हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन्।
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका-३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको बोहराले बताए। मृत्युको कारण भने नखुलेको पनि उनले बताए।
यस्तै तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
Facebook Comment