कथा : सन्यास

प्रकाशचन्द्र खतिवडा
८ चैत २०८१ ७:२७

म दुलारी बस्न थालेको दुई वर्ष भएकै छैन। परिवेश नँयै छ। धेरै छरछिमेक चिन्नै बाँकी छ। म अलि अन्तरमुखी स्वभावको छु। कम बोल्ने भएकै कारण साथी भाइ पनि कमै छन्। निवृत्त जीवन विताउने अभ्यास गरिरहेको छु। निवृत्त जीवन एक्लो र निरश जस्तै हुँदो रहेछ।

निवृत्तहरुको छाता संस्था निवृत्त राष्ट्र सेवक समाज कोशी प्रदेशको सचिव निर्वाचित भए पछि साथी भाइसँग हिमचिम बढेको छ। भेला, बैठक, पिकनिक भ्रमणहरुमा सरिक भएर आफूलाई क्रियाशील, बनाउने कोशिश गरिरहेको छु। दुःख सुख विसाउने चौतारीको रुपमा निवृत्त राष्ट्र सेवक समाजले निवृत्तहरुलाई छहारी प्रदान गरेको अनुभूति प्राप्त भएको छ।

विहान चार बजेनै उठेर नित्य कर्म समापनपछि पेट घटाउन भनी दैनिक एक घण्टा मर्निङ बाक निस्कन्छु। मर्निङ वाक फलदायी भै रहेको छैन। पेट घट्ने सुर सारै छैन। पेट कसरी घटाउने? उपायको खोजी गरिरहेको छु।

मर्निङ वाक सकाएर चिया खान दुलारी चोकको जतनपुरे पोखरेल माल्दाइको होटलमा जान्छु। त्यहाँ विहानको समय मानिसहरुको वाक्लै उपस्थिति हुने गर्छ। पोखरेल माल्दाइलाई चिया दिन भ्याइ नभ्याइ हुन्छ। विभिन्न उमेर समूह र विभिन्न राजनैतिक आस्था हुनेहरुको बीच करिब एक डेढ घण्टा बहस चल्छ।

देशको राजनीति, सामाजिक परिवेश र घरायसी कुरा समेत बहसका विषय बन्न पुग्छन्। देशको परिस्थितिप्रति सबैले चिन्ता व्यक्त गर्छन्। आशाहरु जीवितै भए पनि निराशाका बादलहरु मडारिरहेका कुरा हुन्छन्। कोही सन्तुष्ट छैन सबै जना असन्तुष्टि व्यक्त गर्छन्।

असन्तुष्टि व्यक्त गर्ने मध्ये एक जना भद्र स्वभाव भएका जेष्ठ नागरिक समाज सुन्दरहरैँचा अध्यक्ष राम कुमार कार्की हुनुहुन्छ। राजनीतिबाट सन्यास लिएको कुरा गर्ने वहाँ ०४८–०४९ ताका हाँसपोसाको नेकपा एमाले निर्वाचन परिचालन समिति संयोजक हुनुहुँदो रहेछ।

राजनीति र समाज सेवामा सक्रिय भूमिका निर्वाह गरी इटहरीमा समेत चिरपरिचित हुनु भएका राम कुमार दाइले उर्जाशील जीवन वामपन्थी राजनीतिमा विताइ जीवनको उत्तरार्धमा किन राजनीतिबाट सन्यास घोषणा गर्नु पर्‍यो? के वहाँमा राजनैतिक विचलन आएको हो? वहाँ जत्तिको कर्तव्यनिष्ठ मानिस पार्टीलाई चाहिँदैन र। पार्टीमा के खटपट् िभयो? किन वहाँले पार्टीमा निष्क्रियता देखाउनु भयो? भन्ने जस्ता प्रश्नले मलाई गम्भिर बनायो।

पार्टीहरुमा गुट उपगुटहरुको चलखेल छ। सिद्धान्त निष्ठतामा कमी आएको छ। नेताहरु स्वार्थमा डुबेका छन्। नातावाद र कृपाबाद मौलाउँदो छ। देश र जनता भन्दा धन सम्पत्ति ठुलो भएको छ। नेताहरु भ्रष्टचारमा संलग्न भएका छन्।

शहीदका सपना भुलेर निजी सपना देख्न थालेका छन्। इमान्दार लगनशील पार्टी कार्यकर्तालाई जिम्मेवार विहीन बनाइएको छ। निष्ठाको राजनीति मरेर गएको छ। अनुशासनहीनता बढेर पार्टी पार्टी जस्तो रहन छोडेको छ। जनवादी केन्द्रीयता नारामा मात्रै सीमित छ।

वर्गाीय चरित्र हराएर गएको छ। महिला, दलित,आदिवासि जनजाति, मधिशे, मजदुर र सुकुम्वासीका समस्या ज्यूका तिउ रहि रहेका छन्। परिवर्तनको सपना देखाएर पार्टीहरु परिवर्तनको दिशाबाट क्रमश विमुख बन्दै गइरहेका छन्।

गरिबी, अशिक्षा र बेरोजगारीले जनताको शिर उठ्न सकिरहेको छैन। सुशासनको प्रत्याभूति हुन सकेको छैन। हुनुपर्ने रफ्तारमा विकास निमार्णका कामहरु हुन सकिरहेका छैनन्।

जनताका जनजीविकाका सवालहरुप्रति पार्टी सत्तामा जाँदा समेत उल्लेख्य सुधार हुन नसकी राज्य निरीह बनेको छ। फलस्वरुप पार्टी कार्यकर्तामा निराशा छाउँदै आएको छ। उचित जिम्मेवारी नपाए पछि पार्टीमा रहनुको पनि के अर्थ हुन्छ र? अनि राजनीतिबाट सन्यास नलिएर के गर्ने?

के राजनीतिबाट सन्यास लिदैमा सामाजिक बन्धनबाट मुक्ति मिल्छ त? जीवन र राजनीतिबाट को अछुतो होला र? जाने बुझेका सबै मान्छेले राजनीति छोड्दै जाने हो भने देशको उन्नति र प्रगति कसरी सम्भव होला र? भाग्नु समस्याको समाधान हुँदै होइन भन्ने जान्दा जान्दै म पनि राजनीतिबाट भागि रहेको छु। पलायन भइरहेको छु।

पार्टी भित्रै अन्तर संघर्ष गर्न जरुरी रहेछ। पार्टी र नेताहरुलाई शुद्धीकरण अभियान नचलाए पार्टी गतिविधिबाट जनता विमुख बन्न के बेर? प्रतिक्रिान्तिको खतरा आउन के बेर?

म पनि फ्रस्टेडै छु। राजनीतिबाट सन्यास लिएको त वर्षौं बितिसक्यो। साहित्यिक जीवन जिउने कोशिश गरिरहेको छु। मैले राजनीतिबाट सन्यास लिए पनि मेरो जीवन राजनीतिसँग त गाँसिएकै हुँदो रहेछ। राजनीति नै प्रमुख नीति रहेछ। जसका आधारमा अरु नीतिहरु बन्ने रहेछन। राजनीति असल भए मात्र समाज र राष्ट्रले उन्नति गर्दो रहेछ।

राम कुमार कार्की जस्ता मान्छेहरु राजनीतिमा फर्कन चाहेमा पार्टीले उचित स्थान र उचित जिम्मेवारी दिन सक्नु पर्छ। पार्टीको झोले मात्रै बनाएर कदापि राख्न हुँदैन। बहाहरु सँग पर्याप्त ज्ञान सिप र अनुभव छ। वहाँहरु पार्टीमा आउँदा राम्रै हुन्छ।

राजनीतिबाट फ्रस्टेड भए पनि रामकुमार दाइ सामाजिक जीवनमा सक्रिय रहिरहनु भएको छ। जेष्ठ नागरिकहरुको नेतृत्व गरेर जेष्ठ नागरिकका दुःख सुखका साथी बनि रहनु भएको छ। जेष्ठ नागरिक भवनहरु, जेष्ठ नागरिक चौतारीहर निमार्ण वहाँको नेतृत्वमा सफलता पूर्वक सम्पन्न भएका छन्।

जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा र स्थान अवलोकन भ्रमण गराएर वहाँ वधाइको पात्र पनि बन्नु भएको छ। वहाँलाई यो उर्जा राजनीतिले नै दिएको हो। सायदै वहाँले राजनीति नगरेको भए जेष्ठ नागरिकको नेतृत्व गर्न सक्नु हुन्थेन। वहाँलाई नेतृत्वको त्यो उचाइमा पु¥याउने कारण अनेकौ भए पनि एक कारण राजनीति पनि हो।

स्वभावैले वहाँ परिवर्तन चाहानु हुन्छ। वहाँको पृष्ठभूमि वामपन्थी विचारबाट उत्प्रेरित छ। वहाँमा लोप लालच छैन। वहाँको एक मात्र उद्देश्य जेष्ठनागरिकको दुःख सुखमा साथ दिनु भए पनि देशको विग्रदो राजनैतिक परिदृष्यबाट समेत चिन्तित भएको कुुरा गफगाफमा अभिव्यक्त गर्नु हुन्छ। राजनीतिनै बिग्रिए पछि जेष्ठ नागरिकको अवस्था पनि त विग्रन्छ नि। जेष्ठ नागरिकका हक अधिकार सुरक्षित राख्न पनि राज्य व्यवस्था लोकतान्त्रिक हुन जरुरी छ। राज्य व्यवस्था लोकतान्त्रिक भएन भने जन अधिकारहरु समेत कुण्ठित हुने गर्छन्।

म पनि जमनाको अब्बल क्रान्तिकारी नेता थिएँ। भाषण भूषणमा पोख्त नै थिएँ। हप्तौ सम्म चुनावी कार्यक्रममा सहभागिता जनाइन्थ्यो। गाउँ टोलमा राति कार्यक्रम हुन्थ्यो। प्रत्येक कार्यक्रममा मैले बोल्नै पथ्यो। मेरो भाषण कलाले मान्छेलाई उर्जा दिन्थ्यो रे। जनताहरु मेरो अनुहार दिउँसो हेर्न चाहान्थे रे मेरो छेउमा उम्मेद्धवारका कुरा फिका जस्ता हुन्थे रे।

समय सधैं एक नाशको हुँदैन। म पेसाले शिक्षक थिएँ। मेरो प्रमुख कर्तव्य अध्यापन थियो। भाइ बहिनीहरु पढ्दै थिए। बुबा पनि शिक्षक भएको कारण घर व्यवहारमा मैले खासै सहयोग गर्नु पर्थेन।

एउटा यस्तो समय आयो राजनीति कि, शिक्षण, दुईमा एक मैले रोज्नु पर्ने थियो। मैले शिक्षण रोजे र क्रमश खुला राजनैतिक जिम्मेवारी बाट पर रहन थाले। तथापि पार्टीलाई गर्नु पर्ने आर्थिक सहयोग भने जारी राखे। पार्टी सदस्यता प्राप्त गरी भूमिगत नाम राखेर भूमिगत शैलीमै पार्टी गतिविधिमा संलग्न रहे।

पार्टी एक ढिक्का थियो। यस पटकको चुनावमा बहुमत ल्याउने पक्का पक्की भएको बेला नेताहरुको स्वार्थ नमिलेर अचानक पार्टी फुट्यो। पार्टी फुटको असर तल्ले तह सम्मै प¥यो। एउटै थालमा सँगै भात खाएको साथी टाढा भयो। चुनाव भयो।

पार्टीले बहुमत ल्याउन नसके पनि पहिलो दल बन्न सफल बन्यो। ठूलो दलको हैसियतमा पार्टीले अल्पमतको सरकार बनाउने अवसर प्राप्त ग¥यो अल्पमतकै सरकार भए पनि सरकारले समाज रुपान्तरणका क्षेत्रमा नयाँ कार्यक्रम दिएर पार्टीले रामै्र जस लियो।

नौ महिना पछि सरकार ढल्यो। सरकार ढले सँगै म पनि ढले। म मा पार्टी फुटले निराशा ल्यायो। म पार्टी गतिविधिमा संलग्न हुनै छोडे। मैले लेवी तिर्न छोडे। पार्टी सदस्यता नवीकरण नै गरिन्। मैले राजनैतिक जीवनको यात्रा टुङग्याइ दिएँ।

राजनीति गरेको भए सांसद मन्त्री भइन्थ्यो होला। अहिलेको परिवेशमा सांसद र मन्त्री घृणित पात्र जस्तै भएको छ। कमसेकम जनताको सराप त खानु परेको छैन। ३२-३३ वर्ष शिक्षण गरियो। पेन्सन आउँछ। घर व्यवहार चलेकै छ।

अहिले म स्वतन्त्र वामपन्थी हुँ। राम्रो काम गर्ने कम्युनिष्ट पार्टीका नेतालाई मत हाल्छु। म कुनै पार्टीको झोले हैन। म धक फुकाएर पार्टीका गतिविधिको समीक्षा गर्न सक्छु। समग्र राजनैतिक परिस्थिति बारे बहस गर्ने छुट मैले प्राप्त गरेको छु। पार्टी गतिविधि चित्त नबुझे चुनाव बाहिष्कार गर्ने अधिकार पनि सुरक्षित नै राखेको छु।

जीवन सक्रिय राख्न मैले कुनै न कुनै सामाजिक कार्य त गर्नै पर्छ। शिक्षण गर्दा पनि शिक्षकहरुको नेतृत्व गर्ने अवसर पाएकै थिएँ। सेवा निवृत्त भए पछि निवृत्त संस्थाको खोजी गर्ने क्रममा निवृत्त राष्ट्र सेवक समाज सँग जोडिन पुगेँ। अधिकांश उमेरले ६० नाघेका जेष्ठ नागरिकसँग बसेर दुःख सुख साट्ने अवसर प्राप्त भएको छ। म ६० पुगेको छैन। मेरो स्वेच्छिक अवकाश हो।

जीवन क्रमशः उत्तरार्धतिर लागि रहेको छ। जीवनलाई कसरी व्यवस्थित गर्ने? घर व्यवहार पनि त चलाउनै पर्‍यो। विभिन्न रोगबाट ग्रसित बृद्ध बुबा आमा हुनुहुन्छ। वहाँहरुको उपचार र रेख देख गर्नै पर्छ। छोरा छोरी साथमा छैनन। साह्रो गाह्रो पर्दा मद्दत पाउने अवस्था छैन।

छोरा छोरी पढाइ र रोजगारीको शिलशिलामा फिनल्याण्ड र क्यानडा गएका छन। उनीहरु नेपाल फर्कन्छन या फर्कदैनन् ? केही टुङ्गो छैन। नेपालै फर्कनु पर्छ भनेको छु। उनीहरु बोलेका छैनन्। प्राय अमेरीका, क्यानडा, अष्ट्रेलिया जानेहरु फर्केका उदाहरण कमै मात्र छन्।

म र रामकुमार दाइ जस्तो राजनीतिबाट सन्यास लिएर समाज सेवामा लागेका मान्छेहरु कति होलान्? के अहिले पनि हामी जस्तै राजनीतिबाट सन्यास लिने व्यक्तिहरु होलान त? ती व्यक्तिहरु के गरिरहेका होलान्? हामी उनीहरुको खोजी गरी हाम्रो सामाजिक अभियानमा जोड्न सक्छौ त? यो विषयमा गम्भिर बहस हुन जरुरी भएको छ। ढिलो चाँडो वहाँहरुलाई यो अभियानमा जोड्न त पर्छ नै। जोड्नु हाम्रो दायित्व पनि हो।

म निवृत्त राष्ट्र सेवक समाजमा आवद्ध छु। राम कुमार दाइ जेष्ठ नागरिक समाजमा आवद्ध हुनुहुन्छ। यी दुई संस्था भित्र राजनीति छिर्दैन। दुईटै सामाजिक संस्था हुन्। दुइटै संस्थामा जेष्ठ नागरिकहरुको बाहुल्यता छ। सेवा निवृत्त र जेष्ठ नागरिकका समस्या एकापसमा मेल खान्छन्।

६० वर्ष कटेका सबै निवृत्तहरु ज्ेष्ठनागरिक नै हुन्। जेष्ठ नागरिकको सेवा गर्ने अवसर प्राप्त गर्नु सौभाग्य हो। मलाई लाग्छ जेष्ठ नागरिक हाँस्दा सिँगै संसार हाँस्छ। के जेष्ठ नागरिकलाई रुवाएर संसारलाई रुवाउँदा हामीलाई सन्तुष्टि प्राप्त हुन्छ त?

सुन्दरहरैंचा–६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *