‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी

काठमाडौं। जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्। अरूको समाचार संकनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थालेकी हुन्। सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।
सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गरेको भूमिकाले चर्चा पायो। उनले पहिलोपटक चलचित्रमा अभिनय गरेकी हुन्।
नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाएपछि आरतीले अडिसन दिएकी थिइन्।
“जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भनिन्।
यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उनले पहिलोपटक चलचित्रका लागि अभिनय गरेकी हुन् । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उनको भूमिकाको प्रसंशा गरेका छन् ।
Facebook Comment