अमेरिकी सेकेण्ड लेडी ग्रिनल्याण्ड भ्रमणमा जाँदै तर ग्रिनल्याणड सरकारले बहिष्कार गर्ने

डिसी नेपाल
१३ चैत २०८१ १४:१२

काठमाडौं । अमेरिकी सेकेण्ड लेडी अर्थात उपराष्ट्रपति जेडी भान्सकी श्रीमती उषा भान्सले मार्च २७ देखि मार्च २९ सम्म ग्रीनल्याण्डको भ्रमण गर्ने कार्यक्रम छ तर उनको भ्रमणअघि नै नयाँ विवाद उत्पन्न भएको छ।

ग्रीनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले उषा भान्सको भ्रमण बहिष्कार गर्ने निर्णय गरेका छन्। उनले यो उच्च प्रोफाइल भ्रमणलाई उत्तेजक कार्यको रूपमा वर्णन गरेका छन्।

एगेडेले भने ‘अमेरिकासँग भएको सम्झौताका कारण उषा भान्सको ग्रीनल्याण्डस्थित अमेरिकी सैन्य अड्डाको भ्रमण रोक्न सम्भव छैन तर अन्तरिम सरकारले अमेरिकी प्रतिनिधिमण्डललाई भेट्ने छैन।’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ऊर्जा सचिव क्रिस राइट उषा भान्ससँगै ग्रीनल्याण्ड पुग्नेछन्। यस भ्रमणको दुई महिना अघि राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि ग्रीनल्याण्डको भ्रमण गरेका थिए; त्यतिबेला त्यो भ्रमणलाई निजी भ्रमणको रूपमा वर्णन गरिएको थियो।

आफ्नो यात्रा अघि उषा भान्सले एक भिडियो सन्देश साझा गरिन् । उनले ग्रीनल्याण्डको आफ्नो भ्रमणको उद्देश्य दुई देशबीचको पारस्परिक सम्मान र सहयोगको लामो इतिहासको उत्सव मनाउनु रहेको बताइन् ।

ह्वाइट हाउसका प्रवक्ता ब्रायन ह्युजेसले भने ‘यो भ्रमणको उद्देश्य ग्रीनल्याण्डको आत्मनिर्णयको सम्मान गर्ने र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने साझेदारी निर्माण गर्नु हो।’

रोयटर्सका अनुसार अमेरिकाले सुरक्षाकर्मी र बुलेटप्रुफ सवारी साधन बोकेर दुई अमेरिकी हर्कुलस सैन्य परिवहन विमान ग्रीनल्याण्ड पठाइसकेको छ। अमेरिकी प्रतिनिधिमण्डलको सुरक्षाका लागि डेनमार्कले पनि ठूलो संख्यामा प्रहरी कर्मचारी ग्रिनल्याण्ड पठाएको छ।

ग्रिनल्याण्ड सरकारको आक्रोशको प्रमुख कारण राष्ट्रपति ट्रम्पले हालै दिएका अभिव्यक्ति हुन्। ट्रम्पले बारम्बार ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरेका छन्। ट्रम्पले भनेका थिए ‘ग्रीनल्याण्डमाथि हाम्रो नियन्त्रण विश्वभर राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको लागि धेरै महत्त्वपूर्ण छ भन्ने अमेरिकालाई लाग्छ ।’

यो भनाइ पछि ग्रिनल्याण्डले आफ्नो देश बिक्रीका लागि नभएको बताएको थियो । ग्रिनल्याण्ड उत्तरी एट्लान्टिक महासागरमा अवस्थित एक टापु हो। यो डेनमार्कको नियन्त्रणमा रहेको एक स्वायत्त क्षेत्र हो। जसको आफ्नै प्रधानमन्त्री छन् ।

ग्रिनल्याण्डमा ५७ हजार मानिसहरू बसोबास गर्छन् । यो डेनमार्कको एक स्वायत्त क्षेत्र हो। ग्रिनल्याण्ड संसारको सबैभन्दा ठूलो टापु हो जसको क्षेत्रफल लगभग २१ लाख वर्ग किलोमिटर छ।

ग्रीनल्याण्डको ८५ प्रतिशत भाग १.९ माइल (३ किलोमिटर) बाक्लो बरफले ढाकिएको छ। यसमा विश्वको १०% ताजा पानी छ।

यो उत्तरी एट्लान्टिक र आर्कटिक महासागरको बीचमा अवस्थित छ। ग्रिनल्याण्डले जलवायु परिवर्तनको संकटको सामना गरिरहेको छ।

ग्रिनल्याण्डमा नियोडायनियम, प्रासियोडायमियम, डिस्प्रोसियम, टर्बियम र युरेनियम जस्ता धेरै दुर्लभ खनिजहरूको भण्डार छ। यी खनिजहरूले विद्युतीय सवारी साधनको उत्पादनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन्।

यसबाहेक, विश्वमा बढ्दो विश्वव्यापी तापक्रमका कारण ग्रीनल्याण्ड र आर्कटिक महादेशको बरफ द्रुत गतिमा पग्लिरहेको छ। यस्तो अवस्थामा यस ठाउँको रणनीतिक र आर्थिक महत्त्व द्रुत गतिमा बढ्दै गएको छ। यहाँ खानीसम्बन्धी काम गर्ने कम्पनीहरूमा चीनको पनि ठूलो हिस्सेदारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *