‘मारुनी’ गीत: पुष्प र रेबिकाको ‘हाने मैले झटारो’ (भिडियो)

डिसी नेपाल
९ भदौ २०७६ ११:३९

काठमाडौं । नेपाली चलचित्र ‘मारुनी’को तेश्रो गीत सार्वजनिक गरिएको छ । यसअघि ‘जाम्न माया जाम’ र ‘सक्दिनँ बाँच्न’ बोलको गीत बजारमा हिट भइसकेको चलचित्रले ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरेको हो ।

यो गीत लोकलयमा आधारित छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र रेबिका गुरुङलाई देखाइएको छ । यसअघि चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको थियो । यस गीतले पनि चलचित्र हेर्न हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यस गीतमा गायिका अन्जु पन्त र कृष्ण काफ्लेले स्वर दिएका छन् । पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द रहेको गीतमा संगीतसमेत कृष्णकै रहेको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि प्रमुख भूमिकामा छिन् ।

पुनम गौतमले निर्माण गरेको चलचित्रमा सहनिर्माताको रुपमा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्रीको लगानी गरेका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्रको कथा गोविन्द फुँँयाल र निर्देशक नेपालले लेखेका हुन् । चलचित्रको छायांकन संजय लामाले गरेका छन्, भने मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।

चलचित्रमा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । चलचित्र भदौ १३ गतेबाट देशभर रिलिज हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *