विमानस्थलमा प्रहरी : सुरक्षा जाँच गर्छन् कि एक अर्काको जासुसी ?

डिसी नेपाल
२७ फागुन २०८१ ११:०९

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्न वर्दी लगाएका प्रहरीहरु व्यवस्थित रुपमा तैनाथ गरिन्छन्। उनीहरु सुरक्षा जाँच गर्ने तोकिएको स्थानमा तैनाथ हुन्छन् र उनीहरुले यात्रुलाई निषेध गरिएका वस्तुहरु विमानसम्म लैजानबाट रोक्छन्।यो विमानस्थलमा हुने सुरक्षा जाँचको अन्तर्राष्ट्रिय अभ्यास हो।

तर, त्यही विमानस्थलमा प्रहरीकै अर्को टोली पनि परिचालन गरिन्छ। दोस्रो टोलीका सदस्यहरुले वर्दी लगाएका हुँदैनन्। सादा पोसाकमा तैनाथ गरिएका यी प्रहरीहरुलाई लागु औषधको नियन्त्रण गर्ने जिम्मेवारी दिएको बताइन्छ। एकै ठाउँमा एउटै निकायका दुई टोली परिचालन गर्नुले उनीहरुको काममै आशंका गरिएको हो कि भन्ने प्रश्न उब्जिएको छ।

यात्रुहरुले लागुऔषध लैजान खोजेमा वर्दी लगाएका प्रहरीले पनि चेकजाँचमा फेला पार्न सक्छन् तर लागुऔषधकै लागि छुट्टै टोली परिचालन गर्नु भनेको वर्दी लगाएका प्रहरीहरुको क्षमतामाथि आशंका गर्नुजस्तो देखिएको जानकारहरु बताउँछन्। यसरी एउटै निकायका दुई टोली परिचालन गर्दा एक टोलीले अर्को टोलीको जासुसी गरेजस्तो समेत देखिन्छ।

यद्यपि विमानस्थलमा यसरी प्रहरीका छुट्टाछुट्टै टोली परिचालन गरिए पनि सुरक्षा जाँच भने फितलो नै छ। पछिल्ला केही वर्षमा विमानस्थलबाट तस्करी गरिएका कैयौं वस्तुहरु सुरक्षा जाँचका क्रममा फेला परेका होइनन्। ती वस्तुहरु विमानस्थलमा वर्दी लगाएका र सादा पोसाकमा खटिएका दुवै टोली पार गरेर बाहिर आइसकेका थिए।

विमानस्थलबाटै ठूलो परिमाणमा तस्करी गरिएका सुन विमानस्थलको सुरक्षा पार गरेर सिनामंगल क्षेत्रमा आइसकेपछि बरामद गरिएको थियो। प्रहरीले सुर विमानस्थलको सुरक्षा पार गरेर सहरमा प्रवेश गरिसकेको सूचना पाएपछि सुन बरामद गरेर तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको थियो।

तस्करीका सामानले विमानस्थलको सुरक्षा पार गरिसकेका उदाहरणहरुले विमानस्थलमा सुरक्षामा खटिने प्रहरीबाटै सेटिङमा तस्करी हुने गरेको आशंकालाई पनि बल दिन्छ। यी घटनाले विमानस्थलमा खटिने छुट्टाछुट्टै प्रहरी टोली सुरक्षाकै लागि खटिएको हो वा एकअर्काको जासुसीको लागि भन्ने प्रश्न पनि बलियो भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *