जीर्ण सडकको अनुगमनमा संसदीय समिति

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चावहिल-बौद्ध-जोरपाटी-साँखु र जोरपाटी-सुन्दरीजल सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन गरेको छ।
चावहिलबाट माथितिरको सडक विसं २०७२ मै ठेक्का भए पनि अझै विस्तार र कालोपत्र हुन सकेको छैन। घर जग्गाको मुआब्जा विवादले सडक निर्माण अलपत्र बनेको हो। सडक विस्तार हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोमा यात्रा गर्न यात्रु बाध्य छन्।
अनुगमनका क्रममा समितिका सभापति कल्याणीकुमारी खड्काले काममा ढिलाइ हुँदा आम मानिसलाई आवतजावतमा समस्या भएकाले सरोकार भएका निकायका अधिकारीलाई बैठकमा बोलाएर छलफल गरी समाधानका लागि निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरे।
शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले सडकमा हुने टेलिफोनको तार, विद्युत्को पोल एवं तार र खानेपानीको पाइप विच्छ्याउने काम एकीकृत रुपमा हुनुपर्ने बताए। साँखु—जोरपाटी सडक सरोकार समूहका अध्यक्ष मिलन खड्काले सडक विस्तार एवं निर्माण गर्दा सूचना पाटी नराखिएको, कहिले शुरु भएर कहिले अन्त्य हुनेलगायत सूचना पाउनबाट पनि स्थानीयवासी वञ्चित भएको बताए।
मापदण्ड के हो र सडक कसरी बन्दैछ भन्ने उपभोक्ताले जान्न पाउनुपर्ने उनको माग थियो। चावहिलबाट साँखुको सडक करीब १२ किमी छ। यो सडकमा पाँच वटा ठेक्का लगाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले जानकारी दिए।
यसैगरी जोरपाटी–सुन्दरीजल सडक करीब सात किमी छ। यो सडकमा दुई खण्डमा ठेक्का लगाइएको छ। दुवै सडकको म्याद २०७७ जेठ मसान्तसम्म थप गरिएको जनाइएको छ। अनुगमनमा समितिका सांसदहरु, यस क्षेत्रका सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो। रासस
Facebook Comment