यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले फाइन्द्रराज पाण्डेलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
उनका अनुसार बैठकले सङ्घ, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाँडफाँटको आधार विधि र हिस्सा स्वीकृत गरेको छ।
त्यस्तै, विद्युत नियमन आयोगको सदस्य पदमा भागीरथी भट्टराई (ज्ञवाली) लाई नियुक्त गर्ने निर्णय गरिएको छ। साथै, ‘रेट एनालाइसिस नम्र्स फर वर्क २०८१’ स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ।
यस्ता छन् निर्णयहरू
पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालयको छात्रावास भवन निर्माणका लागि प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी लेटर अफ एक्सचेन्ज स्वीकृत गर्ने।
नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि जापान सरकारसँग सहुलियतपूर्ण ऋण सम्झौता गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने।
स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराउने १.६८ मिलियन स्वीस फ्र्याङ्क (करीब २५ करोड ६५ लाख) अनुदान सहायता स्वीकार गर्ने।
विश्व बैंकबाट सञ्चालित विभिन्न परियोजनामा प्रतिकार्य विकल्प स्थापना गर्न वित्तीय सम्झौतामा संशोधन गर्ने।
महालेखापरीक्षक तोयम रायालाई स्पेन र थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिताका लागि स्वीकृति दिने।
विश्व बैंकको सहयोगमा सञ्चालित रणनैतिक सडक सञ्जाल सुधार परियोजनाका लागि २०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने।
थाइल्याण्डमा हुने ‘एजुकेशनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेन्ट’ कार्यक्रममा उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीलाई सहभागिता दिने अनुमति।
गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने।
माल्टामा आयोजना हुने १६ औं एनआरएनए युरोपियन रिजनल कन्फ्रेन्समा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिने।
अनुचित लेनदेन (मिटरव्याज) नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने।
तनहुँको सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अध्यक्षमा डा. बुद्धिसागर पौडेललाई खटाउने।
नागरिक उड्डयन सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गर्ने।
कान्ति बाल अस्पताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रूपमा कार्यान्वयन गर्ने।
चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने।
Facebook Comment