पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले दियो ६ लाख राहत

डिसी नेपाल
७ भदौ २०७६ १७:२१

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ।

गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप ६ लाख प्रदान गरेको हो।

राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले आज खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गरेको जनाइएको छ। प्रदेश सरकारले प्रति मृतकलाई दुई लाख राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको ६ लाख प्रदान गरिएको हो।

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो । घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो।

विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि ४० हजार प्रदान गरेको थियो। श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए।

पहिरोमा पहिरोका कारण सर्वस्व गुमाएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो। पहिरो पीडितलाई प्रदेश सरकारको राहत हस्तान्तरण गरेपछि वर्षा र पहिरोका कारण अवरुद्ध सडक तथा खानेपानी सञ्चालनका विषयमा छलफल भएको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *