नियात्रा

नडुब्नू है न्युअर्लियन्स

खेमराज पोखरेल
१ चैत २०८१ ७:४७

होटलमा एकछिन सुस्ताएपछि सुशा र म फेरि पैदल टन्डेली यात्रामा निस्केका छौँ। गाइड गुगल नक्सा छ। यसले बाटो पनि देखाइरहेको छ, सूचना पनि दिइरहेको छ।

होटलबाट बाहिर निस्कँदा वातावरण चिसो भए पनि झलमल्ल घाम लागेको छ। न्युअर्लियन्सको डाउनटाउनका गगनचुम्बी भवनका चेपबाट हिँड्दा घामका पाइलाहरू अलि परपर मात्र देखिएका छन्। तर कतै दुई भवनका दोगबाट घामका पाइलालाई घरीघरी स्पर्श गर्न पाउँदा छुट्टै अनुभूति भइरहेको छ।

गुगल नक्साले लफायत स्क्वायर नामक पार्क पुर्याएको छ। पार्ककै गेटमा एउटा गजबको धातुबोर्डको तस्बिर खिच्दैछु र पढ्दै पनि छु। लेखिएको छ-अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक मार्कोस दे लफायतको सम्मानमा सन १७८८ मा बनेको हो। न्युअर्लियन्स लुइजियाना।

म यो बेला लफायतको बारेमा सोचिरहेको छु। मेरा मनमा खुल्दुली भइरहेको छ कि मैले कक्षा कोठामा फ्रेन्च रिभोल्युसनका सन्दर्भमा पढेका तथा पढाइएका लफायतलाई नै यो न्युअर्लियन्सले स्वागत गरेको हो कि अर्कै कुनै लफायत हो ? तर मैले पढे÷पढाएको लफायत नै ती अमेरिकी स्वतन्त्रता सङ्ग्रामका नायक रहेछन्।

हाँस उठिरहेको छ कि मेरा गुरुहरूले पढाउँदा पनि ‘लफायते’ भनेर पढाउनु भयो। आफूले गुरु भएर पढाउँदा पनि ‘लफायते’ नै भनेर पढाइयो। मेरो इतिहासको ‘लफायते’ लफायत पो रहेछ।

इतिहासमा पानामा पढाएको सम्झिरहेको छु। लफायत फ्रान्सेली भारदार थिए। फ्रान्सको मिलिटरी अफिसर थिए। लफायत फ्रान्सको इस्टेट जेनरल नामक संसदको सदस्य निर्वाचित भएका थिए। युरोपको इतिहासमा फ्रान्सलाई भुइँमुसो र बेलायत पानीमुसो भनिन्थ्यो।

एकअर्काका सर्वकालिक शत्रु थिए। फ्रान्स भुइँयुद्धमा कसैगरी हार्दैनथ्यो। बेलायत जलयुद्धमा कसैगरी पनि हार्दैनथ्यो। बेलायत तथा फ्रान्सको उपनिवेस अमेरिकामा थियो। त्यसैले सन १७७५ देखि १७८३ सम्म भएको अमेरिकी स्वतन्त्रता सङ्ग्राममा भाग लिएर फ्रान्सको अमेरिकामा भएको उपनिवेसलाई जोगाउन लफायत अमेरिका पुगेका थिए।

उनी न्युअर्लियन्समा बस्थे। युद्धमा उनले बेलायतका विरुद्ध अमेरिकी सेनाको नेतृत्व गरेर युद्ध गरेका थिए। र, अमेरिकाको योर्कटाउनलगायत धेरै भूमि संयुक्त राज्य अमेरिकामा गाभेका थिए। अमेरिकाले सन १८०३ मा लुइजियानालाई किनेपछि लफायतको प्रशिद्धि देखेर अमेरिकी सरकारले प्रथम गभर्नर बन्न अनुरोध गरेको थियो।

तर उनले मानेनन्। र पेरिस फर्केका थिए। सन १८२४ मा अमेरिकी राष्ट्रपति जेम्स मुरोले लफायतलाई विशेष सम्मानका साथ राष्ट्र तथा राष्ट्रपतिको पाहुनाका रूपमा अमेरिका बोलाएका थिए।

उनी अमेरिका पुगेर त्यो बेला अमेरिकाको अधीनमा रहेका २४ राज्य घुमेका थिए। २० मे १८३४ मा उनको देहावसान पेरिसमा भएको थियो। उनलाई द हिरो अफ द टु वल्र्ड भनिन्छ। उनको नाममा लुइजियानामा एउटा लफायत नामको सहर तथा लफायत विश्वविद्यालय स्थापना गरिएको छ।

मनमनमा फ्रान्सका नागरिक तथा अमेरिकी सेनाका एकपल्टका योद्धा लफायतलाई अमेरिकामा धेरै श्रद्धा गरेको देखेर आश्चर्य लागेको छ। त्यसो त अमेरिकी समाजले सेना भनेपछि भेटरान भनेर अगाध स्नेह व्यक्त गर्छ।

हाम्रो नेपालमा जस्तो ‘डन्ठे’ भनेर अपहेलना गर्दैन। वास्तवमा यो पृथ्वीको राजनीतिक कित्ताकाट गर्न वा राज्यको स्वतन्त्रताको सुरक्षा गर्न यिनै ज्यानको बाजी लगाएर युद्धमा होमिने सैनिकको नै ठूलो भूमिका रहेको हुन्छ। यो कु्रा बिर्सनु महापाप हो।

हामी हिँडिरहेका छौँ। हिँड्दै जाँदा हार्मोनी सर्कलमा पुगेका छौँ। वरिपरि पिचबाटो र बिचमा एउटा सानो पार्क। पार्कका बिचमा अग्लो स्मारक। पार्कभित्र प्रवेश गरेका छौँ। स्मारकको पेटीमा होमलेसहरू बसिरहेका देख्तै छु।

उनीहरूको छेउमा एउटा पोको र बियरका रित्ता बोतलहरू देखेर मन भने खिन्न भएको छ। यद्यपि यी होमलेसहरू भने कुनै काम गर्न चाहँदैनन्। सरकारले खानेकुराको व्यवस्था गर्छ। मागेर खान खोज्छन्।

र, यसरी नै एकपल्टको जिन्दगी बिताउन बानी परेका छन्। परिस्थितिले यस्तो बनाएको होला। सायद जिन्दगीको निर्णायक तत्त्व परिस्थिति नै होला। फेरि पनि कोही त होला जिम्मेवार?

घाम र पैदल हिँडाइले तताएको छ हामीलाई। तताएको भन्नुभन्दा पनि न्यानो पारेको छ। सुशाले भनेकी छिन्-आज १८ तारिक हो नि ?
मैले भनेको छु- हो। नोबेम्बर पनि आधाउधी भइसक्यो। यो २०२२ साल पनि फुत्तै बित्ने भयो। यसैगरी दिन भन्यो, महिना भन्यो, वर्ष भन्यो, आखिर बित्ने न हो जिन्दगी सुशा।

उनले थपेकी छिन्-हिँड्दा थाकिँदो रहे छ अब त।

मैले भनेको छु-हो नि सुशा ! सधै एकनास कहाँ रहन्छ र जिन्दगी ? दिनभरि खाली पेट हिँड्दा ठाँगाले छुँदैनथ्यो कुनै बेला। अहिले यस्तै हो। बरु छोरी मनुको कन्फ्रेन्स भएकाले सोही बहानामा लुइजियाना घुम्न पाइयो भनेर चित्त बुझाउनु पो पर्छ त।

हाम्रा पाइलाहरू दिनको पाहारमा अघि बढिरहेका छन्। आँखाले मूल सडकमै एकदम पुरानो दखिने एउटा समान्य घर देखेको छ। रातो ईँटा तथा ढुङ्गाले बनाइएको त्यो घरमा सिमेन्टको डोब बनाएर ‘लाइब्रेरी अफ प्याट्रिक टेलर’ लेखिएको देख्तै छु। लुइजियानाको सबैभन्दा पुरानो पुस्तकालय हो रे यो।

त्योभन्दा परतिर मेमोरियल हल, सिभिल वार म्युजियमका साइनबोर्ड देखिएका छन्। याने कि यो सडकको वारिपारि नै म्युजियमहरू छन्। मेरा आँखा सडकपेटीका ईँटामा परेका छन्।

म्युजियमअगाडिको सडकको पेटीमा ओछ्याइएका राता चिल्ला ईँटाहरूमा स्वतन्त्रता सेनानीहरूको नाम तथा उनीहरूको नम्बर र बटालियनको नाम लेखिएको देख्दै छु। त्यसमा फोहोरको एउटा क्लेस पनि छैन। टलक्क टल्केका छन् ती। मानौँ ती अहिले भरखर राखिएका हुन्। म अचम्ममा परेको छु। आम्मामा कति जानेका हुन् यी अमेरिकनले देशको लागि ज्यानको बाजी लगाउने भ्याटरनको सम्मान गर्न !

म्युजियमको अगाडिपट्टि सडककै किनाराको बडेम्माको पेटीमा सैनिकहरूको शालिक छ। कमान्डरले केही आदेश दिइरहेको बिम्बमा यी शालिक निर्माण भएको छ। दोस्रो विश्वयुद्धमा अमेरिकाका ८८००० हवाई सैनिक मारिएको सम्झनामा यी सालिक बनाइएको छ।

त्यही सालिकको पछाडि उभिएर फोटो खिच्ने पर्यटकको लाम लागेको छ। मैले पनि लाममा बसेर ती सैनिकका शालिकसँग फोटो खिचेको छु। सायद ती सैनिकसँग बसेर फोटो खिचेको हुनाले मेरो मनमात्र होइन; मोबाइल पनि हर्षित भएको छ।

त्यहीँ नजिकै एउटा विशेष झन्डा फरफराइरहेको छ जसको अर्थ सिपाहीँको हौसला बढाउन, तथा सो युद्धमा मारिएका सैनिकको उच्च सम्मान गर्नु रहेको छ। एउटा सानो पत्थरीबोर्डमा लेखिएको छ -लभ अफ कन्ट्री, लिवर्टी अल्वेज रिजनेट स्टील।

त्यसको छेवैमा एउटा मार्वलको बेन्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति फ्र्यान्कलिन रुजवेल्ट (१९३३-५) को दुरुस्त देखिने रिप्लिका छ। त्यसै रिप्लिकासँग गाला जोडेर फोटो खिचेको छु। सोही बेन्चको भित्तामा रुजवेल्टको एउटा भनाइ राखिएको छ जसमा लेखिएको छ-

WE HAVE FAITH THAT FUTURE GENERATIONS WILL KNOW HERE, IN THE MIDDLE OF THE TWENTIETH CENTURY, THERE CAME A TIME WHEN OF GOOD WILL FOUND A WAY TO UNITE AND PRODUCE, AND FIGHT TO DESTROY THE FORCES OF IGNORANCE, AND IN TOLERANCE, AND SLAVERY, AND WAR RANKLIN DELAND ROOSEVELT FEBRUARY 12, 1943

जसको भावार्थ हुन्छ-‘हामीसँग विशवास छ कि भविष्यका सन्ततीले थाहा पाउने छन्, बिसौँ शताब्दीको मध्यमा एउटा यस्तो समय आयो जसले असल विचार राख्ने मान्छेहरू एकताबद्ध भएर र खराव तथा विध्वसकारीसँग युद्ध गरेका छन्, अज्ञानता तथा दासत्वका विरुद्धमा युद्ध गरेका छन्।

अमेरिकाको इतिहासलाई सम्झँदै बाटो लागेका छौँ। अब मैले गुगललाई मिसिसिपीतिरको बाटो देखाउने आदेश दिएको छु। पूरापूर एक घन्टाको पैदल यात्रा बताइरहेको छ। पाहारिलो घाममा हामी खिन्चेमिन्चे बात मार्दै दुई बुढाबुढी अगाडि बढिरहेका छौँ। हिँड्दै जाँदा अलि परतिर ‘डग सेलुन तथा बार्बक्यु’ नामको होटल देखिएको छ। आफ्ना कुकुरलाई डोर्याएर कुकुरधनीहरू त्यो होटलभित्र पस्न लामबद्ध छन्। अचम्म। अहो ! कुकुरको पनि यस्तो दामी सेलुन तथा होटल ?

बाटैमा देखा परेको छ ‘न्युअर्लियन्स अर्नेस्ट मेमोरियल कन्भेन्सन’। यो कति ठूलो भने ‘ए’ देखि ‘जे’ सम्मका अलगअलग कन्भेन्सन हल। त्यसैभित्र सपिङ मल। त्यसैभित्र रेस्टुरेन्ट आदि। साँच्चै भीमकाय छ यो कन्भेन्सन सेन्टर। अग्लो होइन बरु धेरै क्षेत्रफलमा फैलिएको छ।

कन्भेन्सन सेन्टरको अगाडिको बाटोपेटी निकै फराकिलो छ। सायद लाखौँ दर्शक बाहिर निस्कँदा यो बाटो पर्याप्त होस् भन्ने चाहना राखिएको होला। पेटीका छेउछेउमा फूलको बगैँचा छ। र, यसले सुन्दरता थपिरहेको छ।

कन्भेन्सन सेन्टरको छेउबाट हिँडिरहँदा रिभरवाकको मुखैमा आइपुगेको छु। त्यसको अगाडि बेलायतका प्रधान मन्त्री चर्चिल (१८७४-१९६५) को एकदम ठूलो शालिक राखिएको छ। तर त्यहाँ कुनै पनि सूचना भने छैन।

घुम्दैफिर्दै फेरि मिसिसिपीको किनारमा आइपुगेका छौँ। मिसिसिपी नदीमा पानीजहाजहरू तैरिरहेका छन्। ठाउँठाउँमा जहाज बोर्डिङ गर्ने ठाउँ छ। विविध रूप, प्रयोजन तथा रङ्गका जहाजहरू हिँडिरहेको दृश्यले मन लोभिएको छ। त्यसको किनारमा अमेरिकाको जलसेनाको सम्मानमा पार्क बनाइएको छ।

हिँड्दाहिँड्दा थाकेर हामी मिसिसिपी नदीको किनारको सिमेन्टे खुट्किलामा बसेका छौँ। चिसो स्याँठ चलेको छ। नदीको बहाबले एउटा रञ्जक आवाज निकालिरहेको छ। नदीको पानीमा पानीहाँस जलक्रीडा गरिरहेका छन्।

सो जहाज चढ्ने ठाउँको बाहिरपट्टि एउटा बोर्ड देख्दै छु। मेरा आँखाले ती पढ्न थालेका छन्। लेखिएको छ — सन १८१२ जनवरी १० मा निकोलस रुजवेल्ट पहिलोपल्ट स्टिम बोट लिएर मिसिसीपी नदीको यही ठाउँमा आए। यो स्टिम बोट न्युअर्लियन्सको विकासमा निकै सहायक सिद्ध भयो।

थकाइ धेरै लागेको छ। सूर्य पनि अस्ताउने मुडमा छ। हामी होटलमुहाँ भएका छौँ बास बस्न।

१९ तारिकको बिहानको खाजा होटलमा खाएर होटल छोडेर निस्किएका छौँ। आज फिर्नु छ मुकाम सान मार्कोस, टेक्सस। छोरीको कन्फ्रेन्स आज पनि छ। हामी नातिनीलाई लिएर इनडोर प्ले ग्राउन्डमा पुगेका छौँ। सो इनडोर प्ले ग्राउन्ड हेर्दा त म तीन छक्क परेको छु।

मलाई लागिरहेको छ कि यो संसारमा अति सामान्य कुरा यति धेरै छन् जसको हामीलाई पत्तो नै हुन्न। एउटा ठूलो कोठामा बनाइएको छ यो प्ले ग्राउन्ड। बाहिरबाट हेर्दा सामान्य लाग्दै छ। ढोका खोलेर भित्र पसेका छौँ। र्याकमा जुत्ता थन्क्याएका छौँ। र, टिकट काटेका छौँ। टिकट पनि सस्तो छैन।

फेरि अचम्म त के भने हरेक टिकटले २ घन्टा मात्र काम गर्छ। त्यसपछि फेरि बस्ने हो भने थप शुल्क। हामी भित्र पसेका छौँ। उमेर समुह छुट्याएर बनाइएको खेल्ने ठाउँमा ससाना नानीबाबुहरू खेलिरहेको देखेर मन नै आनन्दित भएको छ। मलाई आफ्नै बालापन याद आएको छ।

आमाबाबुका आँखा छली खोलाको बगरमा पुगेर बालुवाको खेल, लाप्पा (कुस्ती) आदि खेलेको सम्झना आइरहेको छ। त्यो बालापन सम्झँदा मात्र पनि त्यो आफ्नै अबोधपनमा रोमाञ्चित भएको छु। त्यही उपयोग गर्न नपाएको बालापनको रौनकलाई नातिनीमा रूपान्तरण गर्दै छु।

मेरो कुण्ठा एकपल्ट हाँसेको छ। आफैँलाई आफ्नो बालापनको पौँडाहा खहरे खोलाको बालुवामा उभ्याएर समाज विकासको चरण गम्दैछु। अहो ! मान्छे त कहाँबाट कहाँ पुगिसक्यो ? मभने सोही बालुवावाला चेत बोकेर जीवन निर्वाह गर्दै छु।

विविध प्रकारका खेलसामग्री छन्। कोठाभित्रै रेस्टुरेन्ट, जन्मदिन मनाउनका लागि विशेष कक्ष र पर्याप्त खेल सामग्री छन्। सो विशेष कक्षमा नानीबाबुहरू भेला भएर जन्मदिन मनाइरहेका छन्। ‘ह्याप्पी बर्थडे’ भन्ने आवाजले पूरै कोठा गुञ्जायमान भएको छ।

अमेरिका आएपछि मैले चाल पाएको कुरा के हो भने बच्चाबच्चीको लागि मात्र होइन वयस्कसम्मका लागि सबैभन्दा महत्त्वपूर्ण दिन जन्मदिन हो। म आफ्नै जन्मदिनहरू सम्झिरहेको छु। ती कहिले आए कहिले गए पत्तै भएन। जीवनका उकालीमा सन्तान जान्नेसुन्ने भएपछि हामी बाबुआमाका जन्मदिन पनि मान्न थाले।

तर अचम्म हाम्रो चेत, हामी भने लाजले भुतुक्कै। खोइ केको लाज लागेको हो कुन्नि ? यही लर्कासर्कामा नेपालतिर भित्री नजर दौडाएको छु। त्यहाँ म अनगिन्ती मान्छेहरू भेट्छु जो आफूले त जन्मदिन मनाउँदैनन्, बरु मनाएकाहरूका कुरा भने काटिरहेका छन्। मनमनै गम्दै छु कि मान्छेको यो चेत भन्ने बस्तु के होला ? कसले बनाइदिने होला ?

फित्ताको जालीले तला छुट्याएर राखिएका विविध खेल सामग्रीमा बच्चाबच्चीको कल्याङ्मल्याङ ज्यादै सुन्दर छ। खेल सामग्रीको त बयान गरेर नै साध्य छैन। बच्चाबच्चीलाई लक्षित गरेर खेलौना, खानेकुरा तथा सुरक्षा सबै कुरा छ। हामीले पनि पिजा किनेर खायौँ। बच्चाबच्चीका अभिभावक पनि खचाखच छन्।

सिमसिम पानी परिरहेको छ। हामीले किनेको २ घन्टा समय पनि सकिन थालेको छ। त्यसैले रेस्ट रुम पसेको छु। रेस्टरुमको भित्तामा ‘प्लिज वास ह्यान्डस् अफ्टर बाथरुम युज, इनजोय प्ले’ भनेर लेखिएको छ। मैले झट्ट नेपालमा लेखिएका यस्ता खाले सूचनाहरू सम्झेँ। सायद बच्चाबच्चीले प्रयोग गर्ने भएर लेखिएको होला।

हामीलाई हाम्रो मुकाम सान मार्कोस फर्किनु छ। हाम्रो गाडी लेक पोन्चरट्रेनको बिचबाट बनेको पुलयात्रा गर्न हिँडेको छ। र, त्यतैत्यतै अर्को बाटो भएर आई टेन समात्नु छ। हामी लेक पुगेका छौँ। आम्ममा कत्रो लेक ? लेकको बिचमा पुगेपछि कुनै किनारा नै देखिएको छैन।

झुसझुसे पानी परिरहेको छ। मौसम त्यति स्वादिलो छैन। बाटो त्यसै पनि चिप्लो छ। त्यसमाथि पुलको यात्रा। ३९ कीमीको पुलयात्रा गरेपछि बल्ल लेकको पल्लो छेउ भेटिएको छ। १६३० स्क्वायर कीमी क्षेत्रफल ओगटेको यो लेक न्युअर्लियन्सको इतिहासमा फ्रेन्च आगमनलाई सम्झाउने ऐतिहासिक थलो हो।

हाम्रो गाडी आई टेनलाई भेट्न तुफान दौडिएको छ। आई टेन नै मुख्य बाटो हो घर पुग्ने। बाटोमा बेटन रुज नामक सहर आएको छ। यो सहर लुइजियाना राज्यको सदरमुकाम पनि हो। झुसझुसे पानीले छोडेको छैन। तर मलाई लुइजियाना राज्यको स्टेट क्यापिटल बिल्डिङ हेर्ने धोको छ।

अन्तत जीपीएसले पुर्याएको छ। सामान्यतया अमेरिकामा एकै प्रकारको स्टेट बिल्डिङ पाइन्छ। तर लुइजियानाको भने पृथक छ। दुइतिरबाट क्यापिटल लेकले घेरेको सो भवन निकै सुन्दर देखिएको छ। सुन्दर बगैँचाका बिचमा छ यो। ३४ तले यो भवन ४५० फिट अग्लो छ। त्यो भवनको अवस्थिति नै मनमोहक छ। साँझ परेको हुनाले मात्र हो, नत्र त यो भवनको माथिसम्मै पुगेर समुद्र तथा मिसिसिपी नदीको बहाब हेर्न सकिन्छ।

यो बेला म सम्झिरहेको छु आफ्नै देशको सिंह दरवारलाई। सिंह दरवार मात्र के कम थियो र इतिहासका पानामा। १४०० त कोठा नै थिए। भ्रष्टाचारी तस्करको आँखा लागेर पुल्ठो न झोसिदिएको भए सिंह दरबार नमुना नै रहने थियो।

तर अहिले त सिंहदरवार परिशरलाई कङ्क्रिटमय बनाइएको छ। त्यसमा पनि सिंहदरवार पस्न सरकारलाई बक्साउनु पर्छ। अनि पहुँच नहुने मजस्ता सर्वसाधारणले कसरी हेर्नु त सिंहदरवार ?

बेटन रुजको कर्मकाण्डी भ्रमण सकेर बाटैमा पर्ने अर्को सहर लफायततिर लागेका छौँ। लफायतमा भियतनामी रेस्टुरेन्टमा ‘हटपट’ नामक खानेकुरा खाँदै छौँ। खाएका कुरा कत्ति गर्नु झैँ त लागेको छ। तर यो हटपटको भने वर्णन नगरी सकिनँ। टेबुलका वरिपरि कुर्सीमा हामी बसेका छौँ। टेबुलमा ग्यासचुल्हो र त्यसमाथि राखिएको मसलायुक्त तातो पानी उम्लिरहेको छ।

त्यसमा हाल्ने सामग्री हाम्रै टेबुलमा छन्। हामी आफैँले ती सामग्री इच्छाअनुरूप भाँडामा हाल्ने पकाउने र आफ्ना बटुकामा खन्याउँदै खाने÷पिउने। सिमसिम पानी पनि परेको, जाडो जौडे भएको हुनाले त्यो हटपटले निकै आनन्द दिएको छ। बिनाअल्कोहल न्यानो पनि बनाएको छ। न्यानो मात्र बनाएको छैन, पसिना नै काढेको छ। हामी अब बास बस्न लफायतकै मेरियट ब्रान्डको होटल स्प्रीङहिल सुइट्समा पुगेका छौँ र यात्राबाट थाकेको शरीरलाई लचकदार ओछ्यानमा पल्टाएका छौँ।

यही बेला अमेरिकाको ओक्लहोमालाई मुकाम बनाउनु भएका साहित्यकार विश्वराज अधिकारी सरले फोन गरेर भन्नु भएको छ — सर ! लफायत नै पुग्नु भएको छ भने मैले पढेको युनिभर्सिटी अफ लुइजियाना लफायतमा पुग्नु न। आई टेनबाट नजिकै छ। अनि बेटन रुजमा स्टेट बिल्डिङ हेर्नु भयो ? त्यसका ५० वटा खुट्किला र हरेक खुट्किलामा अमेरिकाका राज्यहरूको नाम हेर्नु भयो ?

मैले भनेको छु – सर ! हामी पुग्दा रात परिसकेको थियो। बन्द थियो। हेर्न पाइएन नि।

तर मलाई भने नारायणहिटी दरबारको भ्रमणको याद आइरहेको छ। राजाले नारायणहिटीका कोठाहरूको नामकरण नेपालका विविध जिल्लाका नाममा राखेको सम्झेको छु।

२० तारिकको दिन लफायतको बिहानले ब्युँझाएको छ। उठेका छौँ। हामीले आजै आफ्नै घर सान मार्कोस पुग्नु छ। होटलले दिएको ब्रेकफास्टलाई दह्रोसँग दाबेर विश्वराज सर पढेको विश्वविद्यालय हेर्न पुगेका छौँ। ठूलो क्षेत्रमा फैलिएको यो विश्वविद्यालयलाई गाडीबाट वरिपरि परिक्रमा गरेका छौँ।

त्यसै पनि त्रिभुवन विश्वविद्यालयको मानोचामल खाएकाले होला संसारको जुनसुकै विश्वविद्यालय मलाई तीर्थस्थल जस्तै लाग्छ। लफायतको विश्वविद्यालयको मूल भवनअगाडि रहेको साइनबोर्डमा उभिएर तस्बिर खिचेका छौँ। म खोइ किन हो कुन्नि फोटैमा पनि प्रफुल्लित भएको छु।

लफायतबाट हाम्रो गाडी घरमुहाँ भएको छ। हाम्रो दिलदिमाग घर पुग्न आतुरी गर्दै छ। आई टेन वारिपारिका वनजङ्गल, खोलानाला, चिल्लाबाटा र ठाउँठाउँमा सडक पुनरउद्धार गर्दै गरेका दृश्य हेर्दै फिर्दै छौँ हामी। गाडी तुफान बतासिएको छ। घर पुग्नै आँटेका छौँ। तर मेरा दिमागमा भने मूलत दुई कुरा खेलिरहेका छन्।

मलाई अचम्म लागिरहेको छ कि यी अमेरिकनहरूको इतिहास संरक्षणमा कति धेरै मोह ! वास्तवमा इतिहास मर्यो भने मानवसभ्यताको जरो मर्छ। यो कुरा अमेरिकनहरूलाई थाहा छ। यसो भएकाले अमेरिकाको विकासको एउटा कारण इतिहास संरक्षण पनि हो। नेपालमा इतिहास मारेर क्रान्तिकारी हुन खोज्छन्।

महेन्द्र संस्कृत विश्वविद्यालयको नामलाई नेपाल संस्कृत विश्वविद्यालय पारेर क्रान्तिकारी भएका छन् साइँदुवाहरू। रत्नपार्कको नाम फेर्छन् र बुज्रुक ठान्छन्। यही बुँदामा मलाई नेपाली परिवेशको यही कुरा मन पर्दैन। तर अमेरिकनले फ्रान्सको तथा स्पेनको त्यो क्षेत्रको इतिहासलाई कति मजाले जगेर्ना गरेका छन्।

तिनले राखेका नामलाई यथास्थितिमा राखेका छन्। तिनको नामलाई व्यापक गरेका छन्। तिनले चलाएका प्रथाहरू सुचारु गरिरहेका छन्। मरेर जाने ती विदेशीले पनि अमेरिकनको यो इतिहास संरक्षण चेतलाई सम्झेर गौरव गर्दा हुन्।

अर्को कुरा म यति बेला अघोरै न्युअर्लियन्सलाई सम्झिरहेको छु। न्युअर्लियन्सको इतिहास र सुन्दरता सम्झिरहेको छु। मिसिसिपी नदीको बहाबमा तरङ्गित भइरहेको छु। फ्रेन्च तथा स्प्यानिसको सभ्यता र संस्कृति, तिनका बास्तुशैली तथा योगदानलाई हृदयाङ्गम गरिरहेको छु। र, त म सोचिरहेको छु कि समुद्र सतहभन्दा अधिकतम ५३५ फिट अग्लो र न्युनतम् ८ फिट गहिरोमा बसेको छ न्युअर्लियन्स सहर।

वातावरण विनासले आउँदै गरेको तापक्रमका कारण एक दिन यो सहर एटलान्टिक महासागरको गल्फ अफ मेक्सिको नामक रहमा डुब्ने छ भन्ने भविष्यवाणी गरेका छन् विज्ञले। जसरी माल्दिभ्स डुब्दैछ भन्छन् त्यसैगरी यो सुन्दर सहर पनि डुब्ने छ भन्छन्।

घर आइ पुगे पनि यही न्युअर्लियन्सको सुन्दरताको याद आइरहेको छ। सन २००५ को सामुद्रिक आँधीले तहसनहस पारेको न्युअर्लियन्स तङ्ग्रिएको मात्र होइन; पूरै फेरिएको छ।

यस्ता अनेकन सामुद्रिक आँधी झेलेको छ न्युअर्लियन्सले। थेगिरहेको छ। र, फेरि रौनक ल्याइरहेको छ। हाँसिरहेको छ। बाँचिरहेको छ। मान्छे आइरहेका छन्। गइरहेका छन्। तर प्रकृति र मान्छेको यो युद्धमा न्युअर्लियन्सको भविष्य के होला भन्ने चिन्ता भने लागिरहेको छ।

र, त कुनै शक्ति छ भने त्योसँग प्रार्थना गर्दैछु र भन्दै छु- बाँचीवर्ती रहियो भने फेरि आउँला। भेटौँला। म मरे सन्तान आउलान्। भेटलान्। तर तिमीचाहिँ न डुब्नू है न्युअर्लियन्स !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *