बीआरआई नेपालको हितमा छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन्।
बीआरआई विषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थिति अनुरुप बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्नेसमेत बताए।
उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे। बीआरआईका सन्दर्भमा देखिका चर्चाका विषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए।
उनले काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट विभिन्न सवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए।
उनले बीआरआइ परियोजना २१औं शताब्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएरअघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे। बीआरआईका विषयमा राजनीतिक दलहरूबीच बृहत्त राष्ट्रिय कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए।
Facebook Comment