सरकारमा हुँदा सबै ठिक र बाहिरिँदा सबै बेठिक भन्नेहरूबाट देशको भलो हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका छन्।
बुधबार काठमाडौंको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठूला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका हुन्।
सरकारमा रहेका बेला सवै ठिक र सरकारबाट बाहिरिएको भोलीपल्ट सवै बेठिक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए।
यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताए। उनले जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भाबनासमेत नरहेको जिकिर गरे।
भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातीक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राखे।
Facebook Comment