शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
१ चैत २०८१ ७:४६

प्रेमको जीत र हार

प्रेमको जीतमा संसारै झलमल्ल छ
हार प्रेममा हेर संसार सबै उजाड छ
हार प्रेममा मनको अंग छरपस्ट भो
कुनै कहाँ कुनै त्यहाँ सबै टुटी गयो।

जीवनको सफरमा जसलाई प्रेम गरेथें
आज त्यो संगालिएको मुटु कहाँ गयो
बगेका ती आँसु न आँखामा बस्न सके
न दुई आँखाबाट ती आँसु झर्न नै सके।

आशा फूलका पत्ता खोजी संगालेको थिएँ
त्यही फूलको पत्ताभित्र तिन्लाइ देखे थें
त्योपनि हुरी आइ उडाइ कता लग्यो
कुनै कहाँ गयो त कुनै कतै कहाँ गयो।

जित्ने प्रेमको डोरी को छ यो समाजमा
रोएका छन् सबै प्रेममा हार्ने यही संसारमा
जीत प्रेमको हेर त्यो कति मुस्कुराउँदछ
हार प्रेमको त्यो हेर त्यो कसरी ओइलाउँछ।

प्रेममै जीबन सबको छ सबैछन् यसको पछि
प्रेममै यो जीव सबको छ यही हो बढ्ने अघि
आनन्द जसमा हुन्छ संसारै हुन्छ झिलिमिली
नहुँदा प्रेम कुनै बेला लाग्छ सबै मरुभूमि सरी।

जो छन् यहाँ प्रेम जित्ने ती सबै आवाद छन्
जो छन् यहाँ प्रेममा हार्ने ती सबै बरबाद छन्
हुँदा प्रेमको माया सबैको शून्यता हराउँछ
नहुँदा प्रेमको माया जीवन नीशा बनाउँछ।

प्रेममा जित्नेहरु गुलाबजलमा पौडी खेल्दछन्
यही प्रेममा हारनेहरु आगोमा जली मर्दछन्
तसर्थ प्रेमको दीयो बलीरहोस् यो छोटो जीवनमा
हार प्रेमको नहोस् कहिले यो जीवनको सफरमा।

मन चस्स दुखिहाल्छ यदि यो प्रेम छैन भने
सारा रोग मिटीहाल्छ यदि यो प्रेम रह्यो भने।

आँसुको आत्मब्यथा

आखा दूर दृष्टि हो सारा संसार देखिने
यहीबाट हो सारा सुख दुःखको आँसु बहने
नखसोस आँसु सबको संसारमा कसैकोपनि
नझुकोस शीर कस्सैको संसारमा सबैको अनि।

कसैको प्रेमको यादमा आँसु कस्सैको न खसोस्
जलोस बरु नदीको पानी यो मन कस्सैको नदुखोस्
मिलनमा कहीं बिछोड होला आँसु त्यो नबगिदियोस्
बिछोड पछिको मिलन सिन्धुमा त्यो आँसु नबगीरहोस्।

सम्झना मनमा त्यो क्षणको आइ आँसु बगाउँछ
हरेक पल पलमा उनको याद आइ सताउँछ
आँसु बगाई के गर्नु जति आँसु बगेपनि
बुझ्दैनन् यसको मूल्य जति अनमोल भएपनि।

मेरो लक्ष्य तिनीदेखि टाढा नै हुनु नै थियो
तिनी आफैं टाढा भइदिइन यस्तै हुनुनै थियो
रोई रोई मन मेरो भन्छ टुटेको यो मनले
अब मेरो नाम पनि नराख त्यो मनमा तिमीले।

आँसु घरको छानो तपतपी तल खस्दछ
बेगमा मनको आगो म भित्र भित्रै बल्दछ
आँसु बगाई बस्नेछु म तिम्रो यादमा सधैं
खसेको आँसु थाप्छु तिम्रो लागि सधैं सधैं।

आँसु एक जीवनको अमूल्य मन फूल हो
त्यै आँसु फेरि त्यो प्रेमको धन तुल्य हो
म हाँस्दा आँसु छल्किइ यो तल खस्दछ
रुँदा मेरो आँसु दुःखी बनि भुईंमा झर्दछ।

आँखाबाट तर्किन्छ आँसुको बनी दह
कसैले सोध्न सक्तैनन् यस कारणको बह
रोकी आँसु म भन्नेछु यो जीवन भरी यहाँ
बगेका आँसुका धारा पुग्छन् मोती बनी जहाँ।

बेदना आँसुका धारा नखसेको कहाँ छ र
सुखको आँसुका तारा नझरेको कहाँ छ र
आँसु सन्तोसको ज्वाला नफुटेको कहाँ छ र
आँसु बहारको बर्षा नभएको कहाँ छ र।

आँसु जीवनको साथी सुखदुःखमा रमाउने
त्यो आँसु पिइ बस्दामा सुख दुःख बिर्साउने
आउने पिँढीकोलागि यो आँसु नबनोस् दुःखी
सदा सबै खुलेर हासुन आँसु बनोस् झन् सुखी।

सदा सबै खुलेर हाँसुन आँसु बनोस् झन् सुखी
त्यो कति अनमोल छ
प्रेम अमरको हेर त्यो कति पवित्र धाम छ
प्रेम अमरको हेर त्यो कति पवित्र धाम छ।

चंचल मन

मन एक घोडा हो यो दौडिन्छ जहींकहीं
तृष्णा मनको प्यासी भड्किन्छ कहींकहीं
भन, म गीत के गाउँ यो तिम्रो तरंगमा
दुःखको गीत के गाउँ यो सुखी संसारमा।

गाउँ म मनको गीत या आँसु पिइजाउँ
यो मेरो मनको ब्यथा कसलाई सुनाउँ
जति मनलाई बाँध्छु उति यो फुत्किजान्छ
भित्र मनमा रहेको पीडा ढुंगा भई हाल्दछ।

फोडुँ त कसरी फोडुँ यो मुटु भित्र भित्र छ
बिर्सुं कि बिर्सुं भन्दामा गलामा आइ बस्तछ
यो मनभित्र कता केछ त्यो म भन्न सक्तिन
आँखा भरीको त्यो आँसु सजिलै झार्न सक्तिन।

जति म यो मनलाई पिँजडा भित्र राख्दछु
उती यो बाहिर आउँन खोज्द छ
आँखामा आँसुका दाना असिना बनी झर्दछ
जमेको आँसुको दाना म फेरि उठाउँछु।

मनका धेर ति आशा मनैभित्र लुकाउँछु
निन्द्रामा जब यो सुत्छ म रुन्छु रातमा पनि
लाग्छ कहिलेकाहीँ सूर्य नै न उदाओस् भनी
मुखको यो झुठो मुस्कान म कति सजाउँ।

यो रातको शून्यतामा म कति सम्झाउँ
स्थिर मनको दियो म कैले देख्न पाउँछु
जीव र आत्मालाई म एक हेर्न पाउँछु
बाँचौं त यसरी बाचौं सबै संसार मेरो रहोस्।

मरौं त यसरी मरौं यो जगतमा कोही नहोस्
इच्छा जीवनको उर्जा हो यो सबैले उभारुन्
नराखी आखिरमा इच्छा गोलोकमा सबै जाउन्
मनै हो मनको तृष्णा यो रोकिन्नन बाचुन्जेल।

एकको पूर्तिमा अर्को आउनेछ जीवन रहुन्जेल
मनको दुःखमा आँसु आँखाबाट झर्दछ झर्झरी
मनको सन्तोसमा फेरि खस्तछ गुलाब जलसरी
मन मागको पात्र हो यो मागिरन्छ सधैं भरी।

इच्छा पूर्ति न भएमा यो खुम्चिन्छ बेसरी
यो कस्तो पिँजडा हो जो भित्रको दुबलो चरा
खाई तृप्त नहुने कैले यो मागी रहन्छ बिचरा
आशा उमंग थुप्रा छन् ती पूर्ति नहुने गरी।

तैपनि यो बिचरो मन खोजी हिँड्छ घरिघरी
भो चाहिन्न यस्तो मन् जो सदा अभाबमा रहोस्
बनिन्न कहिले मालिक जो ईश्वरबाट पर रहोस्
बनिन्न कहिले मालिक जो ईश्वरबाट पर रहोस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *