कपन विस्फोट पीडितलाई भाडावालबाट क्षतिपूर्ति दिलाउन आदेश

काठमाडौं। साढे दुई बर्ष अघि भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाडाैं कपनस्थित घरका घरधनीलाई भाडावालाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
काठमाडाैं कपनस्थित राममन्दिर लसुनटारमा रहेको विस्फोटनमा परेको घर चर्चित पर्वतारोही निर्मल पूर्जाको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले अनधिकृत भण्डारण गरेको अक्सिजन ग्यास सिलिण्डर विस्फोटबाट भएको क्षति वापतको रकम भराउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिएको छ।
पुस १६ मा फैसला भई हालै जारी भएको पूर्णपाठमा काठमाडाैं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले घरधनीले वीमा वापतको रकम पाइहाले भन्दैमा दृष्कृति गर्ने भाडावालले छुट नपाउने व्याख्या गरेको छ। मुलुकी देवानी संहिता २०७४ लागू भएपछिको दुष्कृतिसम्बन्धी यो महत्वपूर्ण फैसला हो।
‘वादीले बिमाबाट रकम प्राप्त गरेको हुँदा प्रतिवादीले वादीलाई दुष्कृतिबाट भएको क्षेतिपूर्ति तिर्न नपर्ने भन्ने प्रतिवादी तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरुले बहसमा जिकिर गर्नु भएको देखियो। मिसिल प्रमाण अध्ययन गर्दा, प्रतिवादीले भाडामा लिएको घरमा हुन सक्ने संभावित क्षतिका लागि निजले आफुले रकम बुझाइ बिमा गराएको नभइ वादीले आफुले रकम बुझाइ बिमा गराएकोमा विवाद देखिएन। वादीले योगदान गरेको वा वादीले गरेको लगानीबाट प्रतिवादीले फाइदा पाउने वा प्रतिवादीले गरेको गल्तीबाट मुक्ति पाउने भन्ने कुरा तर्कसंगत, युक्तिसंगत नहुनाका साथै न्यायोचित समेत देखिँदैन,’ फैसलामा भनिएको छ।
फैसलामा थप विवेचना गरिएको छ, ‘त्यसैले प्रथमतः दावीको बिमा प्रतिवादीले नगराएको हुँदा सोको फाइदा प्रतिवादीले पाउने भन्न मिलेन । दोश्रो, मिसिल साथ संलग्न सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको २०८१ जेठ १२ को पत्र व्यहोरा हेर्दा, बिमा शुल्क रु १८६६७।६० भुक्तानी गर्ने गरी विमाङ्क रकम रु एक करोड दश लाख को बिमा गराई वादीले हालसम्म रु बीस लाख बिमा वापतको रकम प्राप्त गरेको भन्ने देखियो। निजले प्राप्त गरेको रकम निजलाई हुन गएको आर्थिक, भौतिक र मानसिक क्षतिको तुलनामा पर्याप्त देखिँदैन। त्यसैले वादीले आफ्नो लगानीबाट गराएको बिमाबाट केही रकम प्राप्त गरेको भन्ने कारणले वादीलाई क्षतिपूर्ति भराउनु नपर्ने भन्ने प्रतिवादीतर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरुको बहससँग सहमत हुन सकिएन।’
वादी घिसिङ दम्पत्तिले घरमा रहेको नगद, गरगहना लगायतको सम्पत्ति समेत जम्मा रु तीन करोड पचपन्न लाख चालिस हजार तीनसय छपन्न दावी गरी दुईबर्ष अघि काठमाण्डौ. जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएका थिए।
स्थानीय नगरपालिकाबाट प्राविधिक निरीक्षण प्रतिवेदनबाट समेत वादीहरुको दावीको घर काम नलाग्ने गरी क्षेति भएकोले क्षतिपूर्ति दावी गरेका थिए।
वादीको घरमा भएका फर्निचर तथा अन्य सामानहरु समेत क्षति भएको भन्ने घटनास्थल मुचुल्का तथा घटनास्थलको फोटो समेतबाट पुष्टी भएको र अन्य सामानको यकिन मूल्याङ्कन नभएकोले मिसिल संलग्न प्रमाणहरुको आधारबाट घर बाहेक फर्निचर समेतको क्षेतिको मूल्य दश लाख कायम गर्न उचित देखिएको उल्लेख गर्दे सो रकम समेत भराइदिने फैसला भएको उनीहरुका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए।
विस्फोट पिडितको तर्फबाट अधिवक्ताहरु लुईंटेल, विकाश भट्टराई, किर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, रामकृष्ण बन्जारा र विशाल थापाले बहस गरेका थिए।
साविक कपन गा.वि.स.वडा नं. ५ को हाल बुढानिलकण्ड नगरपालिका वडा नं. ११ को कित्ता नम्बर १४५ को एक रोपनी जग्गामा बनेको भव्य साढेदुई तल्ले आरसीसी पक्की घर भाडावाला इलाइट हिमालयन एडभेन्चर प्रा।लि ले अनधिकृत भण्डारण गरेको ग्यास सिलिण्डर २०७९ असोज ५ मा विस्फोट हुंदा घर पूर्ण रुपमा ध्वस्त भएको थियो । सिलिण्डर ग्यासको विस्फोटनबाट भएको क्षतिको हिसाबले उक्त विस्फोटनलाई अहिलेसम्मकै सबैभन्दा भयावह विस्फोट मानिएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय, बुढालिनकण्ठ नगरपालिका लगायत सबैजसो निकायमा धाउंदा समेत भाडावाला कम्पनीले मौखिक र लिखत रुपमा क्षतिपूर्ति ब्यहोर्न कबुल गरेतापनि क्षतिको रकम नदिएको भन्दै घरधनी टंक घिसिङ र उनकी श्रीमति दालमु कित्तर घिसिङले दुष्कृतिले भएको क्षतिको रकम माग गर्दै मुद्दा दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गृहमन्त्रालयलाई आवश्यक अनुसन्धान गरी उचित क्षतिपूर्तिको लागि पहल गरिदिन सिफारिस गरेतापनि मौखिक र लिखत प्रतिबद्धताका बाबजुद पिडित घरधनीले भाडावाला कम्पनीबाट क्षतिको रकम नपाएपछि आफ्नो पक्ष मुद्दामा गएको अधिवक्ता लुईंटेलको दावी छ ।
२०७७ मंसिर १ गते १० बुंदे करार संझौता गरी घर भाडामा लिई पर्यटन व्यवसाय चलाई आएको प्रा।लि।ले मासिक तीस हजार भाडा तिर्ने र कुनै क्षति भए सो को क्षतिपूर्ति समेत आफैंले ब्यहोर्ने तथा घर दुरुस्त अवस्थामा राख्नुपर्ने दायित्व सहित करार गरी घिसिङको घर भाडामा लिएको थियो।
पर्यटन व्यवसायमा संलग्न कम्पनी र त्यसका संचालकले भाडामा लिएको घरमा अनधिकृत रुपमा ग्यास सिलिण्डर भण्डारण गरीआएका कारण घरमा विस्फोट भएको थियो।
Facebook Comment