गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रको पनि सहयोग थियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउन तत्कालिन राजा ज्ञानेन्द्र शाहको पनि आफूहरूलाई सहयोग गरेको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको बताएका हुन्।
‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ। हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्यौं। ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ उनले भने, ‘उनले धेरै मुर्खता नगरेको भए, सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो। भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ।’
पछिल्लो समय राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन भइरहेको उनको भनाइ छ। ‘अहिले फेरि राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनता अझै जागरुक हुन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न नयाँ सकंल्पको आधार तयार गरेका छन् । यसमा पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ,’ प्रचण्डले भने।
Facebook Comment