१५ गते वृहत् विरोध सभा र प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चाको बैठकले आगामी चैत १५ गते बृहत् विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत्र १५ गते बृहत जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
देशको परिस्थिति जटिल बनाउने प्रयास भइराखेकाले गणतन्त्र पक्षमा मोर्चाले प्रदर्शन गर्न लागेको उहाले जानकारी दिए। त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत्र २ गते शनिबार बिहान ११ बजे अन्तक्र्रिया गर्ने र छलफल सकिए लगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिने तय भएको उनले बताए।
बैठकले संसदवादी दलहरु र बाहिर रहेका राजनीतिक दल र नेताहरुसँग छलफल गर्ने, राष्ट्रियताको स्वाधिनता र गणतन्त्र रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल अघि बढाइने निर्णय भएको विश्वकर्माले जानकारी दिए। बैठकले राजावादीहरुको सक्रियता मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ।
‘१५ गते विरोध सभा र विरोध प्रदर्शनको कुरा छ। त्यसलाई भव्य बनाउने, हजारौं जनताको सहभागितालाई सुनिश्चित गर्ने र अहिले जसरी प्रतिगामी कदम र हर्कतहरु बढिराखेका छन्, त्यसलाई असफल गर्नेगरी १५ गतेको कार्यक्रमलाई सफल बनाउने निर्णय गरिएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै विश्वकर्मा भने।
मोर्चाले अहिले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको र विषय एकदमै गम्भीर रहेको निष्कर्ष निकालेको छ। विरोध प्रदर्शनको कार्यक्रमअघि मोर्चाले भोलि बिहान ११ बजेदेखि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ । अन्तरक्रियापछि मोर्चाले पत्रकार सम्मेलन आयोजना गरेको छ। भोलिको दुवै कार्यक्रम कुपण्डोलस्थित होटल हिमालयनमा हुँदैछ।
‘अस्ति हामीले कार्यक्रमको बारेमा केही सोचेका थियौं र केही भनेका पनि थियौं । ती कार्यक्रमलाई भोलि अगाडि बढाउने सोचिएको छ। भोलि विहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया र उहाँहरुसँगको परामर्श सुरु हुने छ। दुई साढे दुई घण्टासम्म त्यो कार्यक्रम चल्छ,’नेता विश्वकर्माले भने।
संसद्वादी दल र संसदीय राजनीतिभन्दा बाहिर रहेका दलहरुसँग पनि छलफल बढाउने, भेटघाट र वार्तालाई अगाडि बढाउने निर्णय भएको पनि उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको वक्तव्य र त्यसपछि उनी पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले बनाएको माहोललाई लिएर दलहरु आत्तिएका छन् । देशमा प्रतिगमनको खतरा बढेको दलहरुको निष्कर्ष छ।
Facebook Comment