गणतन्त्रवादी-राजावादी आमनेसामने, मुठभेडको सम्भावना बढ्दो

डिसी नेपाल
७ चैत २०८१ ७:३३

काठमाडौं। गणतन्त्रवादी र राजावादी आमनेसामने हुँदा राजनीतिक वृत्त तातेको छ । सडकदेखि संसदसम्म यसको पक्ष र विपक्षमा बहस जारी छ । संसदमा चर्को बहस चल्दैगर्दा सडकमा दुई पक्षबीचमा मुठभेड हुने अवस्था देखिँदै छ ।

संवैधानिक राजसंस्था, संघीयता खारेजीसहितका माग गर्दै राजावादीले सदनदेखि सडकसम्म तताइरहेका छन् । राजसंस्थाका लागि आन्दोलन जारी रहेकै बेला वर्तमान संविधान र गणतन्त्रको रक्षाका लागि भन्दै संसद्मा रहेका ठूला दल पनि सडक आन्दोलनमा उत्रिँदै छन् । संसद्मा समेत गणतन्त्रवादी दलले राजतन्त्र नफर्किने भन्दै त्यसको खेलमा नलाग्न चेतावनी दिँदै आएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा ७ फागुनमा दिएको शुभकामना मन्तव्यपछि पक्ष र विपक्षमा बहस हुँदैगर्दा पछिल्ला दिनमा दलहरूबीच नै मुठभेड हुने अवस्था देखिएको हो । उनले देश अप्ठ्यारो अवस्थामा रहेको भन्दै आफूहरूलाई साथ दिन जनतासँग अपिल गरेका थिए । रक्तपातविहीन दरबार छोडेका पूर्वराजा देशभित्र र देशबाहिर बेलाबेलामा निस्किने गर्दै आएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले विगत वर्षहरूमा पनि पृथ्वी जयन्ती, प्रजातन्त्र दिवसलगायतका मुख्य दिनमा आफ्नो तर्फबाट शुभकामना सन्देश प्रवाह गर्ने गरेका थिए । तर, यस वर्ष भने उनले झन्डै १० मिनेट लामो भिडिओ–सन्देश प्रवाह गरेका थिए । उनले यस वर्षको प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा आफूहरूले गरेको त्यागको विषयमा स्मरण गराएका थिए ।

पूर्वराजाको सो अभिव्यक्तिपश्चात् राजावादी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले सडक आन्दोलनमा उत्रिएको छ । संवैधानिक राजसंस्था र पूर्वराजालाई पुनः फर्काउने भन्दै राप्रपाले सडकदेखि सदनसम्म चर्काे आवाज उठाउन थालेको छ । यसबीचमा गत २५ फागुनमा राप्रपालगायत राजावादी दल र समर्थकले पूर्वराजा पोखराबाट काठमाडौं आउँदा काठमाडौंमा भव्य स्वागत गरेको थियो ।

अहिले राजसंस्था पुनस्र्थापनासहितका माग गर्दै राष्ट्रिय पञ्चायतका पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठन भएको आन्दोलन परिचालन कमिटी सक्रिय छ । अर्कोतर्फ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा समेत अर्को कमिटी सक्रिय छ । हुन त राजवादीमै आन्दोलनको नेतृत्वलाई लिएर विवाद बढेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा समेत गणतन्त्रवादी र राजावादीको जुहारी चलेको छ । गणतन्त्रवादीले राजतन्त्र पुनस्र्थापना नहुने दाबी गर्दा राजावादीहरूले यो व्यवस्थाबाट जनता आजित भइसकेकाले राजतन्त्र फर्काएरै छाड्ने चेतावनी दिँदै आएका छन् ।

नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले कुनै पनि हालतमा राजतन्त्र नफर्कने दाबी गरे । उनले जनताका विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए । ‘कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किंदैन, कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन, जनताले चाहेको छैन, रुचाउँदैन, त्यसका लागि जे पनि गर्न तयार छौं, हेक्का रहोस्,’ निधिले भने ।

उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी पनि दिए । ‘देशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ, त्यो आउँछ भनी कसैले सोच्छ भने नसोचे हुन्छ,’ निधिले भने, ‘स्मरण गरौं, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो, हामीलाई रोक्न पनि खोजिएको थियो, हामीचाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैंले प्रयोगबाट प्रमाणित गरेका छौं ।’

उनले जनताले सम्मान दिएको भन्दै सीमा पार नगर्न पनि पूर्वराजालाई चेतावनीसमेत दिए । उनले भने, ‘इतिहास हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको, नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ, त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु ।’

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताए । शर्माले वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताउँदै भने, ‘१९ जेठ २०५८ मा दरबार हत्याकाण्ड भयो, त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो, वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन, सार्वभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैनन् भन्ने स्पष्ट गर्न चाहन्छु ।’

प्रतिनिधिसभा मात्रै नभई राष्ट्रिय सभा बैठकमा पनि यस विषयमा बहस भएको छ । राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको टिप्पणी गरे ।

‘जुन राजा जनतासँग बस्न तयार भएनन्, ती राजा समाप्त भएका छन्, अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने हो ? फर्किएर आउने हो भने लोकतन्त्रमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने तर नवराज सुवेदीको नेतृत्वमा राजा फर्काउँछु भनिन्छ भने यो दिवा सपना हो,’ ढुंगानाले भने ।

गणतन्त्रवादी नेताहरूले यसरी राजतन्त्र फर्कन नसक्ने दाबी गरिरहँदा राजावादी नेताहरूले पनि राजतन्त्रका पक्षमा वकालत गर्दै आएका छन् । राप्रपाका सांसद दीपकबहादुर सिंहले प्रतिनिधिसभामा गणतन्त्रवादी दलका नेतालाई नआत्तिन आग्रह गरेका छन् ।

‘गणतन्त्र आएको दुई दशकमा राजाले एक दिन पनि सरकार चलाउनेलाई आन्दोलन वा केही गरेर रोकेका छैनन्, हस्तक्षेप गरेका छैनन् तैपनि किन हो ? कसो हो ? सबै आत्तिएको जस्तै देख्छु, पूर्वपश्चिम फर्कने पनि एकैतिर फर्केको महसुस गरें,’ सिंहले भने, ‘त्यति आत्तिनुपर्दैन, नआत्तिनुस् † देश तपाईं हामीले नै मिलेर बनाउने हो ।’

सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशासन र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए । तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि प्रजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एकपटक साथ दिन भनेको सांसद सिंहले बताए ।

संसद्मा आमनेसामने भएर बहस गर्दै गरेका गणतन्त्रवादी र राजतन्त्रवादीबीच सडकमा मुठभेडको संकेत देखिएको छ । १५ चैतमा एकै दिन समाजवादी मोर्चा र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । मोर्चाले संविधान र गणतन्त्रको रक्षाका लागि भन्दै यसअघि नै प्रदर्शनको घोषणा गरेको थियो । तर, प्रसाईले बुधबार मात्रै प्रदर्शन गर्ने जनाएका छन् ।

मोर्चाले वर्तमान संविधान र गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्षसहित काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । मोर्चाले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै १५ चैतमा काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गरेको थियो ।

मोर्चाले प्रदर्शनको मिति तय गरेपछि दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले सबै राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउनसमेत अपिल गरेका छन् । ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं, यही १५ चैतमा देखाउनु छ देश बेचुवाहरूलाई, राष्ट्रभक्तिका शक्ति एक हौं,’ प्रसाईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले प्रदर्शनका लागि सम्पूर्ण बैंक, सहकारी, लघुवित्तपीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्तालाई अपिल गरेका छन् ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *