ट्रम्प कुटनीतिले ल्याएको सुनामी

केही हप्ता पहिले वासिङ्टनस्थित अमेरिकी राष्ट्रपतिको औपचारिक कार्यालय ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भिलादिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै उपराष्ट्रपति जेडी भान्स बीच निकै चर्को वादविवाद भइरहेको भिडियोको प्रत्यक्ष प्रसारण विश्वभरका मानिसले हेरे।
सो समयमा ह्वाइट हाउसको सो राष्ट्रपतिय कार्यकक्ष ओभल अफिसमा अमेरिकी उच्च अधिकारीका साथै पत्रकारहरूको पनि उपस्थिति थियो। युक्रेन र रुसबीचको युद्धको लागि सदाझैं ठूलो परिमाणमा युद्ध सामग्रीको सहयोग पाउने अपेक्षाका साथ त्यहाँ पुगेका जेलेन्स्कीले त्यस्तो सहयोगको वापत यो पटक उनको मुलुकमा भेटिएका निकै गहकिला खनिजहरू उत्खनन र प्रशोधन गर्न अमेरिकी कम्पनीहरूलाई अनुमति दिने सम्झौतामा हस्ताक्षर सम्मको योजना पनि रहेछ।
यो बारेमा जेलेन्स्कीसँग यो भन्दा पहिलेको कुराकानी त्यति सकारात्मक नभएकोले अमेरिकीहरू उनी प्रति रुष्ठ रहेको कुरा पनि सुन्नमा आएको थियो भने सो दिनको घटना उनलाई धम्क्याउने प्रयास पनि हुन सक्ने देखिन्छ।
खनिज प्राप्तिको बारे के कस्ता कुराकानी भएका थिए भन्ने प्रष्टसँग थाहा नभए पनि त्यस पछिको सिधा टेलिभिजन प्रसारणमा भने जेलेन्स्कीले सुट नलगाएको तितो प्रसङ्गदेखि उनले तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको सम्मको आरोप अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले लगाए र उनीहरू बीचको कुराकानी छोट्याएर फर्कने वातावरण सिर्जना गरिदिए। त्यहाँबाट युरोपको भ्रमणमा रहेका उनलाई युरोपेली मित्रहरूले भने सहानुभुति प्रकट गरेका थिए।
यसरी विश्वले नै देख्ने गरी कुनै मुलुकको राष्ट्राध्यक्षले अर्को देशको राष्ट्राध्यक्षको गालीबेइज्जती सहनु परेको कुरा विश्वको आधुनिक इतिहासमा कतै सुनिएको थिएन। हो हिटलरले दोस्रो विश्वयुद्धको शुरुवाती चरणमा अष्ट्रियाका नाजीहरूलाई त्यहाँका राष्ट्रपति एङ्गलबर्ट डोलफसलाई गोली हानी मार्न लगाएर खुलेआम हत्या र हिंसाको सिलसिलालाई वैध बनाइ दिएका थिए।
यद्यपी त्यतिबेलाका हिटलर तथा मुसोलिनी जस्ता निकै क्रुर शासकका ज्यादतीसँग आजको सभ्य समाजमा हुने घटनालाई त दाँज्नै मिल्दैन। तर आजसम्म पनि त्यसरी राज्यस्तरमा नै शासकहरूको हत्या-हिंसा गर्ने प्रपञ्च यदाकदा रच्ने गरिन्छ नै।
तर पनि अमेरिका जस्तो विश्वको सबैभन्दा शक्तिशाली, सभ्य तथा समृद्ध मुलुकको राष्ट्रपतिले विना कुनै शिष्टता आफ्ना पाहुना र मित्रराष्ट्रका राष्ट्राध्यक्षको मानमर्दन गरेको दृश्य करोडौँ मानिसहरूले टेलिभिजनमा देख्दा आजको एक्काइसौँ शताब्दिको विश्व कुटनीतिमा कस्तो विकृति जन्मन थालेको रहेछ भनेर चिन्ता हुनु अति नै स्वाभाविक हो।
जेलेन्स्कीसँगको वादविवादकै क्रममा अमेरिकी पुर्वराष्ट्रपतिहरूलाई पनि उनको कुटनीति गलत भएको भन्दै गाली बेइज्जती गरेर अमेरिकाको गौरवमा आँच आउने काम गरेको आरोप पनि त्यहाँ लगाइयो। तर आफ्नै घरका अग्रजहरूलाई गाली गरेर आफ्नो समेत मान घटेको कुरा उनीहरूले बुझ्न सकेनन्।
जेलेन्स्कीले पनि पछिल्लो केही समयदेखि जोसुकै पश्चिमा वा अमेरिकी उच्च अधिकारीसँग भेटे पनि सैन्य सामग्रीको मात्र माग गर्ने गरेको र रुसजस्तो विशाल मुलुक तथा त्यहाँको राष्ट्रपति भ्लादिमिर पुटिनलाई तथानाम गाली गर्ने तथा रुसलाई परास्त गर्न सक्छु भन्ने मुर्खता प्रकट गर्ने गरेकै थिए र ती पश्चिमा मुलुकहरूको अन्ध समर्थन प्राप्त गर्न सफल भएको कारण उनी पुल्पुलिएको बच्चा समान व्यवहार गर्न पनि थालेका थिए।
आफ्नो मुलुकका एक लोकप्रिय हाँस्य कलाकार रहेका उनमा वौद्धिक क्षमताको कमी रहेको त उनका अभिव्यक्तिहरूबाट प्रष्ट नै हुन्छ। उनी जे जस्ता भएता पनि पुरा विश्वले नै देख्ने गरेर एउटा उच्चपदस्थ विदेशी पाहुनालाई सञ्चारकर्मी सामु हिह्याएर र गाली गलौज गरेर पठाउनु भनेको एक सभ्य र विश्व कै अति शक्तिशाली राष्ट्रको लागि सुहाउने काम भने थिएन।
हुनत यस्ता घटनाहरू पर्दा पछाडि निकै नै मञ्चन हुने गर्दछन्। ठूला राष्ट्रका उच्च पदाधिकारीले साना मुलुकका समकक्षीहरूसँगको वार्तामा होच्याएको, गालीगलौजपूर्ण वचन बोलेका कुरा बारेका हल्लाहरू सुन्न पाइन्छ र विभिन्न व्यक्तिका आत्मवृत्तान्तहरूमा समेत यस्ता कुरा पढ्न पाइन्छ। तर यसरी सिधा प्रसारण मार्पmत पुरै विश्वले देख्ने गरी भएको यो घटना भने पहिलो नै हो।
नेपाल र भारतबीच हुने विभिन्न तहका वार्ताहरूमा पनि भारतीय पक्षले नेपाली पक्षलाई हप्काउने गरेको, नेपाली पक्ष विना गृहकार्य वार्ताहरूमा भाग लिने गरेको, नेपाली प्रधानमन्त्रीहरूका बकम्फुसे कुरा सुनेर भारतीय समकक्षीहरू आक्रोशित भएका कुराहरू बेला बेलामा नसुनिएको पनि होइन।
तर त्यस्ता घटनाहरू सबैका सामु भने प्रस्तुत हुँदैनन्, त्यसैले हाम्रा नेताहरू उता जे व्यहोरेर आएको भए पनि हामी आमजनताको अगाडि ठूला ठूला कुरा गरेर आफ्नो साख जोगाउने प्रयत्न गर्दछन्। भारतका जवाहरलाल नेहरु, लालबहादुर शास्त्री, इन्द्रकमार गुजराल, मनमोहन सिंह जस्ता कैयन् शालिन प्रधानमन्त्रीहरूले नेपालजस्तो सानो मुलुकका राजा वा प्रधानमन्त्रीलाई होच्याएर कुरा गर्दैनथे। ठूलाले सानाको मान राख्न पनि संस्कारको आवश्यकता पर्दछ।
अमेरिकी राष्ट्रपतिको युक्रेन-रुस युद्ध विराम गर्ने चाहना निकै सह्राहनीय कुरा थियो तर एक्कासी अमेरिकासँगै पनि राम्रो सम्बन्ध नभइ रहेको रुससँग कुनै किसिमको वार्ता विनै अमेरिकी दवावको भरमा युद्ध विरामको लागि तत्पर हुने घोषणा गर्न जेलेन्स्कीलाई निकै कठीन थियो।
पहिला आफ्नै मुलुकको वौद्धिक, कुटनीतिक र राजनीतिक वृत्तसँग सल्लाह गर्नु पर्यो, आफ्नो साथ दिइरहेका छिमेकी राष्ट्रहरूसँग उनको राय लिनु पर्यो, आफ्ना जनताको विचार बुझ्नु प¥यो अनि भित्र भित्र रुसको आसय पनि बुझ्नु पर्यो। राजनीतिमा यो सब कुरा हुन त्यति सजिलो हुँदैन।
हाल जेलेन्स्की आफ्नो मुलुकमा युद्धसंकटको वातावरण भएकोले विना निर्वाचन राष्ट्रपति भएर शासन गरिरहेका छन् र उनका प्रतिद्वन्दीहरूले उनको विरोधमा बोल्ने कुनै बाटो नै छैन। युद्धकै कारण लोकप्रियता बढेर सत्तामा टिकिरहेको यस्तो बेलामा उनले युद्धविरामलाई पनि आफ्नो जितको अवसर नबनाई एक्कासी कुनै कदम चाल्न उनलाई गाह्रो पर्दछ।
तर युक्रेनको युद्धमा सबैभन्दा बढी सघाएको अमेरिकाको दवावलाई नमान्ने हिम्मत पनि जेलेन्स्कीमा नभएको र त्यहाँका विपक्षी दलका नेताहरूसँग अमेरिकी अधिकारीहरूको निर्वाचन बारे कुरा चलिरहेकोले पनि उनले अमेरिकासँग क्षमाचायना समेत गरेर युद्धविराम र खनिज बारेको सम्झौतामा आफु तयार रहेको कुरा सार्वजनिक गरेका छन्।
विश्वमा ठूलाको हैकम मानेर उनको पछि पछि सानाले हिँड्नु पर्ने परिपाटि निकै पुरानो हो। ठूला जनावरसँग सानाले डराउनु पर्ने, भागेर हिँड्नु पर्ने तथा समाजका ठूलाठालु भनाउँदालाई साना बनाइएकाले पुज्नु पर्ने नियम पनि पुरानै हो र आज विश्वमा जति नै आधुनिकताको कुरा गरिने भए पनि यिनै यर्थाथमा नै विश्व चलिरहेको छ।
ठूला हुनको निम्ति पहिले जस्तो आकार ठूलो भएर मात्र पनि हुँदैन। धन, शिक्षा, संस्कार, प्राकृतिक श्रोत-साधन, प्रविधि, जनसंख्या, सैन्य शक्ति जस्ता यावत कुरामा उत्कृष्ठ हुन सक्नु पर्दछ।
विश्वका कतिपय मुलुकहरू निकै साना छन् क्षेत्रफलको आधारमा तर तिनीहरू निकै समृद्ध, शिक्षित, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तथा आर्थिक विकास र राष्ट्रियतामा प्रतिवद्ध र कुतनीतिक हिसाबले पनि निकै चतुर भएकाले आजको विश्वको शक्तिको होडवाजीमा आफुलाई अग्रपंक्तिमा राखेर अघि बढ्न सकेका छन्।
विश्व इतिहासको विभिन्न कालखण्डमा कहिले कुन क्षेत्रको मुलुक विशाल र शक्तिशाली भएको छ भने कहिले अर्कै कुनै क्षेत्रको मुलुक। हिजोको विशाल क्षेत्रफलमा फैलिएको मुलुक टुक्रिएर ससाना मुलुकमा विभाजित हुन पुगेको छ। विश्वको राजनीतिक भूगोलमा व्यापक परिवर्तन हुँदै नयाँ नयाँ रूपमा राष्ट्रहरूको उदय भएर शक्तिको समिकरण बदलिने क्रम जारी नै छ।
विगत डेढ–दुई सय वर्षमा विश्वको राजनीतिक ढाँचामा विभिन्न विचार तथा विज्ञान–प्रविधिको अथाह प्रयोगका कारण संसारमा निकै ठूलो बदलाव आएको छ। विगत सय वर्षमा विश्वमा दुई वटा ठूला युद्धहरू भए भने महामारी, वर्गसंघर्ष, मुलुक मुलुक बीचको द्वन्द्व, शीतयुद्ध र अन्य राजनीतिक खेलहरूले गर्दा विश्वको राजनीतिक नक्शा बदलिने क्रम जारी छ।
कुनैबेला विश्वको अधिकतम क्षेत्रफल ओगटेर आफ्नो साम्राज्य फैलाउन सफल बेलायत आज आफ्नो सानो बचेखुचेको भुभागलाई जोगाएर राख्न पनि उसलाई हम्मे हम्मे परेको छ।
एकातिर भारतजस्तो धेरै राज्यमा विभाजित मुलुकलाई विशाल बनाउन बेलायतको योगदान रह्यो भने अर्को तर्फ फैलिँदै गएको नेपाललाई कुण्ठित बनाएर अझै सानो पार्नमा पनि उसैको हात रह्यो। तथापि विशाल साम्राज्य बनाएर विगतमा कमाएका अकुत धन-सम्पत्ति र हालको प्राविधिक तथा आर्थिक फड्कोको कारण पनि उ र अधिकांश युरोप आज निकै समृद्ध र शक्तिशाली छन्।
आजको विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाको नेतृत्वमा बनेको सुरक्षा गठबन्धन ‘नेटो’ तथा अन्य आपसी फाइदाका संस्थाहरूमा आवद्ध यी ससाना युरोपेली राष्ट्रहरू सामुहिक रूपमा आफ्नो सुरक्षा कायम राख्ने कुरामा प्रतिवद्ध छन्। एकातर्फ समृद्ध मुलुकहरूको नेतृत्व अमेरिकाको हातमा छ भने अर्को महाशक्ति राष्ट्र रुस आज पनि त्यतिकै शक्तिशाली छ।
आज चीन विश्वका विपन्न राष्ट्रहरूको आर्थिक विकासको आशा बनेको छ भने चीन र भारत आउँदा केही दशकभित्रै विश्वका अर्का महाशक्ति राष्ट्रका हाराहारीमा पुग्ने गरी उदाउँदै जाने लक्ष्यका साथ अघि बढिरहेका छन्।
क्षेत्रफलका साथै जनसंख्यामा पनि अति ठूला यी राष्ट्रहरू विज्ञान तथा प्रविधिमा निकै अगाडि र आर्थिक वृद्धिदरमा पनि अघि बढ्दै गएका राष्ट्र हुन्। अमेरिका, युरोप र आजका सबै विकसित मुलुकहरूले चीन र भारतलाई निकट भविश्यका ठूला प्रतिष्पर्धीको रूपमा लिन थालेका छन्।
खास गरी दोस्रो विश्वयुद्धको अन्तपछि संसारभरका साना ठूला राष्ट्रहरूको अस्तित्व तथा सम्मान र प्रतिष्ठाको निम्ति संयुक्त राष्ट्रसंघ लगायत विभिन्न संस्था, राष्ट्र र तिनका विभिन्न गठबन्धनहरू बनेर विश्वलाई शान्त, समृद्ध र सुन्दर बनाउने प्रण गरिएको थियो।
तर बिस्तारै विश्व विभिन्न राजनीतिक ध्रुवमा विभाजित हुँदै गएर पुनः शीतयुद्ध र अन्य राजनीतिक द्वन्द्वमा फँस्दै गयो भने समृद्धि र आर्थिक विकासको नाममा प्रकृतिको चरम दोहनको कारण आज विश्व विषम मौसम परिवर्तन र प्राकृतिक प्रकोपको मारमा पर्दै गएको छ।
अमेरिका लगायत सम्पुर्ण विकसित मुलुक र चीन, भारत जस्ता विकासशील राष्ट्रहरूको औद्योगिक र आर्थिक विकासको वृद्धिले गर्दा पृथ्वीको प्राकृतिक नियम छिन्न भिन्न हुँदै गएको छ। हालै ट्रम्पले विश्व पर्यावरण सुधारका कदममा अमेरिकाको कुनै चाख नभएको मनसाय व्यक्त गर्दै यो कार्यमा आफ्नो मुलुकको साथ नरहने जस्तो गैरजिम्मेवारीपूर्ण राय प्रकट गरे।
विश्वको पर्यावरण खस्किँदै गएको आजको समयमा पनि अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेन, ग्रिनल्याण्ड, क्यानाडा जस्ता प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुकहरूमा आफ्नो प्रभाव पारेर खनिज उत्खननको नाममा राजनीतिक दवाव दिन सबै प्रकारका रणनीति अपनाइरहेका छन् भने विश्व स्वास्थ्य संगठन जस्ता विपन्न वर्गका संरक्षक संस्थालाई दिने गरेको आर्थिक सहयोग रोकेका छन्।
उनी हालै दोस्रो पटक राष्ट्रपति हुने वित्तिकै क्यानाडा, ग्रिनल्याण्ड र मेक्सिको जस्ता राष्ट्रलाई अमेरिकामा समाहित गर्ने तथा पानामा नहरको नाम परिवर्तन गरेर ‘अमेरिकन नहर’ राखेर यसलाई सैनिक कार्वाही मार्पफत भए पनि आफ्नो अधीनमा ल्याउने र गाजाबाट सम्पूर्ण प्यालेस्टाइनीहरूलाई स्थानान्तरण गरेर सो भूभाग इजरायल मार्फत आफ्नो सुरक्षा घेराभित्र ल्याएर स्वेज नहरको विकल्पमा अर्को विशाल नहर त्यहाँबाट बनाउने जस्ता एकतर्फी सोचमा अडिग भएका छन्।
आजको युगमा यस्तो प्रकारको सोच दोस्रो विश्वयुद्धताका जर्मनीका शासक एडल्फ हिटलरले वाहेक सायदै कसैले सार्वजनिक गरेका थिए। स्वयम् अमेरिका कै वौद्धिक वृत्तमा ट्रम्पका हैकमवादी अभिव्यक्तिहरू त्यति रुचाइएका छैनन्।
हिटलर र नाजीबाट सबैभन्दा बढी पिडित भएका यहुदीहरूलाई स्थायी बसोबास गराउन निकै विवादास्पद तवरले मध्यपूर्वमा एउटा भिन्दै राष्ट्र ‘इजरायल’को स्थापना गरेको अमेरिकाले यसको विकास र समृद्धिको निम्ति निकै धनराशी र शक्ति खर्चेको छ। निकै मेहनती इजरायलीहरूले आज आफ्नो मुलुकको स्थापना भएको करिव ८० वर्षमा ठूलो आर्थिक विकास गरेर आफुलाई विकसित राष्ट्रको पंक्तिमा पुर्याएका छन्।
इजरायलको अस्तित्व कै कारण प्यालेस्टाइनीहरू आजसम्म पनि मुलुकविहिन भएका छन् भने सम्पुर्ण अरव मुलुकमा एक प्रकारको दीर्घकालिन अशान्ति र यसबाट जन्मेको आतंकवादले त्रसित तुल्याएको छ।
हालैको हमासको आतङ्क र आमअपहरणका कारण आक्रोशित हुन पुगेको इजरायलले उसको स्थापनादेखि आजसम्म कै सबैभन्दा ठूलो सैन्य कार्वाही र धनजनको संहारमा आफुलाई एक क्रुर राष्ट्रको रूपमा प्रस्तुत गर्यो।
त्यति मात्र होइन, उसले संयुक्त राष्ट्रसंघको लेवनानस्थित एक कार्यालयमा पनि बमबारी गर्यो र राहत सामग्री वितरण गर्ने कार्यलाई पनि नकारात्मक रूपले प्रभावित गरायो। कुनै बेला आफैंले भोगेको जर्मनीको नरसंहारलाई इजरायलले आज बिर्सेर त्यसरी नै बालबालिका, वृद्धवृद्धा, युवायुवती र सम्पुर्ण भौतिक संरचनाको विनासमा उ उत्रेको छ। तर पनि उसको समर्थनमा अमेरिका र सो खेमाका अन्य विकसित राष्ट्रहरू रही रहेका छन् भने नेपाल लगायत दर्जर्नौं पिछलग्गु हुन वाध्य मुलुकहरूले मौन समर्थन गरेका छन्।
नेदरल्याण्ड्सको हेगमा अवस्थित संयुक्त राष्ट्रसंघको मातहतको अन्तर्राष्ट्रिय न्यायालयले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु लगायत हमासका नेताहरूलाई नरसंहारकर्ताको आरोप लगाउँदा पनि अमेरिका र युरोपको आशिर्वाद पाइरहन नेतान्याहु सफल भए र ट्रम्प राष्ट्रपति निर्वाचित भएर दोस्रो पटक कार्यभार सम्हाल्ने वित्तिकै उनलाई भेट्ने प्रथम विदेशी सरकार प्रमुख उनै हुन पुगे।
उता बेलायतले पनि युक्रेनको युद्धमा घाइते भएका त्यहाँका बालबालिकाहरूलाई युद्धपिडितको संज्ञा दिएर उपचारको निम्ति आफ्नो मुलुकमा आउन दियो भने प्यालेस्टिाइनी बालबालिकाहरूलाई बेलायतमा आउन रोक लगायो।
विश्वका समृद्धतम मुलुकहरूले यसरी खुल्लम खुल्ला मानवता माथि भेदभावपूर्ण कार्य गर्दा पनि उनीहरूको शक्ति र समृद्धिको अगाडि झुक्न र अन्देखा गरेर बस्न बाँकी विश्व वाध्य हुनु परेको छ।
खुला अर्थतन्त्रको वकालत गर्ने प्रमुख राष्ट्र अमेरिकाले आफ्ना उद्योगधन्दाले अन्य मुलुकका उत्पादनसँग प्रतिष्पर्धा गर्न नसके पछि विदेशी वस्तुको आयातमा करको दायरा ह्वात्तै बढाएर डब्लुटीओको सिद्धान्तलाई लत्याएको छ।
हाल उसको क्यानाडा, मेक्सिको, चीन तथा अन्य धेरै देशसँग व्यापार युद्ध नै शुरु भएको छ। तर नेपाल जस्ता विपन्न मुलुकमा भने आफ्ना उत्पादनलाई विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न लगाएर आफ्नो कृषि र उद्यमलाई धरासायी बनाउने काम भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पाहुना जेलेन्स्कीलाई आफ्नै कार्यकक्षमा बोलाएर गरेको अपमानका कारण आज अमेरिकाका निकट मित्रराष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख पनि उनलाई भेट्न ह्वाइट हाउसमा जान हिच्किचाउन थालेका छन् भने विपन्न र साना राष्ट्रका उच्च पदाधिकारी त त्रसित नै भएका छन्।
ह्वाइट हाउसको त्यो घटनाले विश्वभरकै ठूला राष्ट्रहरूलाई आफ्ना साना छिमेकीहरूलाई खुलेआम धम्क्याउने र गालीगलौज गर्ने प्रोत्साहन दिएको छ। शालिन र समझदार ठूला राष्ट्रप्रमुखहरूले त्यस्ता गलत कुटनीतिलाई नपछ्याउलान् तर अहङ्कारी राष्ट्रप्रमुखहरूले भने ट्रम्पका गल्तीलाई गीता मानेर छिमेकी समकक्षीहरूको अपमान गर्न पनि पछि नपर्लान्।
जे होस् साना राष्ट्रका राष्ट्र र सरकार प्रमुख तथा अन्य उच्च पदाधिकारीले पनि आफ्नो मान आफैं राख्न सिक्नु पर्दछ। ठूला समकक्षीलाई आदर गर्न र उनीहरूसँगको वार्तामा यथाचित गृहकार्य गरेर बोल्न तथा कुटनीतिक चातुर्यताको प्रदर्शन गर्न जान्नु पर्दछ।
-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment