भारतीय नेताको फोटोसहित नेपालमा राजतन्त्र समर्थक प्रदर्शन हुँदा परराष्ट्रमन्त्री भारत प्रस्थान

काठमाडौं । नेपालमा राजतन्त्र समर्थकहरूले भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीरसहित राजतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका बेला परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत गएकी छिन् ।
रोचक रूपमा राणाको भारत भ्रमणको काम पनि धार्मिक भएको बताइएको छ । योगी आदित्यनाथ पनि भारतका धार्मिक कट्टरपन्थी नेता हुन् । उनी राजनीतिमा आउनुभन्दा पहिले मठाधीश थिए ।
मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि गएको बताइएको छ । मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।
त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ ।
Facebook Comment