हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

डिसी नेपाल
२७ फागुन २०८१ २३:०५

मकवानपुर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ।

मुटुरोगसम्बन्धी उपचार सहज रूपमा प्रदान गर्ने उद्देश्यले आजदेखि कार्डियो ओपिडी सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, स्वास्थ्यमन्त्री किरण थापालगायतको उपस्थितिमा आज यहाँ सेवा शुभारम्भ गरिएको हो। मुटुरोग विशेषज्ञ डा विकेश श्रेष्ठबाट हेटौँडामा दैनिक रूपमा मुटुजाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।

क्याथ ल्याबको अभावले तत्काल शल्यक्रिया नहुने र त्यसबाहेक मुटुको सबै उपचार सेवा इसिजी, इको, टिएमटी, हल्टर, एविपीजस्ता परीक्षण यहीबाट उनले बताए।

कार्यक्रममा मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवासुविधा बढ्दै गएको बताए। प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको उनको भनाइ छ। मुख्यमन्त्री लामाले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको दाबी गर्दै हेटौँडामै मुटुको शल्यक्रिया हुनसके प्रदेशकै ठूलो सफलता हुने धारणा राखे।

स्वास्थ्यमन्त्री थापाले संघीयता लागू भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे। हेटौँडा अस्पतालको सेवाबाट मकवानपुर मात्र नभई मधेस प्रदेशका नागरिक पनि लाभान्वित भइरहेको उनको भनाइ छ। मन्त्री थापाले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले थप मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा प्रदीप ज्ञवालीले प्रादेशिक अस्पतालको सेवा विस्तारसँगै यसको निरन्तरता महत्वपूर्ण हुने बताए। अस्पतालमा कार्डियो सेवासँगै प्रतिष्ठानले क्याथ ल्याव निर्माणको काम अघि बढाउने उनले बताए।

हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा रोटरी क्लब अफ हेटौँडाले अस्पताललाई एक वर्षअघि रु ८० लाख मूल्य बराबरका मुटु परीक्षण उपकरण उपलब्ध गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *