मृत्युदण्ड पर्खंदै ४७ वर्ष जेलमा बसेका वृद्ध निर्दोष ठहर, २० करोड क्षतिपूर्ति

डिसी नेपाल
१३ चैत २०८१ ११:३१

काठमाडौं । अदालतले गलत फैसला गर्दै हत्या आरोपमा दोषी ठहर गरेपछि ४७ वर्षभन्दा बढी समयसम्म मृत्युदण्डको पर्खाइमा जेलमा बिताएका वृद्धलाई २१७ मिलियन येन (२० करोड रूपैयाँ)  क्षतिपूर्ति दिन अदालतले आदेश दिएको छ । जापानका यी व्यक्तिलाई एक अदालतले उनले गर्दै नगरेको हत्याको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

गत वर्ष निर्दोष साबित हुँदासम्म उनले ४७ वर्षभन्दा बढी समय जेलमा बसेर बिताएका थिए । अदालतले मंगलबार उनलाई क्षतिपूर्ति दिलाउने निर्णय गर्दै ‘गलत रूपमा दोषी ठहराइएको प्रत्येक दिनको लागि लगभग ८५ डलर’को हिसाबले उनलाई १४ लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।

सुनुवाइका क्रममा हरेको पटक प्रहरीले आफू विरुद्ध झूटा प्रमाणहरू बनाएको आरोप लगाए पनि ८९ वर्षीय पूर्व पेशेवर बक्सर इवाओ हाकामाताको कुरा सुनुवाई भएन र उनलाई १९६८ मा चार हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार उनलाई हत्या आरोपमा दोषी ठहर गर्न रगत लत्पतिएको कपडालाई प्रमाण मानिएको थियो । तर, डीएनए परीक्षणले यो कपडा हत्याको घटना भएको धेरै समयपछि मात्र घटनास्थलमा सुनियोजित रूपमा राखिएको देखिएपछि उनलाई निर्दोष ठहराइएको थियो।

शिजुओका जिल्ला अदालतले हाकामातालाई २१ करोड ७० लाख येनभन्दा बढी क्षतिपूर्ति दिन आदेश दिएको छ । उनका कानुनी प्रतिनिधि हिदेयो ओगावाका अनुसार उनलाई दिलाइएको क्षतिपूर्ति जापानमा गलत अभियोगमा सजाय पाएका पीडितलाई दिइएको “सबैभन्दा उच्च रकम” भएको बताए ।

यद्यपि उनले हाकामाताले भोगेको पीडाको क्षतिपूर्ति यसले कहिल्यै गर्न नसक्ने समेत बताए। “मलाई लाग्छ सरकारले २० करोड येनले प्रायश्चित गर्न नसकिने गल्ती गरेको छ,” वकिललाई उद्धृत गर्दै एनएचकेले जनाएको छ।

हाकामाताले १९६१ मा एक पेशेवर बक्सरको रूपमा अवकाश लिएका थिए र मध्य जापानको शिजुओकामा रहेको भटमास प्रशोधन प्लान्टमा जागिर सुरू गरेका थिए । पाँच वर्षपछि उनको हाकिम, उनको हाकिमकी श्रीमती र उनीहरूका दुई छोराछोरीलाई घरमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

घटनापछि प्रहरीले हाकामातालाई हत्या आरोपमा पक्राउ गरेको थियो। हाकामाताले सुरुमा आफूमाथि लगाइएका आरोपहरू स्वीकार गरेका थिए । तर, पछि उनले प्रहरीले आफूलाई कुटपिट गरेर र धम्की दिएर आरोप स्वीकार गर्न बाध्य पारेको आरोप लगाउँदै आफ्नो बयान परिवर्तन गरे ।

१९६८ मा ३ न्यायाधीशहरूले २-१ को फैसलामा उनलाई मृत्युदण्डको सजाय सुनाएका थिए। सजायमा असहमत न्यायाधीशले उनको सजाय रोक्न नसकेकोमा पश्चात्ताप गर्दै ६ महिना पछि पदबाट राजीनामा दिए । त्यसबेलादेखि नै आफू निर्दोष रहेको अडानमा कायम रहेका हाकामाताले आफ्नो आधाभन्दा बढी जीवन फाँसीको पर्खाइमा बिताए ।

नयाँ प्रमाणका आधारमा २०१४ मा उनलाई रिहा गरियो र पुन: अर्को सुनुवाइ सुरु गरियो । नयाँ सुनुवाइले उनलाई गत वर्ष निर्दोष ठहर गर्‍यो। निर्दोष ठहर भएपछि उनलाई गलत आरोपमा सजाय सुनाइएको विरुद्ध अर्कु सुनुवाइ सुरू भयो । र, अन्ततः अदालतले मंगलबार उनलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *