आज नछुट्ने भए रवि लामिछाने
चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज नछुट्ने देखिएको छ । उनीहरुलाई आज अदालतमा उपस्थित गराइएको छ । अहिले अदालतमा बयान लिने काम भइरहेको छ ।
तीन जनामध्ये अस्मिता कार्कीको बयान लिन शुरु गरेको छ । अस्मिताको बयान आज नसकिए भोलि निरन्तर हुन्छ । त्यसपछि रवि र युवराजको बयान हुनेछ । अनि मात्र थुनछेक बहस हुनेछ । बहसपछि अदालतले साधारण तारिखमा छोड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षमा पठाउने निर्णय गर्ने छ । यी सबै प्रक्रिया आज पूरा हुन सम्भव छैन ।
अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न गएका एसपी दीपक रेग्मीले आइतवार भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनले बताए । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने एसपी रेग्मीले बताए ।
प्रमाण पुगे जेल नपुगे रिहा गरिने अदालती प्रकृया नै हो । कसैको हतारोले रिहा हुने होइन । सबैले धैर्यता राखून । अदालतले प्रमाणका आधारमा निष्पक्ष न्याय निरूपण गरोस् ।