१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ।
मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमकाबीच खेलकुद मन्त्री तेजुलाल चौधरीले १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन्। सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफि समेत सार्वजनिक गरिएको थियो।
लोगो र मस्कट सार्वजनिक भएसंगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए। उनले खेलकुद मन्त्रालय र राखेपबीच विवाद नहुने गरि काम गर्नसमेत निर्देशन दिए। विविधि कारणले १०औं राष्ट्रिय खेलकुद मिति सरे पनि अब तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ।
मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिवद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए।
मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औं राष्ट्रिय खेलकुदको मिति पटक/पटक सर्दै आएको छ। पछिल्लो समय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ।
Facebook Comment