सर्बियामा सरकार विरुद्ध विशाल जनप्रदर्शन, ३ लाखभन्दा बढी मानिसहरू सडकमा

डिसी नेपाल
३ चैत २०८१ १०:१६

काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार लाखौं मानिसहरू सडकमा उत्रिए। यी मानिसहरू सरकार विरोधी विरोध प्रदर्शनमा सामेल हुन आएका थिए।

सरकारले शनिबारको विरोध प्रदर्शनमा १ लाख ७ हजारभन्दा बढी मानिसहरू सहभागी भएको बताएको छ।

यद्यपि, स्वतन्त्र अनुगमन समूहहरूले शनिबार कम्तिमा ३ लाख २५ हजार मानिसहरू सडकमा भेला भएको बताएका छन्।

यसलाई सर्बियामा अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध प्रदर्शनको रूपमा वर्णन गरिएको छ।

नोभेम्बर महिनामा सर्बियाको दोस्रो ठूलो शहर नोभी सादमा रहेको रेलवे स्टेशनको एक भाग भत्किएको थियो। यस दुर्घटनामा १५ जनाको मृत्यु भयो।

प्रदर्शनकारीहरूले स्टेशनको छाना भत्किनु रेलवे स्टेशनको निर्माणमा व्यापक भ्रष्टाचार र कमजोर मर्मतसम्भारको उदाहरण भएको आरोप लगाएका छन्।

राष्ट्रपति भुचिकले शनिबार राष्ट्रलाई सम्बोधन गरे। उनले प्रहरीहरूको प्रशंसा गर्दै भने “हामीले शान्ति कायम राख्यौं भन्ने कुरामा मलाई गर्व छ।”

उनले प्रदर्शनकारीहरूको सन्देश “बुझेको” बताउँदै भने “हामीले आफूलाई परिवर्तन गर्नुपर्छ ।”

यद्यपि प्रदर्शनकारीहरूले आफूहरूलाई सरकारबाट धेरै अपेक्षा भएको बताएका छन् ।

विरोध प्रदर्शनमा भाग लिने एक महिला याना भासिकले बीबीसीलाई भनिन्, “हामी केवल देश राम्रोसँग चलोस् भन्ने चाहन्छौं। हामी संस्थाहरूले आफ्नो काम राम्रोसँग गरून् भन्ने चाहन्छौं।”

उनी भन्छिन्, “हामीलाई कुन पार्टी सत्तामा छ भन्ने कुराले फरक पार्दैन, हामी त्यस्तो देश चाहन्छौं जहाँ काम होस्, चार महिनासम्म न्याय नपाएको देश होइन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *