उत्साहित राजावादी, दबावमा गणतन्त्रवादी

काठमाडौं। काठमाडौंमा राजसंस्थाको पक्षमा आइतबार शक्ति प्रदर्शन भएको छ। संवैधानिक राजतन्त्र पक्षधर राजावादी शक्ति प्रदर्शनबाट उत्साही देखिएका छन्। उनीहरूले राजसंस्था र राजाको पक्षमा नाराबाजी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गरेका छन्।
एक महिना लामो पोखरा भ्रमण सकेर शाह आइतबार दिउँसो काठमाडौं फर्किएका हुन्। काठमाडौं फर्किंदा पञ्चेबाजासहित राजावादीले शाहको स्वागत गरे। उनीहरूले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छ’ जस्ता नारा लगाएका थिए।
काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि पूर्वराजालाई विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले भेट गरेका थिए। पूर्वराजा शाहको स्वागतका लागि विमानस्थलबाहिर हजारौंको संख्यामा उहाँका समर्थकहरू भेला भएका थिए।
उनको पक्षमा जनलहर नै देखिएको थियो। उनीहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म पुर्याएका थिए। आइतबार बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका थिए।
उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आहृवान गरेका थिए। विमानस्थलबाहिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समर्थकलाई सम्बोधन गर्दै राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन सडकमा देखिएको बताएका थिए।
झण्डै एक महिना पोखरामा बिताएका शाह आइतबार अपराह्न काठमाडाैं फर्कँदा उनलाई स्वागत गर्न भन्दै राजतन्त्र पक्षधरहरूको भिड लागेको थियो।
पछिल्ला सातामा उनले पोखरामा उनले आफ्ना दाजु राजा वीरेन्द्रको सालिक अनावरण गर्नुका साथै पोखरा, बाग्लुङ र स्याङ्जाका मठमन्दिरहरू दर्शन गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरेको उक्त आयोजनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’, राप्रपा-नेपाल लगायतका विभिन्न समूहहरू सहभागी भएका छन्।
राजसंस्था पक्षधर शक्तिहरूले राजसंस्था पुनर्स्थापना र हिन्दू अधिराज्य कायम गराउने दिशामा आफूहरू “अन्तिम धक्का” दिने तयारीमा रहेको बताइरहेका छन्।
त्यसका लागि उक्त एजेन्डामा सहमत देखिएका सबै दल तथा समूहहरूबीच सहकार्य गर्ने तयारी पनि गरिरहेको उनीहरूले बताएका छन्।
अर्कोतर्फ गणतन्त्र पक्षधर दल तथा विश्लेषकहरूले राजसंस्था पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै आएका छन्।
तर राजतन्त्रकाे पक्षमा एकएक माहाेल बढ्न थालेपछि गणतन्त्रवादीहरू भने दबावमा पारेका छन्। प्रमुख दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई पुनः गद्दीमा फर्कने सपना नदेख्न चेतावनी दिँदै सामन्ती राजतन्त्रको पक्षमा जनता कुनै हालतमा नलाग्ने दाबी गरिरहेका छन्।
राजावादीहरूको चलखेल बढेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले पूर्वनिर्धारित मधेस केन्द्रित अभियान नै केही समयलाई स्थगन गरेको छ। पूर्वराजाको सन्देशपछि राजावादीले सक्रियता देखाइरहेका बेला गणतन्त्रवादी दलका नेताहरू आक्रामक देखिएका छन्।
एकाएक राजतन्त्रको पक्षमा माहोल बनेको देखाउन राजावादी राप्रपा र राप्रपा नेपाल कम्मर कसेर लागेका छन्। तर, पूर्वराजा र राजावादीहरूको सक्रियताप्रति सत्ता र प्रतिपक्ष दलका नेताले भने आपत्ति जनाएका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै आपत्ति जनाइरेका छन्।
गणतन्त्र, संघीयता, समावेशिताजस्ता परिवर्तनका मुद्दामा आँखा लगाए पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दलका शीर्ष नेताहरूले दिइरहेका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकप्रिय ठानेको भए दल खोलेर चुनाव लड्न चुनौती दिँदै भने, ‘लोकप्रिय हुनुहुन्छ भने ठीक छ, चुनाव लड्न आउनुस्, तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदै छ नि, पार्टी खोल्नोस्। खोल्नुभएकै छ। त्यसलाई आफ्नो ठान्नोस्। अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको लुकाउने?’
कांग्रेसका सभापति शेरबहादुर देउवाले राजाकै कारण गणतन्त्र आएकाले अहिले उनको कुनै स्थान नभएको दाबी पार्दै भने, ‘राजा स्वयं नै कारक भएर गणतन्त्र आयो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजाले मूर्खता देखाए अहिले पाएको सेवासुविधा पनि खोस्ने चेतावनी दिँदै भनेका छन्, ‘मैले पहिले पनि भेनेको थिएँ, ज्ञानेन्द्रले विगतमा पनि मूर्खता गरेका हुन्। फेरि पनि अर्को मूर्खता गरेर पाएको पनि सबै सखाप नपारून भन्ने चाहन्छु । कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएर हामी उदार बनेका थियौँ । जबरजस्ती गर्न खोजिए नेपाली जनतालाई मान्य हुँदैन।’
Facebook Comment