तानाशाहबाट देश र समाजको विकास हुन सक्दैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन्।
सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ नयाँ बानेश्वरमा रहेको श्री शिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए। त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए।
उनले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए। ‘निर्वाचित हुँदैमा विधि र कानूनभन्दा माथि कोही पनि हुँदैन। जनप्रतिनिधि भइसकेपछि म विधिभन्दा माथि छु भन्ने ठानेपछि अलोकतान्त्रिक र तानाशाही भएको गन्ध आउँछ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ स्थानीय नागरिकको चाहना र जनप्रतिनिधिबिच कम्युनिकेशन सही रुपमा नहुँदा समस्या आउने गरेको छ। जनचाहना बुझेर जनप्रतिनिधिले विधि र नियमअनुसार काम गर्नुपर्छ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए। आफ्नै भोगाइले त्यस्तो निष्कर्षमा पुगेपछि समाजेसवाका लागि सशक्त माध्यम भएकाले राजनीतिमा आएको पनि उनको भनाइ छ। ‘राजनीतिमा आएको ठूलो मान्छे बन्न होइन। पदमा भएपनि नभएपनि केही छैन। प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जिविकोपार्जन सहज बनाउन दलहरु मिलेर काम गर्नुपर्छ,’ उनले भने।
Facebook Comment