शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी : मन्त्री पोखरेल

डिसी नेपाल
७ भदौ २०७६ १८:५६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन्।

मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उनले शताब्दीयौ अगाडिदेखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताए।

‘शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्’, शिक्षामन्त्री पोखरेलले भने, ‘यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ।’ विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उनले बताए।

समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भने, ‘शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ।’ हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको उनको भनाइ थियो।

‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको उहाँले बताए। सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको उनले जानकारी गराए।

सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५०० भन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गरेको उनको भनाइ छ।

सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा जोड दिनुका साथै वातावरण सुधार गरी समय सापेक्ष ज्ञान निर्माण गर्न सहयोग गर्ने उनको विश्वास छ। राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराए।

फाउण्डेसनका अध्यक्ष शान्त्ता दीक्षितले गुणस्तरीय शिक्षामा निर्माणमा सिकाइ केन्द्रित छ वटा मूल विषय रहेका सम्मेलनमा उपस्थित शिक्षक सामु बताए। उनले भने, ‘सिकाइ केन्द्रित प्रारम्भिक बालविकास, गरेर सिक्ने शैली, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी र दिगो विकासको लागि शिक्षाको योजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ।

तीन दिने सो सम्मेलनले नेपालमा गुणस्तरीय शिक्षा निर्माण गर्न सहयोग पुर्याउने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *