पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभा सम्पन्न

काठमाडौं । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको नवौं सभा सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रतिष्ठानको चालू आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको छ।
बैठकमा कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिउ। उनले आर्थिक वर्ष लाग्नुपूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरे।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएका प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
Facebook Comment