‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न

डिसी नेपाल
५ चैत २०८१ १६:५५

काठमाडौं। आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुखसहित अतिथिलाई निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा संवादलाई विशेष बनाउन आग्रह गरे। उनले संवादको तयारी हरेक हिसाबले त्रुटिहीन हुनुपर्नेमा जोड दिए।

सगरमाथा संवाद सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना भइरहेको छ। सचिवालय स्थापनासँगै संवाद निर्देशक समितिको अध्यक्षतामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन भएका छन्।

संवादमा सहभागी हुन छिमेकी भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुुखलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ। सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा संवाद आयोजना गर्न लागेको हो। प्रधानमन्त्री ओलीले यो कार्यक्रम गत माघ ८ गते अन्तरराष्ट्रिय हिमनदी वर्षका अवसरमा घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *