राज्य व्यवस्था समितिले तीनकुने घटनाको सरकारसँग जवाफ माग गर्ने

डिसी नेपाल
२० चैत २०८१ १४:३३

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले चैत्र १५ गते भएको तीनकुने घटनाका विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो।

बैठकमा सांसदहरुले चैत्र १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए। साथै उनीहरूले उक्त घटनाको न्यायीक छानबिनको समेत माग गरेका छन्।

कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए। उनले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने बताए।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए। आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गछौं भन्दा कसैले पत्याउन नसक्ने उनले बताए।

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायीक छानबिन हुनुपर्ने बताए। राप्रपाका नेतासमेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईंको फोटो देखेपछि नगएको उहाले बताए। उनले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको धारणा राखे।

सांसद तामाङले आफ्ना नेतालाई समेत भएभरका कानुन लगाएर थुन्ने काम भएको जिकिर गरे। त्यस्तै अन्य सांसदहरुले राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्ने चैत्र १५ गतेको घटनालाई प्राथमिकतामा नराखेको भन्दै सभापतिको चर्को आलोचना गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *