्रिजना रेग्मी (बुलेट) को भूमिकामा छिन्। चलचित्रमा जाइरा र पावरफुल भिलेनको रुपमा देखिएकी बुलेटको जबरजस्त एक्सन देख्न पाइन्छ। बुलेटको काम तारिफ योग्य छ। यस चलचित्रबाट उनी एक्सनमा सम्भावना बोकेकी नायिकाका रुपमा उदाउने देखिएको छ।
त्यस्तै जस्तोसुकै अभिनयमा फिट हुने अभिनेता प्रमोद अग्रहरी चलचित्रमा भिलेनको मुख्य भूमिकामा देखिएका छन्। दर्शकले प्रमोदलाई उनको नाम भन्दा पनि चलचित्रमा गरेको क्यारेक्टरका आधारमा बढी चिन्ने गर्छन्। यस चलचित्रमा उनको नाम ‘राजा’ राखिएको छ। चलचित्रमा उनले बोल्ने शैली र अभिनय गज्जबको छ।
अनुपबिक्रम शाही चलचित्रमा नायकको भूमिकामा देखिएका छन्। उनले एक सच्चा प्रहरी इन्स्पेक्टरको भूमिका निर्वाह गरेका छन्। तर उनको अभिनय भने औसत छ।
चलचित्रमा रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको पनि मुख्य भूमिका रहेको छ। चलचित्रलाई आशुतोष श्रेष्ठले निर्देशन गरेका छन्, भने चलचित्रमा लगानीसमेत नम्रता श्रेष्ठको रहेको छ। कार्यकारी निर्माताको रुपमा प्रसन्न गोपाली रहेका छन्।
आशुतोष र निरज महर्जनले लेखेको यस चलचित्रलाई बाबु श्रेष्ठलले छायांकन गरेका हुन्। चलचित्रको सम्पादन लोकेश बज्रचार्यले गरेका हुन्।
Facebook Comment