गणतन्त्रका बिषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको गृहमन्त्रीको दाबी

डिसी नेपाल
१३ चैत २०८१ १४:१४

काठमाडाैं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन्।

बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्र कुनै विकल्प नरहेको भन्दै लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका हुन्।

उनले लोकतन्त्र र गणतन्त्रका बिषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोशीस भइरहेको जनाए। उनले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए। मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे।

उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे। गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै बिपत आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए।

गृहमन्त्री लेखकले भने, “तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनु भएको छैन भन्ने मलाई विश्वास छ। प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिँदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न।”

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उनले भने, “केही हुँदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो। मुलुकमा समस्या छैनन् भनेर म भन्दिन, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो।”

विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउदै उनले एकतन्त्रीय व्यबस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *