जनआक्रोश अझै बढ्यो भने के होला ?

आज म हाम्रा गाउँका रामसाहुलाई सम्झिरहेको छु। हामी सानै छँदा हाम्रा साजीलाल स्कुलमा रामसाहु ( उहाँको वास्तविक नाम रामबहादुर श्रेष्ठ ) आउनुहुन्थ्यो। हामी विद्यार्थीसित भन्नुहुन्थ्यो “बाबूहो, नेपालमा नियाँ निसाफ केही छैन है, बुझिरहनुहोला है। नेपालको कानुन माकुराको जालो ठुला ठालु फारेर तर्छन्, लुते निम्छरा अल्झेर मर्छन्।”
ती रामसाहु अहिले त यो संसारमा हुनुहुन्न। तर म हिजो आज उहाँले बारम्बार भन्ने गरेको नेपालको कानुन माकुराको जालो ठुलाठालु फारेर तर्छन लुते निम्छरा अल्झेर मर्छन भन्ने कुराको अर्थ खोजिरहेको छु।
राजतन्त्रमा पो राजारानी, युवराज, युवराज्ञी, अधिराजकुमार, अधिराजकुमारी र उनीहरुको आउरेबाउरे हुन्थे आज त मुलुकमा गणतन्त्र छ , न राजारानी छन् न त युवराज युवराज्ञी नै। न अधिराजकुमार छन् न अधिराजकुमारी नै तर आजको गणतन्त्रमा छुट्टै गणतन्त्रका राजारानी, युवराजयुवराज्ञी, अधिराजकुमार, अधिराजकुमारीहरु तयार भएकाछन्। उनीहरुलाई मुलुकको कुनै कानुनले छुँदैन।
उनीहरु यति बलिया छन् ती कानुनका जालाहरुलाई उनीहरु दूधभात खाएजत्तिकै फारेर तर्छन्। जति नै खत गरेपनि उनीहरुलाई कुनै ठाँगेले छुँदैन। राजतन्त्रमा राजारानी कानुनमाथि हुन्थे भनिन्थ्यो , कथित गणतन्त्रमा यी दलेहरु नै राजारानी बनेकाछन्।
एकजोडी दले राजारानीका युवराजले चारवर्षका अवधिमा झण्डै ७३ रोपनी जग्गा किनेछन्। त्यति जग्गाका लागि ती गणतन्त्रका युवराजले झण्डै एक अर्व रुपियाँ लगानी गरेका रहेछन् भनेर मुलुकका छापा माध्यमहरुले जोडतोडले उचालिरहेका छन् तर सबैीत्र मौनता शिवाय केही छैन।
गणतन्त्रका राजारानी आफ्ना छोरा अर्थात गणतन्त्रका युवराजले पौरखै ग¥यो भनेर नाक फुलाइरहेका होलान्।ती गणतान्त्रिक राजारानी र युवराजको न कुनै पेसा व्यवसाय छ, नत्र जागिर ? उनलाई चारवर्षमा कहाँबाट बर्सियो एक अरबभन्दा बढी रुपियाँ ?
उनीहरु मुलुक मारेर , जनताले गाँस काटेर तिरेको करमा ढलीमली गरेर अकुत सम्पत्ति कमाएको हेरेर हामीले रमाइदिन पर्ने ? गणतन्त्र जिन्दावादको गगनभेदी नाराले गुन्जायमान पारिदिन पर्ने ? यिनीहरुको यस्ता नाजायज हर्कतले गर्दा विगतमा राजाको सत्तोश्राप गरेर ढुंगामुढा गर्दै गणतन्त्र ल्याउन आन्दोलन गर्नेहरु आज राजालाई राजगद्दीमा राख्न किन उद्यत हुँदैछन् त्यसको करण कसले खोज्ने ?
गणतन्त्रको सत्ताको पहुँचमा नभएकाहरु त्यही जालोमा अल्झेर मर्ने अवस्था सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरण विभागका घुम्ने कुर्सीमा बसेर उँघिरहेका मान्छेहरु देख्दैनन् अकुत सम्पत्ति कमाउने गणतन्त्रका नयाँ राजारानी र युवराजहरुको जायजेथा नदेख्ने तिमीहरुले आफ्ना आँखामा पलाएका मोतीयाबिन्दुको अप्रेसन गर्न पर्ने भएको छ।
अर्का गणतन्त्रका राजारानी छन् केहीवर्ष अधिसम्म ती अर्काका घरमा हली वा कमैया बसेर पसिनासित ढिंडो साट्थे अचेल उनी गणतन्त्रमा होलीवाइनसित हिन्दू धर्म साटिरहेका देखिन्छन् त कहिले जनताको रगत र पसिनासित गरिबन्धु, यति , ओम्नी, वाइडबडी र भूटानी शरणर्थी बनाइ नेपालीलाई तेस्रो मुलुक पठाउने नाममा अकुत कमाइरहेका छन्।
दिनदहाडै जनता ढाँटेर पनि आफ्नो स्वर्थसिद्धको दुनो सोझ्याइरहेका छन्। हिजोका कमैयाहरु आज गणतन्त्रका राजारानी भएका छन् , उनीहरुका लागि हामीले अझै गणतन्त्र जिन्दावादको गगगनभेदी नारा गुन्जाइदिन पर्ने ?
गणतन्त्रका अरु कोही युवराजहरु छन् जसले दिनदहाडै सहकारी ठगेका अनेक प्रमाण भएपनि उनीहरुलाई गणतन्त्रका प्रहरीहरुले स्यालुट गर्छन्। अदालतमा पुर्याइहाले पनि एउटा ढोकाबाट भित्र छिराएर निमेषभरमै चोख्याएर अर्को ढोकाबाट घर पठाइदिन्छन्। अनि यिनीहरुका लागि नेपाली जनताले गणतन्त्र थामिदिन पर्ने ?
यिनका गणतन्त्रमा अन्धेर नगरी चौपट राजा टका सेर भाजी टका सेर खाजा भइरहेको छ। आफ्ना विरोधमा लाग्नेलाई नानाभाँतीका झुटा मुद्दामा फसाएर प्रमाणै नभएपनि फसाउन माखेसाङ्लामा पार्न खोजिरहेका छन्। तैपनि यिनका गणतन्त्रलाई जनताले गगनभेदी नारा लगाइदिन पर्ने ? यिनका गणतन्त्र जोगाइदिन पर्ने ?
नाजायज तरिकाले सम्पत्ति कमाएको छ भने हेर्ने निकाय छ , सम्पत्ति शुद्धिकरण , अख्तियार , तर ती सबै आज निरीह विकलाङ्ग प्राय बनेका छन्। ती मूकदर्शक बनेर हेरिरहेका छन्। रामसाहुले भनेजस्तै उनीहरुकाट नेपालको कानुन फारेर तर्ने कुरा मात्र भएको छ।
गणतन्त्रको सत्ताको पहुँचमा नभएकाहरु त्यही जालोमा अल्झेर मर्ने अवस्था सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरण विभागका घुम्ने कुर्सीमा बसेर उँघिरहेका मान्छेहरु देख्दैनन् अकुत सम्पत्ति कमाउने गणतन्त्रका नयाँ राजारानी र युवराजहरुको जायजेथा नदेख्ने तिमीहरुले आफ्ना आँखामा पलाएका मोतीयाबिन्दुको अप्रेसन गर्न पर्ने भएको छ।
त्यसैगरी सयपचास भ्रष्टाचार गर्ने खर्दार सुब्बालाई रेड हेण्ड समातेर कानुनका कठघरामा उभ्याउने अख्तियारका ठुला घुम्ने कुर्सीमा बिराजमान हाकिम हो , तिमीहरुले सानातिनाले गर्ने गरेको भ्रष्टाचारमात्र देख्ने तिम्रा आँखाको राम्रै उपचार गर्नुपर्ने भएको छ।
नत्र म सानै छँदा हाम्रा गाउँका रामसाहुले भन्ने गरेको उखान शाश्वत बनेर जुगजुगसम्म रहिरहने छ। पूर्व भीभीआईपीले सत्तामा बसेर मुलुक लुट्नसम्म लुटेर पिलन्धरे बनाएको आजको अवस्थामा उनीहरुलाई जीवनभरि सरकारी सुविधा थपथर्ने सरकारले नयाँ कानुन ल्याउन लागेको कुरामा पनि हामीले ताली पड्काएर स्वगत गरिदिन पर्ने ? वर्तमान गृहमन्त्रीले त्यस नयाँ कानुनबारे हालै आमसञ्चारमाध्यमहरुलाई बताएका कुराबाट सामाजिक सञ्जाल मात्राभन्दा बढी नै तातेको अनुभूति भएको छ।
गणतन्त्रका राष्ट्रपति रबर स्ट्याम्प हुन भनिन्छ। तर उनी आफ्ना दर्जनौ आसेपासेहरुलाई सल्लाहकारमा नियुक्त गरेर मुलुकको महिनैपिच्छे करोडौंकरोड रुपियाँ स्वाहा पारिरहेकाछन् , त्यसमा पनि नेपाली जनताले गाली नदिएर ताली नै दिनपर्ने हो ?
जनतालाई सुविधा दिने काम नगर्ने ,समयमा बिउमलको व्यवस्था नगरिदिने , जहिले पनि हाहाकार गराउने, विचौलिया व्यापारीसितको साँठगाँठमा उब्जनी गरेको बालीनाली किसानले बेच्ने बेलामा मूल्य स्वाठ्ठ घटाइदिने, कालाबजारी व्यापारीका हातमा त्यही अन्नपात वा किसानको उब्जनी पुग्ने वित्तिकै मूल्य ह्वात्त बढाइदिने, सत्ताका नयाँ राजारानीका छोराले गर्ने व्यापारमा आयात गरिने वस्तुमा भन्सार शुल्क छुट दिने, सत्ताका आसेपासेले जति ठूलो खत गरेपनि कानुनका दायरामा नल्याउने , भ्रष्टाचारीलाई माफी मिनाहाँ दिने, विद्युत्चोरका पक्षमा लागेर देश डुबाउने, लोडसेडिङ गराएर मुलुकमा अर्वौंका इमरजेन्सी लाइट , इन्भरटर र जेनेटर बेचाएर कमिसन हसुर्नका लागि नेपाललाई फेरि अँध्यारो पार्न खोज्ने सत्तामा पानी धमिल्याएर माछा मार्न खोज्दैछन्।
उनीहरु गर्नपर्ने काम नगर्ने गर्नै नहुने नकाम गरेर जनताले गाँस काटेर तिरेको करको नीतिगत भ्रष्टाचार गरिन्छ दिनदहाडै लखनौ लुटान मच्चाइरहने हो भने भविष्यका कुनै दिनमा जनता जागे भने त्यसको परिणाम कस्तो होला बेलाछँदै सत्ताधारीले हेक्का राखे हुन्छ।
कुकर्मको घ्याम्पो चर्किसकेको छ, यस्तै चाल हो भने त्यो फुट्न बाँकी रहने छैन। ढाड बालियो पार्न बेलैदेखि सेकताप गरिरहे हुन्छ। चेतना भया।
( गोरखापत्रका पूर्व प्रबन्ध सम्पादक , मुना , मधुपर्क , शमी , नवऋचा आदिका पूर्व सम्पादक तथा आरआर क्याम्पसका पूर्व आं प्राध्यापक )
Facebook Comment